+
+

कैलालीमा बढ्यो लागुऔषध दुर्व्यसन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १८:४६

१५ चैत, धनगढी । कैलालीमा लागुऔषध दुर्व्यसनी बढ्दै गएको देखिएको छ । भारतसँगको खुला सीमानाका, चिकित्सकहरुको सिफारिस बिना मेडिकलहरुले जथाभावी औषधी दनि थालेपछि दुर्व्यसनी बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउन मसान्तदेखि हालसम्म ८ महिनाको अवधिमा लागुऔषध प्रयोग गर्ने र ओसारपसारमा संलग्न रहेका २७९ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ । यो संख्या अघिल्ला दुई आर्थिक वर्षको तुलनामा धेरै भएको प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्द बताउँछन् ।

उनकाअनुसार आर्थिक वर्ष २०७७/७८ मा लागुऔषध सम्बन्धीका ९१ मुद्दामा १३२ जनालाई पक्राउ गरिएको थियो । सबैभन्दा धेरै ब्राउन सुगरमा ६ महिलासहित ८३ जना, नाइट्रोभेटमा २० जना, चरेशमा ११ जना, स्पास्मोमा १० जना, गाँजामा ४ र अन्यमा ४ जनालाई मुद्दा चलाइएको थियो ।

गत आर्थिक वर्ष २०७८/७९ मा लागुुऔषध सम्बन्धीका २०१ मुद्दामा ३१५ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको थियो । जसमा २९७ जना पुरुष र १८ जना महिला थिए । यो वर्ष कैलालीका विभिन्न ठाउँबाट ४४ किलो चरेश, ४६९ ग्राम खैरो हेरोईन, तीन हजार ५५५ ट्याब्लेट नाइट्रोभेट, एक हजार २१५ क्याप्सुल स्पास्मो, ८० क्याप्सुल नाइट्रोजपाम लगायतका लागुऔषध बरामद गरिएको थियो ।

चालु आर्थिक वर्षको ८ महिनामा भने प्रहरीले विभिन्न प्रकारका लागुऔषध  दुर्व्यसनीमा संलग्न रहेको आरोपमा २७९ जनालाई पक्राउ गरेको छ । डीएसपी कुलदिप चन्दकाअनुसार उनीहरुविरुद्ध लागुऔषध सम्बन्धीका १९० वटा मुद्दा दर्ता गरिएको छ । सबैभन्दा धेरै ४३ किलो चरेश, ४८० ग्राम खैरो हेरोइन, ५८७ ट्याब्लेट नाइट्रोभेट, १२०० क्याम्पसुुल नाइट्रोजपाम, १२८ ग्राम गाजा लगायतका लागुऔषध बरामद गरिएको छ ।

अघिल्ला दुई आर्थिक वर्ष र चालु वर्षको तथ्यांकलाई विश्लेषण गर्दा कैलालीमा पछिल्लो समय लागुऔषध दुर्व्यसनी गर्नेको संख्या बढेको देखाएको छ ।

यो तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा औसतमा प्रतिमहिना ११ जना पक्राउ परेकोमा आर्थिक वर्ष २०७८/७९ मा त्यो अनुपात बढेर प्रतिमहिना २६ जना पक्राउ परेका थिए तर चालु आर्थिक वर्षमा भने दुवै वर्षको तुलनामा ९ जना बढि अथात् प्रतिमहिना ३५ जना पक्राउ परेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्दले तथ्यांकले कैलालीमा लागुऔषध सम्बन्धीका मुद्दा बृद्धि हुँदै जानुले कारोबारी र प्रयोगकर्ताको संख्यामा समेत बढोत्तरी हुँदै गएको पुष्टि गर्ने बताउँदै समुदाय र प्रहरीका लागि चुनौतीका रुपमा देखिएको जनाए ।

सोहीअनुसार प्रहरीले जिल्लाभर लागुऔषधविरुद्धको अप्रेशनलाई सक्रियता पूर्वक अघि बढाएको उनको भनाइ छ । ‘मुख्यगरी लागुऔषध दुर्व्यसनीमा १५ वर्षदेखि माथिको उमेर समूहका व्यक्तिहरु फसेको पाइएको छ । भारतसँगको खुल्ला सिमानाका कारण पारी गएर सेवन गर्ने र सुरक्षाकर्मीको आँखा छलेर ल्याउने गरेको देखिन्छ,’ डीएसपी चन्दले भने ।

प्रहरी प्रशासनले संलग्नहरुलाई पक्राउ गरेर मुद्दा चलाउनुु मात्र लागुऔषध दुर्व्यसनी नियन्त्रणको विकल्प नभएको बताउँदै चन्दले यसमा समाजका सबै पक्ष जिम्मेवार बन्न आवश्यक भएको बताए ।

‘दुर्व्यसनी बढ्दै गएको छ । प्रहरीले पक्राउ गरेर मुद्दा पनि चलाइरहेको छ तर पुनः ती व्यक्तिहरु समाजमा गएर दुर्व्यसनीमा फसिरहेको देखिन्छ,’ चन्दले भने, ‘कानूनी कारवाहीले शून्यमा झार्न सकिदैन् । यसका लागि घरपरिवार, समुदाय, विद्यालय, सरोकारवाला पक्ष समेत नभएसम्म चुनौतीपूर्ण नै देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?