+
+

हिमालयन शेर्पा एक दशकपछि जीतपुर सिमरा गोल्डकपको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते ६:२२

१६ चैत, सिमरा । मकवानपुर-११ हेटौंडालाई ३-० ले पराजित गर्दै हिमालयन शेर्पा क्लब १३औं जीतपुर सिमरा गोल्डकपको उपाधि नजिक पुगेको छ ।

बुधबार सिमरा रङ्गशालामा सम्पन्न भएको पहिलो सेमिफाइनलमा मकवानपुरविरुद्ध आक्रामक खेल्दै एक दशकपछि हिमालयन शेर्पा फाइनल प्रवेश गरेको हो ।

०६७ मा सम्पन्न प्रतियोगिताको दोस्रो संस्करणको उपाधि जितेको हिमालयन शेर्पाले २०६९ को चौथो सिमरा गोल्डकपमा उपविजेता बनेको थियो ।

सिमरा रङ्गशालामा निरन्तर सहभागिता जनाउँदै आएको शेर्पाले दशकपछि तेस्रो पटक फाइनल यात्रा तय गरेको हो ।

हिमालयन शेर्पाले खेलको २९औं मिनटमा सुशील राईको गोलबाट अग्रता लिएको थियो । अव्योमीको पासमा सुशीलले पेनाल्टी एरियाबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

हिमालयन शेर्पाको जितमा म्यान अफ दि म्याच निशान लिम्बु नायक बने । खेलको ७४औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको ठाउँमा मैदान प्रवेश गरेका निशानले आकर्षक दुई गोल गरे ।

खेलको ८७औं मिनटमा मिलन राईको पासलाई गोलमा परिणत गर्दै निशान लिम्बुले हिमालयन शेर्पाको अग्रता दोब्बर बनाएका थिए ।

खेलको ७४औं मिनटमा खामिर गिल्सनको ठाउँमा मैदान प्रवेश गरेका मिलन राईले उत्कृष्ट प्रदर्शन गरे ।

खेलको अन्तिम समयमा निशान लिम्बुको व्यक्तिगत दोस्रो गोलबाट हिमालयन शेर्पाले ३-० को जित सुनिश्चित गर्दै फाइनल यात्रा तय गरेको हो ।

इन्ज्युरी समयको चौथो मिनेटमा हिमालयन मिलन राइको पासमा निशानले अर्को गोल थपेका थिए ।

प्रतियोगिताअन्तर्गत बिहीबार साविक विजेता न्युरोड टिम एनआरटी र चर्च ब्वाइज यूनाइटेडबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

शनिबार हुने फाइनल खेलको प्रमुख अतिथिका रुपमा उप-राष्ट्रपति रामसहायप्रसाद यादव उपस्थित हुने तय भएको आयोजक कमिटीका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?