+
+

एम्सका आवासीय नेपाली डाक्टरले पाएनन् वेतन, प्रधानमन्त्रीबाट पहलको आश

भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वेतनका लागि पहल गरिदिने आश एम्समा अध्ययनरत नेपाली चिकित्सकहरुको छ ।

हरि अधिकारी हरि अधिकारी
२०७९ चैत १६ गते ८:२८
वेतनका लागि पहल गरिदिन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाउँदै डा. सागर पौडेलसहितको टोली ।

१६ चैत, विराटनगर । भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) स्नातकोत्तर अध्ययनरत आवासीय नेपाली डाक्टरले न्यूनतम वेतन नपाएको बताएका छन् ।

एम्सअन्तर्गतको दिल्ली र ऋषिकेशमा एमडी, एमएस, एमडीएस, डीएम, एमसीएच अध्ययनरत आवासीय नेपाली डाक्टरहरुले मासिक वेतन नपाएपछि कूटनीतिक पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

मेडिकल शिक्षाको स्नातकोत्तर अध्ययन गर्दा सरकारी कलेजले न्यूनतम वेतन दिनुपर्ने हुन्छ । नेपालमा अध्ययनरत नेपाली र विदेशी चिकित्सकले अधिकृतस्तरको न्यूनतम वेतन पाइरहेका छन् ।

भारतका चारमध्ये दुई वटा कलेजमा अध्ययनरत नेपाली चिकित्सकले भने न्यूनतम वेतन नपाएका हुन् । पोष्ट ग्राजुएट इन्सटिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च सेन्टर चन्डीगढ र जवाहरलाल इन्सटिचुट अफ पोष्टग्राजुएट मेडिकल एजुकेशन एण्ड रिसर्च पुडुचुरीमा अध्ययनरत डाक्टरहरुले भने वेतन पाइरहेका छन् ।

एम्समा अध्ययनरत करिब एक सय नेपाली चिकित्सकले न्यूनतम वेतन नपाएको डाक्टर सागर पौडेलले बताए । ‘मैले अध्ययन गर्दा पनि पाइनँ,’ एम्समा अध्ययन गरेका डाक्टर पौडेलले भने, ‘कूटनीतिक पहल भयो भने अहिले अध्ययनरत नेपाली डाक्टरहरुले वेतन पाउँछन् ।’

प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको ध्यानाकर्षण पत्र ।

भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वेतनका लागि पहल गरिदिने आश एम्समा अध्ययनरत नेपाली चिकित्सकहरुको छ । केही दिनअघि डाक्टर पौडेलको नेतृत्वको चिकित्सकको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर वेतनका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेको थियो ।

‘एम्समा अध्ययनरत नेपाली डाक्टरको वेतनका लागि कूटनीतिक पहल गरिदिन प्रधानमन्त्रीसमक्ष अनुरोध गरेका छौं,’ डाक्टर पौडेलले भने, ‘प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ, कूटनीतिक पहल भयो भने  नेपाली डाक्टरले वेतन पाउँछन् ।’

उनका अनुसार चण्डीगढ र पुडुचुरीमा अध्ययनरत नेपाली डाक्टरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गरेपछि वेतन पाउन थालेका थिए । ‘चण्डीगढ र पुडुचुरीका दुई कलेजमा पनि पहिले पाएका थिएनन्, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो कार्यकालको पहिलो भ्रमणमा कूटनीतिक पहल भएपछि पाउन थाले,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा पनि कूटनीतिक पहल भए एम्सका डाक्टरले वेतन पाउने उनको भनाइ छ ।

कम्युनिटी मेडिसिनमा एम्सबाट एमडी गरेका उनले तीन वर्षको कोर्षमा आफूले सुविधा नपाएको बताए । ‘यो विषय सम्बोधनका लागि मैले एम्समा पढ्दादेखि नै पहल गरिरहेको छु,’ उनले भने, ‘प्रधानमन्त्रीको भ्रमणमा सम्बोधन भयो भने नेपाली डाक्टरलाई सहज हुन्छ ।’ उनका अनुसार एम्सका दुई वटा केन्द्रमा एक सय बढी नेपाली डाक्टर सुविधाविहीन छन् ।

नेपालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र आईओएम काठमाडौंमा अध्ययन गर्ने विदेशी चिकित्सकले अधिकृत सरह वेतन सुविधा पाइरहेका छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?