+
+
शुभेच्छा खड्कासँग संवाद :

‘जीवनमा सन्तुलन नमिल्दा सम्बन्धहरु भत्किन पुग्छन्’

सरल र मृदुभाषी शुभेच्छाले पछिल्लो समय सम्बन्धमा विश्वास जरुरी छ भन्ने कुरा बुझिन् । उनलाई यो शाश्वत सत्य बुझाउने काम गर्‍यो उनी अभिनित एक पात्र ‘प्रेमा’ले । सोही टाइटलमा बनेको फिल्म ‘प्रेमा’ शुक्रबारदेखि रिलिज हुँदैछ, जसमा उनी ‘प्रोटागोनिस्ट’ हुन् ।

विष्णु शर्मा विष्णु शर्मा
२०७९ चैत १६ गते २०:५८

काठमाडौं । अभिनेत्री शुभेच्छा खड्का आफूलाई तीन शब्दले परिभाषित गर्न चाहन्छिन्, सकारात्मक, मेहनती र असल मान्छे । बिहीबार अनलाइनखबरको स्टुडियोमा गफिंदा उनी फिल्म, सम्बन्ध र जीवनबारे खुलिन् । सन् २०१२ मा मिस नेपाल इन्टरनेसनल हुँदादेखि नै उनले जीवनको ट्रयाकमा बुर्कुसी मार्न थालेकी थिइन् । जुन आजपर्यन्त कायमै छ ।

ब्युटी पेजेन्ट हुँदै फिल्म अभिनयको बिन्दुसम्म आइपुगेकी शुभेच्छालाई लाग्छ, ब्रह्माण्ड र जीवनका हरथोक सन्तुलनमा चलिरहेका छन् । ग्रह र नक्षत्र मात्र होइनन्, मान्छेको सम्बन्ध सन्तुलनमा चल्नु जरुरी रहेको उनको बुझाइ छ । गत महिना प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गरेकी शुभेच्छा परिवार, साथीभाइ र कामबीच ‘ब्यालेन्स’ मिलाउनुपर्ने तर्क गर्छिन् । अनि बिहे कहिले ? एक-दुई वर्षभित्र हुन्छ होला । धेरै ग्याप चाहिं हुँदैन,’ उनी भन्छिन् ।

सरल र मृदुभाषी शुभेच्छाले पछिल्लो समय सम्बन्धमा विश्वास जरुरी छ भन्ने कुरा बुझिन् । उनलाई यो शाश्वत सत्य बुझाउने काम गर्‍यो उनी अभिनित एक पात्र ‘प्रेमा’ले । सोही टाइटलमा बनेको फिल्म ‘प्रेमा’ शुक्रबारदेखि रिलिज हुँदैछ, जसमा उनी ‘प्रोटागोनिस्ट’ हुन् । ‘रणवीर’बाट दर्शकमाझ देखाउन नपाएको अभिनयलाई उनी ‘प्रेमा’मार्फत फैलाउन चाहन्छिन् ।

लभस्टोरी भन्ने बित्तिकै नाचगान र रोमान्सको कथावस्तु भन्ने आमधारणा विपरीत पे्रमा चाहिं सरल र सादा किसिमको रहेको उनको भनाइ छ । ‘टाइटल पात्र पाउनुलाई भाग्यमानी पनि ठानें, मेरो लागि धेरै विशेष छ,’ शुभेच्छा भन्छिन्, ‘तपाईं मायामा पर्नुभएको छ भने कथावस्तुमा जोडिन सक्छ । मनको आन्तरिक शान्ति पाउनुहुन्छ ।’

हरेक अभिनेता-अभिनेत्रीको लागि उसले बाँच्ने पात्रको जीवन अर्थपूर्ण हुन सक्छ । जस्तो, शुभेच्छालाई लाग्छ प्रेमाको चरित्रले उनको वास्तविक जीवनमा पनि केही परिवर्तन ल्यायो, विशेषगरी मायालाई बुझ्ने कुरामा ।

आफूले निर्वाह गरेको उक्त चरित्र र आफ्नो वास्तविक जीवनबीच कति समानता छ भन्ने उनलाई लाग्छ । ‘लजाउने बानी हरेक महिलामा हुन्छ । भोगाइले बोल्ड हुनुपर्ने भन्ने हुन्छ । यो कुरा कनेक्ट हुन्छ । प्रेमाजस्तै म कनेक्ट छु । कामले गर्दा पहिरनमा परिवर्तन आएको होला तर प्रेमा सबै महिलाभित्र हुन्छ,’ उनले एसोसिएसन फ्याक्टरबारे कुरा गरिन् ।

शुभेच्छालाई लाग्छ प्रत्येक फिल्मको रिलिज कलाकारको लागि परीक्षा हो । उक्त परीक्षामा उत्तीर्ण वा अनुत्तीर्ण हुने कुरा प्रत्येक शुक्रबार थाहा हुन्छ । अहिले उनलाई पनि यही महसुस भइरहेको छ । तर उनलाई लाग्छ, बक्स अफिस मात्रैले परीक्षामा पास भइँदैन । यसका लागि समीक्षा राम्रो हुनुपर्‍यो । ‘सुरुमा त मलाई रिभ्यु नै महत्वपूर्ण लाग्छ । अनि निर्माताले पैसा पनि कमाउनुपर्‍यो । त्यसपछि मात्र बक्स अफिसको कुरा आउँछ । अनि कलेक्सन बढ्दै जान्छ । यसकारण मलाई फिल्म रिलिज परीक्षाजस्तो लाग्छ,’ उनी भन्छिन् ।

अनि स्टार कि कलाकार ? शुभेच्छा यो कुरामा केही डिप्लोम्याटिक सुनिइन् । ‘स्टार त जसलाई पनि बन्ने इच्छा हुन्छ । मेरो पनि छ । मलाई आफ्नो कामले चिनिन मन छ । मैले गर्न सक्ने भनेको मेहनत र प्रयास हो । स्टार बनाउने दर्शकले हो, काम गरिरहँदा आफैं हुने हो,’ उनी परिपक्व सुनिइन् ।

शुभेच्छालाई जासूस र एक्सन फिल्म गर्न रुचि छ । यसबारे उनले हालै रिलिज भएको शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्म ‘पठान’को उदाहरण दिइन् । ‘मैले रणवीरमा गर्ल नेक्स्ट डोर टाइपको अभिनय त गरें, तर अब स्पाइ र एक्सन फिल्म गर्न रुचि छ,’ भन्छिन्, ‘अर्को फिल्म गरिहालें भने भिन्न किसिमको गर्नु मन छ । खासगरी महिला केन्द्रित एक्सन फिल्म गर्ने रुचि छ ।’ हुन सक्छ यही कारण उनी फिल्मी करिअरलाई अघि बढाउन चाहन्छिन् । ‘पक्कै पनि यो काम मनपराइदिनुभयो भने राम्रो काम पाउँछु होला,’ उनले भनिन् ।

पछिल्लो समय नेपालसहित विश्वका धेरै फिल्म उद्योगमा सम्बन्धका कथावस्तुमाथि फिल्म बनिरहेका छन् । पछिल्लो समय नेपालमा आम ट्रेन्ड नै देखिएको छ कि सम्बन्ध नै कथाको केन्द्रमा समावेश छ । ‘प्रेमा’ले दिन खोजेको सन्देश पनि त्यही हो- सम्बन्धमा माया र विश्वास हुनुपर्‍यो । जीवनमा सन्तुलन नमिल्दा सेलिब्रिटीदेखि आममान्छेको सम्बन्ध भत्किएको उनको बुझाइ छ । उनी पुनः सम्बन्धकै विषयमा फर्किइन्, ‘जीवन भनेकै सन्तुलन मिलाउने कला हो । परिवार, काम र सम्बन्धमा ब्यालेन्स मिलाउनुपर्छ । हाम्रो क्षेत्रमा कत्तिको राम्रो छ भन्न सक्दिन तर मिलेर जान सक्नुपर्छ ।’

अब कसरी अघि बढ्नुहुन्छ ? उनले कुराकानी टुंग्याउँदै भनिन्, ‘यो कुरा दर्शक र भगवानमा भर पर्छ ।’

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?