+
+

आरोहणको ७२ वर्षपछि अन्नपूर्ण हिमाल सफाइ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते ९:४९

१७ चैत, पोखरा । नेपालमै पहिलो पटक आरोहण आरम्भ भएको हिमाल हो, अन्नपूर्ण प्रथम । सन् १९५० मा फ्रान्सेली आरोही मौरिस हर्जोगले नेपालमै पहिलो पटक अन्नपूर्ण प्रथम आरोहण गरेक थिए । सन् १९५३ मा मात्रै सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

नेपालमा आरोहण इतिहास रचेको अन्नपूर्ण हिमालमा ७२ वर्षपछि सफाइ हुने भएको छ । सर्वोच्च शिखर सगरमाथामा आरोहणको चापले ज्यादा फोहोर हुने भएकाले सफाइ हुँदै आइरहेको भए पनि अन्नपूर्ण हिमालमा पहिलो पटक सरसफाइ हुन लागेको हो ।

अन्नपूर्ण हिमाल सरसफाइ गर्ने नेपाली सेनाको टोलीलाई १५ लाख रुपैयाँ सहयोग गरेको पोखरा महानगरपालिकाले बिहीबार बिदाइ गरेको छ । विश्वको १० औं अग्लो अन्नपूर्ण चुचुरोकै कारण पोखराकोे अस्तित्व पनि माथि उठेको भन्दै मेयर धनराज आचार्यले बिदाइ गर्दै महानगरकोे झण्डा पनि हस्तान्तरण गरेका छन् । अन्नपूर्ण चुचुरोमा सेनाले पोखरा महानगरको झण्डा पनि फहराउने छ ।

नेपाली सेनाले सगरमाथासहित ४ हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गरेकोमा अन्नपूर्ण पनि परेको हो । सेनाले सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने ३५ हजार किलो फोेहोर संकलन गर्ने लक्ष्य लिएको छ । अन्नपूर्णबाट मात्रै १० हजार किलो फोहोर संकलन गर्ने योजना रहेको पश्चिम पृतना हेडक्वाटर विजयपुरका प्रमुख सेनाली किशोर अधिकारीले जानकारी दिए ।

अन्नपूर्ण आरोहण गरेका व्यक्ति र गाइडहरुले पनि फोहोर भएको बताएपछि सफाइ गर्न छनोट गरिएको उनले बताए । गण्डकी प्रदेशमा ३ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल छन् । धौलागिरी र मनास्लु हिमालको यस अगाडि नै सफाइ भइसकेको अधिकारीले जानकारी दिए ।

हिमालमा हुने फोहोरले वातावरणको सन्तुलन पनि गुमाएको र गलत सन्देश पनि गएकाले सेनाले सफाइ अभियान चलाएको पश्चिम पृतना हेडक्वाटरका पृतनापति दीपकककुमार बानियाँले बताए ।
सेनाले अघिल्लो वर्ष सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजंघा हिमालबाट कुहिने ७ हजार १५७ किलो फोहोर संकलन गरेको थियो । ३३ हजार ८७७ केजी नकुहिने फोहोर संकलन गर्दा ३ मानव कंकाल फेला परेका थिए ।

सन् २०१९ देखि सगरमाथाबाट थालिएको हिमाल सरसफाइ अभियान २०२० मा सगरमाथासँगै ल्होत्से, पुमरी, मकालु, धौलागिरि र अमादब्लम हिमाल सेनाले सफाइ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?