
१७ चैत, सुर्खेत। कर्णाली प्रदेश सभामा ३ वैशाख, २०७८ मा ‘फ्लोर क्रस’ गरेका प्रकाश ज्वालाले तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाइदिए ।
एमाले पोलिटब्यूरो सदस्य समेत रहेका उनले पार्टीको ह्विप उल्लंघन गर्दै गरिएको ‘फ्लोर क्रस’लाई सत्य र निष्ठाका लागि गरिएको विद्रोह भन्ने गरेको थिए ।
उनका समकक्षी नेताहरु भने ‘फ्लोर क्रस’लाई संसदीय अपराधको संज्ञा दिदै भन्थे, ‘अब, प्रकाश ज्वालाको राजनीतिक करिअर सखाप हुने भयो।’
एमालेले पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको भन्दै ज्वालालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्यो । त्यही बीचमा नेकपा एमाले विभाजन भयो र माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी बन्यो।
एमालेबाट निष्कासित ज्वालालाई कर्णालीमा विद्रोह गरेको भन्दै एकीकृत समाजवादीले केन्द्रीय उपमहासचिवको जिम्मेवारी दियो ।
०७९ को प्रतिनिधिसभा चुनावमा सल्यानबाट निर्वाचित ज्वाला एकाएक राष्ट्रिय राजनीतिमा चुलिन थाले।
तीनै प्रकाश ज्वाला शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गरेको मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । ‘फ्लोर क्रस’ पछि राजनीतिक करिअर सकिएको आकंलन गरिएका ज्वाला थप चम्किलो बनेर उदाएका छन्।
को हुन्, प्रकाश ज्वाला ?
सल्यानको वनगाड कुपिण्डे नगरपालिका-१ स्थित १२ मंसिर ०२३ मा जन्मिएका प्रकाश ज्वालाको राजनीतिक यात्रा संघर्षशील छ । ०४२ सालदेखि अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्मको जिम्मेवारी लिएका उनी विद्यार्थी राजनीतिबाट उदायका नेता हुन् ।
उनले पञ्चायत विरोधी आन्दोलनमा लागेकै कारण तीन वर्ष जेल जीवन बिताए । ०५१ को आम निर्वाचनमा नेकपा एमाले सल्यान १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी सो निर्वाचनमा पराजित भए । तर ०५६ को आमनिर्वाचनमा भने ज्वाला सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।
त्यतिबेला प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा प्राकृतिक स्रोत साधन समितिको सभापति भएका ज्वाला तत्कालीन राजा र दरबारको जग्गा लगायत सम्पत्ति छानबिनमा लागेर लोकप्रियता कमाएका थिए ।
०६२/०६३ को आन्दोलनमा सक्रिय भूमिका खेलेका ज्वालाले ०७० सालको दोस्रो संविद्यान सभा निर्वाचनमा सल्यानबाट निर्वाचित भए । ०७१ सालमा अर्थ समितिको सभापति समेत रहेको उनी केही विवादमा समेत तानिए ।
दोस्रो संविधानसभामा संविधान निर्माण प्रक्रिया जटिल बनेका बेलामा ज्वाला लगायतका केही नेताले ‘संविधान निर्माण दबाब’ अभियान नै चलाएका थिए । व्यक्तिगत स्वार्थलाई महत्व नदिने र स्वार्थ नहुँदा विद्रोह गर्न गाह्रो नहुने ज्वाला बताउँदै आएका छन् ।
०७४ को निर्वाचनमा प्रदेश सभामा झरेका उनि सल्यान १ (ख) बाट प्रदेशसभा चुनाव जितेर कर्णाली प्रदेश सरकारको अर्थमन्त्रीको भूमिका निर्वाह गरेका थिए । मुख्यमन्त्री बन्ने महत्वाकांक्षाका साथ प्रदेश सभामा चुनाव लडेका ज्वालाले फ्लोर क्रस गरेर राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाएका थिए ।
तत्कालीन माले र एमाले जिल्ला नेतृत्व गर्दै एमाले राप्ती अञ्चल इञ्चार्ज, पोलिटव्यूरो सदस्य, कर्णाली प्रदेश सहइञ्चार्ज, केन्द्रीय संगठन विभागका सदस्य भएर पनि उनले काम गरिसकेका छन् ।
लेखकका रूपमा पनि परिचय बनाएका उनका ‘प्रतिनिधिसभामा प्रकाश ज्वाला’, ‘एक्काइसौँ शताब्दी समाजवादको शताब्दी’ र ‘वैचारिक विचलनको भूमरीमा माओवादी आन्दोलन’ लगायतका कृति प्रकाशित छन् ।
राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका उनले तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको प्रमुख राजनीतिक सल्लाहकार (२०६७–२०६८) भएरसमेत काम गरेका थिए ।
कर्णालीको पहिलो अर्थमन्त्री बनेका ज्वालाले तत्कालीन नेकपाभित्रको अन्तरसंघर्षका क्रममा कर्णाली प्रदेशसभामा माधव कुमार नेपाल खेमाको लिड गर्दै ओली पक्षधर यामलाल कँडेलहरूको विरुद्धमा विद्रोह गरेका थिए । उनीसहित चार जना तत्कालीन एमाले सांसदले ‘फ्लोर क्रस’ गरेर माओवादी नेता महेन्द्रबहादुर शाहीको सत्ता जोगाएका थिए ।
ज्वालाहरुकै विद्रोहको परिणाम कर्णालीमा तत्कालीन अवस्थामा अहिले बनिरहेको गठबन्धनको आधार तयार भएको थियो । एकीकृत समाजवादीको प्रदेश इन्चार्ज समेत रहेका ज्वाला माधव नेपालका विश्वास पात्र हुन् ।
प्रकाशबहादुर बुढाथोकीबाट ‘प्रकाश ज्वाला’को परिचय बनाएका उनी माधव नेपाललाई कठिन परिस्थितिमा साथ दिँदै आएका छन् ।
प्रतिक्रिया 4