+
+

शक्ति अर्थात् सत्ता

जाजरकोटबाट तीनपल्ट चुनाव जितेका शक्ति बस्नेत योसहित चौथोपल्ट मन्त्री बनेका छन् । शक्ति अर्थात् सत्ताका पर्याय बन्न पुगेका छन् उनी ।

यज्ञ खत्री यज्ञ खत्री
२०७९ चैत १७ गते २१:११

१७ चैत, सुर्खेत । माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत चौथो पटक मन्त्री बनेका छन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दै बस्नेतलाई उर्जा, जलस्रोत तथा सिँञ्चाइ मन्त्रीमा नियुक्त गरेका हुन् ।

जाजरकोटबाट तीन पटक चुनाव जितेका बस्नेत चौथो पटक मन्त्री बनेका छन् । कर्णालीको दुर्गम पहाडी जिल्ला जाजरकोटबाट सबैभन्दा धेरै चुनाव जित्ने र मन्त्री बन्ने नेतामा पनि बस्नेत नै पर्दछन् ।

पूर्व गृहमन्त्री समेत भइसकेका बस्नेत पटक पटक मन्त्री बन्नुमा कुनै खास योजना र प्रसिद्धि कमाएको विगत छैन । माओवादी अध्यक्ष प्रचण्डको विश्वासपात्र भएकै कारण पटक पटक सत्तामा शक्ति पुग्ने गरेको माओवादी नेताहरु बताउँछन् ।

माओवादी केन्द्र शान्ति प्रक्रियामा आएसँगै ०६४ को पहिलो संविधानसभा चुनावमा समानुपातिक सांसद भएका बस्नेत २०६८ सालमा स्वास्थ्य मन्त्री भएका थिए । ०७० को दोस्रो संविधानसभा चुनावमा प्रत्यक्ष निर्वाचित भएका उनी ०७२ सालमा गृह मन्त्री बने ।

२०७४ मा जाजारकोटबाट प्रतिनिधि सभामा निर्वाचित बस्नेत ०७४ मै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री भएका थिए । २०७९ को निर्वाचनमा पनि जाजरकोटबाटै प्रत्यक्ष निर्वाचित भएका उनले यो पटक उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सुरुमा गृहमन्त्री हुने आकांक्षा राखेका बस्नेत पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुने भएपछि उनी उर्जा मन्त्री भएका हुन् ।

राजनीतिक पृष्ठभूमि

२०२८ सालको नयाँ वर्षका दिन भेरी नगरपालिका– १ कालेगाउँमा जन्मिएका शक्तिबहादुर बस्नेत कुनै बेला सशस्त्र संघर्षको माध्यमबाट नेपाललाई जनवादी गणतन्त्र बनाउने युद्धमा सामेल थिए । नेकपा एकता केन्द्र (मशाल)बाट राजनीतिमा आएका उनी २०४६ सालको जनआन्दोलनमा मशालबाटै सहभागी थिए ।

२०४८ सालमा एकता केन्द्र (मशाल)को राप्ती क्षेत्रीय समन्वय समिति सदस्य र २०४९ मा जाजरकोट जिल्ला सेक्रेटरी भएका उनी २०५१ देखि नेकपा (माओवादी) को पश्चिम क्षेत्रीय ब्यूरो सदस्यको रूपमा ग्रामीण वर्ग–संघर्षको नेतृत्व गरे ।

२०५५ मा माओवादीको वैकल्पिक केन्द्रीय सदस्य बनेका उनले त्यसको दुई वर्षपछि केन्द्रीय सदस्य र त्यसलगत्तै भेरी–कर्णाली क्षेत्रीय ब्यूरो इञ्चार्जको जिम्मेवारी पाए । २०५९ सालमा पोलिटब्यूरो सदस्य भएपछि बस्नेत भेरी–कर्णाली र थारूवान क्षेत्रीय ब्यूरो इञ्चार्जको भूमिकामा आए । पार्टीको जनमुक्ति सेनाको डिभिजन कमिसार भएर उनले गण्डकी ब्यूरोको पनि नेतृत्व गरे ।

२०७१ सालमा स्थायी कमिटी सदस्य बनेका उनी हाल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव छन् । बस्नेतले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?