+
+

प्रचण्ड क्याबिनेटमा ज्येष्ठ सदस्यको वर्चस्व

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ चैत १७ गते २२:०२

१७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरेपछि पहिलो पटक शुक्रबार मन्त्रिपरिषद विस्तार गरे । उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीलाई समावेश गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

१० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले ११ पुसमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टीका सांसदहरुलाई समावेश गरेका मन्त्रिपरिषद् बनाएका थिए । राष्ट्रपति निर्वाचनपछि प्रचण्डका सत्ता सहयात्रीहरु फेरिएका हुन् ।

सातौं पटक पुनर्गठित मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्रीसहित १५ मन्त्री र एक राज्यमन्त्री छन् । र, मन्त्रिपरिषद्का सदस्यहरमा ज्येष्ठ सदस्यको वर्चस्व देखिएको छ ।

कतिसम्म भने २०४३ सालमै सहायकमन्त्री भएका शरदसिंह भण्डारी पनि मन्त्री भएका छन् । सहायकमन्त्री, राज्यमन्त्री र मन्त्री समेतलाई जोड्दा भण्डारी शुक्रबार १९औं पटक मन्त्री भएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को सिफारिसमा ६८ वर्षीय भण्डारीलाई प्रधानमन्त्री प्रचण्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मन्त्रिपरिषदका अरु सदस्य पनि पुराना मन्त्रीहरु छन् । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का (६६) बहुदलकालमा पटकपटक मन्त्री भएका थिए ।

वाणिज्य, युवा तथा खेलकुद, संस्कृति, जनसंख्या, वातावरण, सूचना तथा सञ्चार, उद्योग तथा गृहमन्त्री भइसकेका खड्का २०६२÷६३ को परिर्वतनपछि भने सरकारमा गएका थिएनन् । यो पटक प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसको नेतृत्व गरेका उनी उपप्रधानमन्त्रीमा बढुवा समेत भएका छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (६२) पटकपटक मन्त्री भइसकेका छन् । २०६८ साउन १६ मा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको गठबन्धन सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका श्रेष्ठ फेरि गृह मन्त्रालयमा भने १० वर्षपछि फर्किएका हुन् । यसबीचमा उनले परराष्ट्रमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएर पनि काम गरेका थिए ।

संविधानले राज्यका हरेक अंगमा ३३ प्रतिशत महिला उपस्थिति अनिवार्य भनेको छ । राज्यका प्रमुख पदहरुमा त अहिलेको उपस्थितिलाई सुनिश्चित गर्ने प्रबन्ध नै गरेको छ । तर मन्त्रिपरिषदमा महिलाको उपस्थिति कमजोर देखिएको छ ।

८० वर्ष कटिसकेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव छैटौं पटक मन्त्री भएका छन् । माओवादीको चुनाव चिह्नबाट चुनाव जितेका यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महत (६३) पनि पटक–पटक मन्त्री भइसकेका नेता हुन् । २०६६ देखि २०६७ चैतसम्म ऊर्जामन्त्री रहेका महत माओवादी र कांग्रेसको संयुक्त सरकारमा परराष्ट्रमन्त्री थिए ।

पहिलो पटक मन्त्री भएका कांग्रेसका रमेश रिजाल र एकीकृत समाजवादीका वेदुराम भुसाल पनि ज्येष्ठ सदस्य हुन् । राष्ट्रियसभा सदस्य भुसाल (६५)लाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । कांग्रेस केन्द्रीय सदस्य रिजाल (६५) लाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

६० वर्ष नाघेका (ज्येष्ठ नागरिकसम्बन्धी ऐन अनुसारका ज्येष्ठ नागरिक) नौ जना मन्त्री भएका छन् ।

४० देखि ६० वर्ष उमेर समूहका ७ जना छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ (४०), संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती (४३), शहरी विकासमन्त्री सीता गुरुङ (४७), सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा (५३), ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बस्नेत (५३) र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला (५५) यो उमेर समूहका हुन् । यस्तै नागरिक उड्ययन राज्यमन्त्री सुशीला श्रीर्पाली ठकुरी ४८ वर्षकी भइन् । रञ्जिता, सुदन, सीता र प्रकाश पहिलो पटक मन्त्री बनेका हुन् भने रेखा दोस्रो, शक्ति तेस्रो पटक मन्त्री बनेका हुन् ।

जबकि एमाले–रास्वपा र राप्रपा लगायतलाई समेटेर बनाएको प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा भने तुलनात्मक रुपमा युवा र नयाँ अनुहारको उपस्थिति बलियो थियो । उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवि लामिछाने थिए भने विमला राई पौड्याल, शिशिर खनाल, पदम गिरी, राजेन्द्र राई, तोसिमा कार्की, हरिप्रसाद उप्रेती, अब्दुल खानहरु पनि मन्त्रिपरिषद्मा अटाएका थिए ।

महिलाको उपस्थिति न्यून

संविधानले राज्यका हरेक अंगमा ३३ प्रतिशत महिला उपस्थिति अनिवार्य भनेको छ । राज्यका प्रमुख पदहरुमा त अहिलेको उपस्थितिलाई सुनिश्चित गर्ने प्रबन्ध नै गरेको छ । तर मन्त्रिपरिषदमा महिलाको उपस्थिति कमजोर देखिएको छ ।
१७ सदस्यीय मन्त्रिपरिषदमा राज्यमन्त्री समेत गरेर महिला चार जना छन् । अर्थात् यो २३.५२ प्रतिशत मात्र हो ।

प्रचण्ड क्याबिनेटमा आदिवासी जनजाति र मधेशी समुदायको उपस्थिति खासआर्यको हाराहारीमा छ । प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री खड्का, अर्थमन्त्री महत, उद्योगमन्त्री रिजाल, उर्जामन्त्री बस्नेत, सञ्चार शर्मा, कृषिमन्त्री भुसाल र भौत्तिक पूर्वाधारमन्त्री ज्वाला खसआर्य समूहका हुन् ।

आदिवासी जनजाति समुदायका उपप्रधानमन्त्री श्रेष्ठ, शहरी विकास मन्त्री गुरुङ, शिक्षामन्त्री राई र संस्कृतिमन्त्री किराती छन् भने मधेशी समुदायबाट संघीय मामिलामन्त्री मोदी, श्रममन्त्री भण्डारी, भूमि मन्त्री श्रेष्ठ चौधरी र महिलामन्त्री यादव छन् ।

सातै प्रदेशको प्रतिनिधित्व, कोशीको बर्चस्व

भूगोलमा हिसाबले मन्त्रिपरिषदमा सातै प्रदेशले प्रतिनिधित्व छ । वर्चस्व भने कोशीको छ । सुदूरपश्चिमका एक, लुम्बिनी, बागमती र गण्डकीबाट दुई/दुई जना, कर्णाली र मधेश प्रदेशबाट तीन/तीन जना, कोशी प्रदेशबाट चार जना मन्त्री छन् ।

भूमि व्यवस्थामन्त्री श्रेष्ठ गत चुनावमा कैलाली १ बाट निर्वाचित भएकी हुन् । सञ्चार शर्मा दाङ २ बाट निर्वाचित भएकी थिइन् । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री खड्का, ऊर्जा मन्त्री बस्नेत र भौतिक पूर्वाधारमन्त्री ज्वाला कर्णाली प्रदेशका हुन् ।

खड्का सुर्खेत १, ज्वाला सल्यान १ र बस्नेत जाजरकोट १ बाट निर्वाचित भएका थिए । गण्डकी प्रदेशबाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ छन् । प्रचण्ड गोरखा २ बाट निर्वाचित भएका थिए । गृहमन्त्री श्रेष्ठ गोरखाबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुन् ।

अर्थमन्त्री महत र कृषिमन्त्री भुसाल बागमती प्रदेशका हुन् । नुवाकोटका महत समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । चितवनका वेदुराम भुसाल राष्ट्रिय सभा सदस्य हुन् ।

श्रममन्त्री भण्डारी महोत्तरी २, महिलामन्त्री यादव सर्लाही २ र उद्योगमन्त्री रिजाल पर्सा ४ बाट निर्वाचित भएका थिए ।

शहरी विकास मन्त्री गुरुङ, संस्कृतिमन्त्री किराती, संघीय मामिलामन्त्री मोदी र शिक्षामन्त्री राई कोशी प्रदेशका हुन् । गुरुङ तेह्रथुम १, किराती भोजपुर १, मोदी मोरङ ४ र राई सुनसरी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?