+
+

गाइड र टिम्स कार्ड नहुने पदयात्री पर्यटकलाई चर्को जरिवाना

अच्युत पुरी अच्युत पुरी
२०७९ चैत १९ गते २०:१४

१९ चैत, काठमाडौं । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड र ट्रेकिङ गाइड नलिई पदयात्रामा गएको पाइएमा विदेशी पर्यटकले अब चर्को जरिवाना तिर्नुपर्ने भएको छ । विदेशी पर्यटकका लागि यसअघि लिइँदै आएको टिम्स कार्डको मूल्य दोब्बर बनाउँदै नेपाल पर्यटन बोर्डले यसको कार्यान्वयनका लागि चर्को शुल्क तोकेको हो । यसका लागि पदयात्री सूचना व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड २०७९ कार्यान्वयनमा आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मापदण्ड कार्यान्वयनको सुरुवात गरेका हुन् । यो मापदण्ड कार्यान्वयनमा आएसँगै अब टिम्स कार्ड नबोकी र गाइड नलिई पदयात्रामा निस्किएको भेटिए पर्यटकलाई १२ हजार रुपैयाँ जरिवाना गरिने भएको छ । ट्रेकिङ कम्पनीमार्फत टिम्स कार्ड नलिई पदयात्रामा पठाएको पाइए कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना तिराएर सोही कम्पनीमार्फत टिम्स कार्ड किन्न लगाइने भएको छ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटकको सुरक्षा सुनिश्चित गर्न यस्तो प्रावधान ल्याइएको हो । यसले पर्यटकको सेवा, सुविधा र सुरक्षा प्रत्याभूति गर्दै पदयात्रामा हुन सक्ने जोखिम न्यूनीकरण गर्न सहयोग गर्ने उनको भनाइ छ ।

कति पुग्यो टिम्सको मूल्य ?

यसअघि सोलो ट्रेकिङमा जाने तेस्रो मुलुकका पर्यटकलाई २ हजार र कम्पनीमार्पत सामूहिक रुपमा पदयात्रामा जाने पर्यटकलाई १ हजार रुपैयाँका दरले टिम्स कार्डको मूल्य लिने गरिएको थियो । अब भने सबै पर्यटकलाई २ हजार रुपैयाँका दरले टिम्स कार्ड जारी हुने भएको छ ।

सार्क राष्ट्रका पत्रयात्रीले भने प्रतिपदयात्री १ हजार रुपैयाँ तिरे पुग्छ । यससँगै अब टिम्स लागु हुने क्षेत्रमा पदयात्रामा जान चाहने पदयात्रीले कम्पनीमार्फत अनिवार्य पदयात्रा अवधिभर गाइड लिनु पर्ने नियम समेत कार्यान्वयनमा आएको छ ।

पदयात्राको उद्देश्यले टिम्स कार्ड लागु हुने क्षेत्रमा पदयात्रामा जाने कूटनीतिक नियोग एवम् कूटनीतिक क्षेत्रका पदाधिकारी, विकास साझेदार संस्था, दातृ निकायका पदाधिकारी र निजका श्रीमान, श्रीमती, छोरा–छोरीको हकमा प्रति पदयात्री ५ सय रुपैयाँ टिम्सको मूल्य तोकिएको छ । यस्तो सुविधा लिन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ (टान)मा आवश्यक कागजात पेश गर्नुपर्ने गरी नियम बनाइएको छ । टिम्स कार्ड भने अब विद्युतीय माध्यमबाट जारी हुनुपर्ने छ ।

तोकिएका कागजात एक पटक टिम्स अनलाइन पद्धतिमा पेश गरेपश्चात एकै आर्थिक वर्ष भित्र अर्को पटक पेश गर्नु नपर्ने गरी अनलाइन पद्दतीको विकास गर्नु पर्ने समेत कार्यविधिमा उल्लेख छ । एक पटक जारी भएको टिम्स अनुमति पत्रको मान्य अवधि जारी भएको मितिले ९० दिनको हुनेछ । भौगोलिक कठिनाइ तथा प्राकृतिक विपद्, खराब मौसम, प्रतिकूल स्वास्थ्य अवस्था तथा विशेष परिस्थितिका कारण कुनै पदयात्रा क्षेत्रका लागि लिएको टिम्स अनुमति पत्र अर्को पदयात्रा क्षेत्रका लागि समेत मान्य हुने भएको छ ।

जरिवाना के-के हुनेछ ?

टिम्स अनुमति पत्र र गाइड नलिई पदयात्रामा जाँदै गरेको पाइएमा अब पदयात्रीलाई पदयात्रामा रोक लगाइने भएको छ । टिम्स अनुमति पत्र र गाइड नलिइ पदयात्रा पुरा गरी फर्किंदै गरेका पदयात्रीलाई भने १२ हजार रुपैयाँ जरिवाना तिराइने भएको छ ।

कम्पनीले टिम्स कार्ड नलिएको पाइएमा भने प्रतिपदयात्री १० हजार रुपैयाँ जरिवाना तिराउने र कम्पनीबाटै टिम्स कार्ड किन्न लगाइने भएको छ । यो प्रावधानलाई कडाइ गर्न टिम्स चेकपोष्टमा खटिने कर्मचारीलाई असुल उपर गरिएको जरिवाना करमको २० प्रतिशत बराबरको रकम प्रोत्साहन दिने समेत कार्यविधिमा उल्लेख छ । यसले टिम्स लागु हुने पदयात्रा क्षेत्र भित्र टिम्स अनुमति पत्रविना पदयात्रा गर्ने गराउने पदयात्री वा कम्पनीको पहिचानमा खटिन प्रोत्साहन मिल्ने बोर्डको भनाइ छ ।

कसले लिनु पर्दैन टिम्स ?

हिमाल आरोहणमा जान अनुमति लिएका पर्यटकले भने टिम्स अनुमति लिनु पर्दैन । तर, यस्ता पर्यटकसँग आरोहण अनुमति भने हुनुपर्छ । तर, आफ्नो सुरक्षाका लागि आरोहीले स्वेच्छिक रुपमा भने यो कार्ड लिन सक्छन् ।

पदयात्रा क्षेत्रमा हेलिकप्टरबाट जाने र सोही माध्यमबाट फर्कने पर्यटकले समेत टिम्स लिनु पर्दैन । जाँदा वा फर्कदाँ पदयात्रा गर्ने पर्यटकले भने टिम्स लिनु पर्छ । सरकारी कामको सिलसिलामा भ्रमणमा जानु पर्ने अवस्थामा भने दातृ निकायका कर्मचारीलाई टिम्स कार्डको शुल्क छुट दिइने भएको छ ।

पदयात्रीको साथमा रहने १० वर्ष मुनिका बालबालिकाले समेत टिम्स लिनु पर्दैन । टिम्स लागु हुने क्षेत्रमा दुई पांग्रे वा चार पांग्रे सवारी साधनबाट यात्रा गर्ने पर्यटकले समेत टिम्स र गाइड अनिवार्य दिनु पर्छ ।

आकस्मिक खोज र उद्धार कसरी हुन्छ ?

टिम्स कार्डबाहक र गाइडको साथमा गएका पर्यटकहरु कुन अवस्थामा कहाँ छन् भन्ने जानकारी नेपाल पर्यटन बोर्ड, टान र सम्बन्धित ट्रेकिङ कम्पनीलाई थाहा हुन्छ । यस अवस्थामा प्राकृतिक प्रकोप, खराब मौसम तथा अन्य कारणले दुर्घटनामा परी घाइते, बिरामी, मृत्यु वा हराएमा निजको खोज तथा उद्दारको काम गर्न आकस्मिक खोज तथा उद्दार समन्वय समिति सक्रिय हुने भएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?