+
+
अन्तर्वार्ता :

रामचन्द्र पौडेलको उत्तराधिकारी म हुँ : गोविन्द भट्टराई

रामचन्द्र दाइले जनताको लागि विकास निर्माणको कामहरू र जे जति योजनाहरू थिए, उहाँले जति वाचा गर्नुभएको थियो, उहाँको राजनीतिक विरासत पछिल्लो पुस्ताले बोक्ने गरी म उत्तराधिकारीको रूपमा आएको छु । यो पनि मेरो एउटा जित्ने दह्रो आधार हो ।

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १४:०१

२० चैत, पोखरा । तनहुँ-१ मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार हुन् गोविन्द भट्टराई । गत मंसिरको निर्वाचनमा कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि हुन लागेको उपनिर्वाचनमा कांग्रेसले भट्टराईलाई टिकट दिएको हो ।

आफूलाई रामचन्द्र पौडेलको उत्तराधिकारीको रुपमा प्रस्तुत गरेका भट्टराई सत्ता गठबन्धन र कांग्रेसभित्र व्याप्त अन्तरकलह अहिले नभएको दाबी गर्छन् र आफू चुनाव जित्नेमा आशावादी छन् ।

तनहुँ-१ मा नेकपा एमालेबाट पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हालै कांग्रेस त्यागेका डा. स्वर्णिम वाग्ले पनि उम्मेदवार छन् । तर भट्टराई भन्छन्, ‘जित्ने कांग्रेस पार्टी हुन्छ र एमाले दोस्रो हुन्छ । तेस्रो हुनेमा अरु कुन-कुन दलको प्रतिस्पर्धा छ त्यो त समयले नै बताउला ।’

प्रस्तुत छ कांग्रेस उम्मेदवार भट्टराईसँग अनलाइनखबरकर्मी अमृत सुवेदी सविन लामिछाने‍ले गरेको कुराकानी :

उपनिर्वाचनको तयारी कस्तो छ ?

यो चुनाव म एक्लै लडिरहेको छैन । नेपाली कांग्रेस र यससँग गठबन्धनमा रहेका दलहरु नै लडेको हुनाले यो सबैको निर्वाचन हो । यसमा सबै तह र तप्काका मानिसहरु परिचालित भएका छन् ।

मेरो व्यक्तिगत तयारी त एउटा पाटो भयो । अहिले म खाली व्यक्तिमात्र रहिनँ । अहिले त पार्टीको उम्मेदवार हुँ, त्यो पनि गठबन्धन दलहरुको भएको हुनाले सामूहिक तयारी नै मेरो तयारी हो ।

तर माओवादीले पनि आफ्नो उम्मेदवार उठाउँछु भनेको थियो, एकीकृत समाजवादीले त उम्मेदवार घोषणा नै गरेको थियो । कांग्रेसभित्रै पनि असन्तुष्टिका स्वरहरु सुनिएका छन् । पालिकाका पदाधिकारी कार्यकर्ताले छोडेको भन्ने पनि आएको छ । यसलाई चाहिँ कसरी हेर्नुभएको छ ?

मलाई लाग्छ नोमिनेसन भन्दा अगाडि यो सेटलमेन्ट भइहाल्छ । कुराकानी भइरहेको छ । जहाँसम्म पार्टी छोड्ने कुरा छ, पार्टीको स्थापना कालदेखि नै पार्टी छोड्ने, अर्को अवसरको खोजी गर्ने, अहिले भइरहेको भन्दा ठूलो अवसरतिर पनि लाग्ने । कांग्रेस पार्टीमा यसको स्थापना कालदेखि नै दुइटा किसिमको सोच देखिन्छ ।

एउटा चाहिँ जति दुःख पाए पनि जति संघर्ष गर्न परे पनि जति वर्ष जेल बस्न परे पनि नेपाली जनतालाई स्वतन्त्रता दिलाउने बाटोमा अविचलित भएर लाग्ने निष्ठाको राजनीति पनि छ । त्यो सँगसँगै विचलनको राजनीति पनि छ । अन्य दलहरुको लोभमा फसेर जाने मान्छेहरु पनि छन् ।

यो नयाँ विषय होइन । कहिलेकाहीँ मान्छेको सोचमा विचलन आउँदो रहेछ । त्यो  विचलनको कारणले केहीले मान्छेहरुले हाम्रो पार्टी छाडे । फेरि त्यो सोचमा परिवर्तन भएपछि फर्किएका पनि छन् । त्यो भएको हुनाले यो पार्टी हाँक्ने भनेको दह्रो सोच, प्रतिबद्धता, सिद्धान्तप्रतिको निष्ठा, इमान्दारिता, नैतिकता र लोभलालचमा नफस्ने मान्छेहरुले नै यो पार्टीमा स्थापनाकालदेखि नै निरन्तर नेतृत्व गर्दै आएका छन् र त कांग्रेस पार्टी छ ।

गोविन्दराज जोशीले त सहयोग नगर्ने संकेत गर्नुभएको छ । यसले त असर गर्ला नि ?

उहाँहरुको समूह भनेको नै कांग्रेसकै मतदाता, नेता, नेतृत्वको समूह हो । पार्टीभित्रका तिक्तताले गर्दा केही साथीहरु त्यो ठाउँमा पुग्नुभएको छ ।

हिजोको केन्द्रीय समितिले चितवन र तनहुँको हकमा केही निर्णय गरेको छ । त्यसले गर्दा यो असन्तुष्टिले केही दिनमा निकास पाउँछ भन्ने मलाई लाग्छ ।

कांग्रेसको लामो विरासत बोकेका स्वर्णिम वाग्ले कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट तपाईँविरुद्ध उम्मेदवार हुनुहुन्छ, यसले त चुनौति थपियो होला नि तपाईंलाई ?

उहाँको लामो बिरासतको इतिहास त मलाई थाहा छैन । कांग्रेसमा अघिल्लो चोटी मनोनित गर्न खोज्दा पार्टी सदस्यता लिएको १० वर्ष पनि नपुगेका कारण उहाँ आउन सक्नुभएन ।

बिरासत त गफ लगाउने विषय हो । कसले कहाँ पढेको हो ? कहाँ संघर्ष गरेको हो ? त्यो त खोज्दाखेरि पाउने कुरा हो । म सत्यतथ्य बोल्ने मानिस हुँ । मेरो त इतिहास खुल्ला किताब जस्तै छ ।

म कांग्रेसमा लागेको हुँ । मेरो परिवारका म भन्दा पुरानो पुस्ता पनि यही पार्टीमा लाग्नुभएको थियो । यहाँ त मान्छेहरुले आफैं बिरासत बनाइदिन्छन्, लेखाइदिन्छन् । मेरो विपक्षमा त्यस्तो बिरासत बोकेको मान्छे आउँछ भन्ने मलाई लाग्दैन ।

यहाँ त्रिपक्षीय प्रतिस्पर्धाको आकलन गरिएको छ, एमालेबाट पूर्व आईजीपी पनि उम्मेदवार हुनुहुन्छ ?

जित्ने कांग्रेस पार्टी हुन्छ र एमाले दोस्रो हुन्छ । तेस्रो हुनेमा अरु कुन–कुन दलको प्रतिस्पर्धा छ त्यो त समयले नै बताउला । मुख्य प्रतिस्पर्धा भनेको दुई दलीय प्रतिस्पर्धा नै हो ।

तपाईंले पटक-पटक म लामो समय पार्टीमा लागेर पनि अवसर नपाएको नेतामा पर्छु भन्नुभएको थियो । ०७४ मा त तपाईंलाई टिकट दिएकै हो । अवसर पाएको र नपाएको कसरी छुट्याउने ? त्यो अवसर सदुपयोग गर्नुभएन ?

अवसर त मैले पहिला वडामा चुनाव लड्न पनि पाएको थिएँ, तर मैले लडिनँ । हाम्रो पार्टीले आउट पोस्ट कब्जा गर्ने भनेर स्थानीय चुनावमा भाग लियो । त्यो बेला पनि मलाई घाँसीकुवा गाउँपालिकाको सभापतिमा अफर गरिएको थियो । तर मैले लिइनँ । धेरै पुराना नेताहरू भएको ठाउँ भएकोले विगतमा अप्ठ्यारा परिस्थिति सिर्जना भए ।

वास्तवमा थिचिएर ती अवसरको सदुपयोग गर्ने अवस्था आयो । त्यो फरक अवस्था थियो । गत निर्वाचनमा पनि मलाई प्रदेशमा चुनाव लडेर मुख्यमन्त्री बन्न भनिएको थियो तर मैले त्यो जिम्मेवारी सम्हालिनँ ।

किनभने म यहाँ बसिराख्दा ती पदका लागि काम गरिरहेका मानिसहरूको हौसलालाई निरुत्साहित गर्छ भनेर पनि मैले त्यो पद लिइनँ । अर्को, मलाई संघको समानुपातिकमा पनि राखिएको थियो । मैले प्रत्यक्षमा लड्छु भनेर पार्टीले दिए पनि फिर्ता लिएँ ।

अघिल्लोपटक प्रदेशमै आफ्नो पक्षमा जित लेखाउन सक्नुभएन । अहिले संघमा त झन् चुनौती होला नि ?

अघिल्लो निर्वाचनमा कांग्रेस एक्लै लडेको अवस्था थियो । अर्को, कांग्रेसभित्र व्याप्त अन्तरकलह पनि थियो ।

वास्तवमा अहिले त्यो परिस्थिति छैन । अहिले परिस्थिति बदलिएको छ । हामी अहिले गठबन्धनमा छौं । विगत निर्वाचनमा नि पनि हामीले गठबन्धनबाटै लड्यौं ।

सरकार पनि गठबन्धनमै छ । प्रदेश सरकारहरू पनि गठबन्धनमै बन्ने अवस्था छ । त्यसैले पहिलाभन्दा अहिले जिल्लामा कांग्रेसको संगठन सुदृढ भएको अवस्था छ । पहिला तनहुँमा कांग्रेसको पत्तासाफ हुने अवस्था एउटा दुर्घटना थियो । त्यो अवस्थामा सुधार आइसकेको छ भन्ने कुरा विगतको निर्वाचन परिणामले पनि देखाइसकेको छ ।

क्षेत्र नम्बर १ र २ मै हामी भारी बहुमतले जित्यौं । विगत निर्वाचनमै हामीले जितिसकेको अवस्था छ भने अवस्था अहिले थप सुदृढ भएको छ । किनभने रामचन्द्र पौडेल दाइलाई निर्वाचन गर्ने मतदाता पनि अहिले अत्यन्तै खुशी र उत्साहित हुनुहुन्छ । आज रामचन्द्र दाइ मुलुकको राष्ट्रपति जस्तो गरिमामय पदमा भारी बहुमतले निर्वाचित हुनुभएको छ ।

अर्को पक्ष, रामचन्द्र दाइले जनताको लागि विकास निर्माणको कामहरू र जे जति योजनाहरू थिए, उहाँले जति वाचा गर्नुभएको थियो, उहाँको राजनीतिक विरासत पछिल्लो पुस्ताले बोक्ने गरी म उत्तराधिकारीको रूपमा आएको छु । यो पनि मेरो एउटा जित्ने दह्रो आधार हो ।

पार्टीभित्र तपाईं किन पछि पर्नुभयो ?

म नेविसंघको सभापति हुँदा जे जति मानिसलाई नेतृत्व गरेर माथि ल्याएँ, नेताहरूले चिन्ने पोजिसनमा मैले पुर्‍याएँ । कलेज र अन्य कमिटीमा पनि अनेक विकल्प हुँदा पनि मैले छनौट गरेँ, उहाँहरू माथि पुग्नुभयो । हाम्रो टिकट सिस्टम पनि यस्तै छ ।

अब मलाई माथि पुर्‍याउनेहरूले नपुर्‍याइदिएको कारणले नै म तल परेको भन्ने मलाई लाग्छ । मैले पुर्‍याउनुपर्ने ठाउँमा त मानिसहरूलाई माथि पुर्‍याएँ नि ! अब जसले माथिबाट छान्नुपर्थ्यो , उहाँहरूको कारणले म तल परेको अवस्था हो । अब त्यो रहन्नँ । यो निर्वाचनपछि नयाँ अवस्थाको सुरुवात हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?