+
+
दयाहाङ र मिरुनासँग संवाद :

‘काजी’ र ‘गोफ्ले’बाट मुक्त हुन संघर्षरत दयाहाङ, उतारचढावलाई सिकाइ मान्ने मिरुना

विष्णु शर्मा विष्णु शर्मा
२०७९ चैत २१ गते २०:१०

काठमाडौं । वर्ष २०७९ मा नेपाली फिल्ममा धेरै सोधिएको प्रश्न थियो- काजीको बिहे कहिले हुन्छ ?’ यो यस्तो सरल प्रश्न थियो, जसले ‘कबड्डी ४’लाई ब्लकबस्टर तुल्यायो । विश्व बक्स अफिसमा हालै हिट भएका केही फिल्मको प्रवृत्तिलाई लिएर बुझ्दा लाग्छ, जब कुनै फिल्मसँग सरल प्रश्न जोडिन्छ, मान्नुस् त्यो फिल्म हिट भयो ।’

‘एभेन्जर्स : एण्ड गेम’ नायक आइरनम्यान र खलनायक थानोस पात्रको भविष्यलाई लिएर सोधिएको प्रश्नमा केन्द्रित थियो । हामी यहाँ कबड्डी ४ र काजीको चर्चा किन गर्दैछौं भने काजीको चरित्रमा देखिएका दयाहाङ राई र शान्ति मिस बनेकी मिरुना मगर स्टारर ‘जारी’ वैशाख १ गते नेपालसहित विश्वका ठूला बजारमा एकसाथ रिलिज हुँदैछ । जारीले पनि के दयाहाङले पत्नी फिर्ता पाउँछन् त भन्ने प्रश्न गर्छ ।

उपेन्द्र सुब्बा निर्देशित यो सोसल ड्रामाले २०५० सालको सेटिङमा बुनिएको सम्बन्ध र विवाह संस्कृतिको कथा पेश गर्छ । पूर्वी नेपालको लिम्बू समुदायमा रहेको जारी प्रथाको कथावस्तुमा आधारित फिल्मको शीर्ष चरित्रमा दयाहाङ र मिरुना छन् । कबड्डी ४ पछि दर्शकले घरेलु फिल्मको यो लोकप्रिय जोडीलाई पुनः एकपटक हेर्दैछन् । अनलाइनखबरको स्टुडियोमा उपस्थित भएको यो जोडीले जारी संस्कृति, अभिनय, बक्स अफिसदेखि नयाँ दशकबारे खुलेर कुरा गरे ।

जारी’ महिला स्वतन्त्रताको कथा

दयाहाङका अनुसार ‘जारी’ लिम्बू समुदायमा विवाह पछाडि महिलाले आफूलाई मनपरेको श्रीमान रोज्न पाउने स्वतन्त्रता र निर्णयको अधिकार प्रदान गरिएको सन्दर्भमा केन्द्रित छ । कुल मिलाएर यो युपारुङ र जारीबीचको कथा हो । ‘जारीलाई नेपाली समाजभित्र आ-आफ्नो तरिकाले हेरिन्छ । लिम्बू र राई समुदायमा झण्डैझण्डै मिल्छ । भूगोल तथा संस्कार समाजको मनोविज्ञानको आधारमा जारी चलनलाई लिएर फिल्म बनेको हो,’ दयाहाङ भन्छन्, ‘कुल मिलाएर यो विवाह पछाडिको महिलाको संघर्षबारे बनेको कथा हो ।’

केही पात्र यस्ता हुन्छन्, जसले कलाकारको जीवन भोगाइलाई नै बदल्ने सामर्थ्य राख्छन् । मिरुनाको लागि जारीको शीर्ष चरित्र हाङमा यस्तै एक पात्र हो, जसले आफूलाई बुझ्ने र जीवनलाई हेर्ने आधारभूत दृष्टिकोणमै परिवर्तन ल्यायो । ‘एक किसिमले आफैंले आफैंलाई चिन्ने तरिकामा भिन्नता आयो । मैले हाङमाको माध्यमबाट बाँच्न पाएँ । यसले मलाई सशक्त र इम्पावर्ड महसुस गरायो । म फिमेल भएर लिम्बू र मगर समुदायको बीचमा हुर्किंदा चाहिं मायाको महत्व कति हुन्छ भन्ने बुझें,’ मिरुनाको अनुभव छ ।

आमा र हजुरआमा लिम्बू समुदायकै भएकाले पनि मिरुनालाई यो रोल गर्न सहज पनि भयो । ‘सुरुमा मेरो र हाङ्माको भोगाइ भिन्न छ जस्तो लागेको थियो । स्वतन्त्रता र आफ्नो हिसाबले बाँच्नुपर्छ भन्ने मैले सानैदेखि सिकें । स्वभाव नमिले पनि उसको र मेरो हुर्काइबीच कहीं न कहीं समानता छ,’ मिरुना भन्छिन् । बाहिरबाट हेर्दा ‘जारी’ कबड्डीजस्तै महसुस हुने भएपनि पात्रको भोगाइ र संघर्ष भिन्न रहेको मिरुनाको भनाइ छ । ‘टिम एउटै हो । मेकिङ शैली पनि एउटै लाग्न सक्छ । बाहिरी कुरा उस्तै भए पनि पात्रको भोगाइ एकदमै भिन्न छ,’ उनी भन्छन् ।

मिरुनालाई लाग्छ, जारीले कबड्डीको ह्यांगओभरबाट उनलाई मुक्त गर्नेछ ।

दयाहाङ भनेका काजी र गोफ्ले मात्र हुन त ?

दयाहाङसँग गफ गर्दाको मज्जा भनेको उनीसँग जटिल प्रश्नको सरल उत्तर छ । वर्ष २०७९ मा दयाहाङले अभिनय गरेका मात्र चार फिल्म हिट भए । यी चार फिल्मको कुल ग्रस कमाइ जोड्दा ४५ करोड रुपैयाँ हाराहारी हुन आउँछ । एउटै कलाकारको फिल्मले यति हिट दिनुको पछाडि केही अर्थ पक्कै छ । यो बक्स अफिस सफलताले दयाहाङलाई सन्तुष्टि त मिल्ने नै भयो, उनी यसलाई उत्तिकै खतरनाक रुपमा पनि अथ्र्याउँछन् ।

‘यदि फिल्म हिट भयो भने दर्शकले रुचाएछन् र निर्मातालाई राहत भएछ भन्ने कुराले सन्तुष्टि दिन्छ,’ उनी भन्छन्, ‘उत्तिकै खतरनाक कुरा पनि हो यो । हिट नभएका चाहिं राम्रा थिएनन् भन्ने अर्थमा सोच्नुहुन्न । राम्रा र असल सिनेमा पनि बजारको हिसाबले फ्लप भएका छन् । बजारको लागि बनाइएका फिल्म बजारमा सफल भएका छन् । त्यो चाहिं खुसीको कुरा हो ।’

केही वर्षसम्मका लागि दयाहाङलाई फुर्सद छैन । उनलाई दैनिकजसो फिल्मको अफर आउँछ । तर कलाकारको रुपमा उनले पात्र छनोट कसरी गरेका छन्, यो जान्नु महत्वपूर्ण पक्ष हो । उनी आफूलाई आउने उत्कृष्ट स्क्रिप्टलाई प्राथमिकतामा राख्ने बताउँछन् । ‘मैले अरु काम जानेको छैन । पहिलो कुरा स्क्रिप्ट नै हो । हेरेका सबै स्क्रिप्ट शतप्रतिशत राम्रा थिए भनेर भन्दिनँ । कतिपय उत्कृष्टताको रेखासम्म राम्रा छन्, जसमध्ये कतिपय हिट र कतिपय ठीकठीकै,’ उनी भन्छन्, ‘एउटा क्यारेक्टरले स्टोरीलाई हो ह्यान्डल गर्ने तर मेरो सोचमा त्यो कहिल्यै हुँदैन । पात्रले कथालाई लिड गर्ने हो एक्टरले होइन । पात्र छान्दा मैले छोटो समयमा सहज हुने तरिकाले काम गर्न सक्ने चरित्रलाई छान्छु ।’

दयाहाङको अभिनयलाई लिएर समीक्षकमाझ एउटा प्रश्न छ- के उनका पछिल्ला फिल्महरु दृश्यभन्दा संवाद केन्द्रित भएका हुन् ?’ यो आलोचनामा दयाहाङको विशिष्ट जवाफ छ, ‘मलाई लाग्छ, महत्वपूर्ण कुरा त्यो डायलग कतिबेला बोल्यो र किन बोल्यो भन्ने हो ।’ कतिपय हिसाबमा आफैंबाट पनि कमजोरीलाई सच्याउनेतर्फ लुज भएको स्वीकारोक्ति उनको छ ।

उनी भन्छन्, ‘कबड्डीमा पात्रको इमोसन र यात्राको उतारचढाव देख्नुहुन्छ । तर दर्शकले संवाद र त्यसलाई कुन अवस्थामा त्यसले बोलेको छ भन्ने कुरा रुचाउनुभयो । त्यसपछि फिल्म यसरी बन्न थाले कि पहिला एक्टर छान्ने अनि फिल्म लेख्ने । एक्टरलाई पोइन्ट गर्ने अनि लेख्ने । मैले कबड्डीमा जे बोलें, एक्टरको एउटा लय थियो । त्यही लयमा कतिपय संवाद आउँदै गए । आइसकेपछि त्यसलाई अर्को हिसाबमा काम गर्नुपर्ने मेरो कर्तव्य हो तर केही हिसाबले म आफैं लुज भएको हो । संवाद केन्द्रित नभएर काम भएका फिल्म पनि होलान् । डायलग सेन्ट्रिक चाहिं पपुलर भएर होला । मलाई लाग्छ, महत्वपूर्ण कुरा त्यो डायलग कतिबेला बोल्यो र किन बोल्यो ।’

‘लुट’ले दयाहाङलाई गोफ्ले पात्रको रुपमा स्थापित गर्‍यो र कबड्डीले काजी । के दयाहाङ भनेका काजी र गोफ्ले मात्र हुन त ? खै नयाँ पात्र सिर्जना गरेको ? तर दयाहाङलाई लाग्छ त्यहाँ केही यस्ता राम्रा पात्र पनि छन्, जसलाई समयको गतिमा मान्छेले भुले । उनी दासढुंगा, त्यान्द्रो, बधशाला र सेतो सूर्यमा आफूले अभिनय गरेका पात्रलाई जीवन्त र कालजयी बताउँछन् ।

‘हुन सक्छ यी दुई चरित्र म आफैंले खोजेको हुँला, संयोगले पपुलर भएका होलान् । अरु चरित्र पनि त्यही मेहनतले खोजेको थिएँ । ती चाहिं हराएर गए होलान् । नहुने कुरा हैनन् । समय यति छिटो चल्छ कि सानोसानो चीजहरु बेवास्ता गर्दै जान्छौं,’ दयाहाङ भन्छन्, ‘ह्वाइट सनको त्यो विद्रोही कति थकित छ अहिले ? यी इमोसन यसै त्यसै हराए । हामी किन खोज्दैनौं ? हामी किन जहिल्यै काजी र गोफ्ले नै खोज्छौं । पपुलर भएकाले ह्यांग भए होला । डर त मलाई पनि छ । ब्रेक नभएर होला । इमोसनभित्र बसेर हेर्दा भोगाइको हिसाबले फरक छ ।’

दयाहाङको संकल्प : स्टेरियोटाइप मेट्नु

हामी ७० को दशकको अन्त्य र ८० को दशक सुरु हुने संघारमा छौं । बितेको १० वर्षमा दयाहाङले ५० भन्दा बढी फिल्ममा काम गरे । यीमध्ये आधाजसो हिट भएका छन् । उनले बितेको दशकलाई कलाकारको रुपमा ठूलो कुरा भएको बताए ।

‘नम्बरको हिसाबले मेरो लागि ठूलो कुरा हो । बितेको समयमा म सामान्य कलाकारदेखि स्थापितसम्म भएँ । नेपाली फिल्म बजार नेपाली सीमाभित्र थियो, यसलाई अन्तर्राष्ट्रिय बजार डायस्पोरा बजारसम्म पुग्यो । ठूला फिल्म फेस्टिभलमा केही फिल्म गएछन्, जसको राम्रै नोटिस पनि भएछन् । साधारण एक्टरदेखि पपुलर एक्टरसम्म मैले यात्रा गरेछु,’ उनी भन्छन्, ‘मेरो पपुलारिटीलाई सफलता मान्ने होइन । नेपालमै फिल्म चल्न मुश्किल थियो, लुट चल्यो, लुटले डायस्पोरा मार्केट बिस्तार गयो । कबड्डीले अरु बिस्तार गर्‍यो । यसमा अझै कसरी लैजाने भन्नेमा मेरो पनि जिम्मेवारी छ ।’

दयाहाङ नयाँ दशकमा एक्टरको रुपमा चुनौती सिर्जना गर्न चाहन्छन् । त्यो चुनौती भनेको काजी र गोफ्लेको ह्यांगओभरबाट मुक्ति पाउने र स्टेरियोटाइपको आरोपलाई मेट्ने । उनी यी कुरालाई आफ्नो चुनौतीको रुपमा अर्थ्याउँछिन्  । मिरुनाले चाहिं पछिल्लो वर्षमा उतारचढावपूर्ण यात्रा गरिन् । उनले कबड्डी ४ को सफलताको स्वाद मात्र चाखिनन्, भिक्षु प्रकरणमा हैरानी खेप्नुपर्‍यो । यी क्षणबाट उनी पाठ सिक्न चाहन्छिन् ।

‘मैले गरेका प्रत्येक प्रोजेक्टले केही न केही सिकाउने अवसर पाएँ । संगत गरेका मान्छेले मलाई पाठ सिकाए । कबड्डीको समयमा भएको विवादलाई म मुटुको धड्कन र चालसँग हेर्छु । अझै कति होलान् उतारचढाव आउनलाई । पाठ सिकेकी छु ।’

अन्तर्राष्ट्रिय विकास विषयमा हालै लण्डनबाट स्नातकोत्तर अध्ययन सकेकी मिरुनासँग दुई योजना छन्, फिल्म र विकासबारेको कामलाई सँगै अघि बढाउने । ‘ठ्याक्कै यही भन्ने सोच छैन तर समयसँगै अघि बढ्छु,’ उनी भन्छिन् । कबड्डी र जारीबाहेक दयाहाङ र मिरुना छायांकन भइरहेको ‘नांगो गाउँ’मा पनि एकसाथ छन् ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?