
२१ चैत, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक अनन्तराज थापाले ओलम्पिक छनोटअन्तर्गत बुधबार हुने भियतनामविरुद्ध खेलमा राम्रो नतिजाको अपेक्षा गरिएको बताएका छन् ।
मंगलबार खेलअघिको पत्रकार सम्मेलनमा उनले वरीयताको हिसावमा भियतनाम माथि भए पनि आफ्नो टिमले क्षमताले राम्रो नतिजा निकाल्न आउने विश्वास व्यक्त गरे ।
पेरिस ओलम्पिक २०२४ का लागि एसियाली छनोटको पहिलो चरणमा नेपाली टिमले बुधबार दशरथ रंगशालामा भियतनामसँग प्रतिस्पर्धा गर्दैछ ।
‘भियतनाम हामो लागि बलियो विपक्षी हो । यो टिमले विश्वकस खेल्दैछ । त्यसका बाबजुद हामीसँग उच्चस्तरका खेलाडीहरु छन् र हामीले एक महिनादेखि विशेष तयारी गरिरहेका छौं,’ पत्रकार सम्मेलनमा प्रशिक्षक थापाले भने, ‘मेरो विचारमा हामी भोलि राम्रो नतिजा ल्याउनेछौं ।’
उनले चोटग्रस्त प्रमुख खेलाडीहरु गीता राना र प्रिती राईको अभाव टिममा खड्किए पनि उनीहरुको ब्याकअप तयार गरिसकेकाले समस्या नहुने दावी गरे ।
यही प्रतियोगिताको तयारीका लागि नेपालले फागुन ३ र ६ गते भारतसँग भारतमै दुई मैत्रीपूर्ण खेल खेलेको थियो । सोही क्रममा टिमकी प्रमुख डिफेण्डर गीता राना चोटग्रस्त बनेकी थिइन् ।
नेपालले भारतसँग पहिलो खेल गोलरहित र दोस्रो खेल २–२ गोलको बराबरी खेलेको थियो । भारतसँगको खेलले खेलाडीमा आत्मविशवास बढेको र टिमको माहोल राम्रो भएको प्रशिक्षक थापाले बताए । उनले बलिया विपक्षीसँग खेल्दा नेपाल टिमका लागि दीर्घकालसम्म फाइदा हुनेसमेत बताए ।
‘बलियो टिमसँग खेल्दा नेपाललाई फाइदा हुनेछ । भियतनामसँगको खेल नेपाली खेलाडीका लागि आफूलाई प्रमाणित गर्ने अवसर पनि हो । आफ्नो क्षमता देखाउने माध्यम हो,’ उनले थपे ।
नेपाली टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले वरीयताको वास्ता नगरी भियतनामविरुद्ध जितका लागि खेल्ने बताएकी छन् ।
‘यसअघि ओलम्पिक छनोटमा हामीले बलियो भनिएको म्यानमारलाई बराबरीमा रोकेका थियौं । मैदानमा छिरेपछि सबैलाई जित्न मन हुन्छ । हाम्रा लागि भोलिको खेल पनि त्यस्तै हो,’ उनले भनिन् ।
ओलम्पिकका लागि एसियाली छनोटको पहिलो चरणमा नेपाल समूह सीमा छ । यो समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि थिए । दुवै टिमले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपाल र भियतनामले मात्र प्रतिस्पर्धा गर्ने भएका हुन् । नेपालले पहिलो खेल बुधबार र दोस्रो खेल शनिबार खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4