+
+

ट्रम्पसहित फौजदारी अभियोग खेप्ने विश्वका यी राष्ट्रप्रमुख

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १२:५३
फौजदारी अभियोग खेप्ने अमेरिकी पुर्वराष्ट्रपति डोनाल्ड ट्रम्स, ब्राजिलका हालका राष्ट्रपति लुला दा सिल्भा, क्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क युन ह्वे र इजरायलका वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु।

काठमाडौं । अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फौजदारी अभियोग खेपिरहेका छन्। मंगलबार उनी अदालत समेत पुगेका थिए।

ट्रम्प अमेरिकाको इतिहासमा फौजदारी अभियोग खेप्ने पहिलो राष्ट्रपति बनेका छन्। पोर्न स्टार  स्टोर्मी डेनिल्सलाई पैसा दिएर दबाबमा राखेको भन्दै उनले मुद्दा खेपेका हुन्।

अहिले ट्रम्पको फौजदारी मुद्दा चर्चामा रहेपनि उनीअघि विश्वका धेरै नेताले फौजदारी मुद्दा खेपेर सजाए पनि भोगेका छन्।

अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिष्टिना फर्नान्डिजलाई फौजदारी अभियोगमा ६ वर्ष जेल सजाए तोकिएको थियो। सरकारी कागजात किर्तेको अभियोगमा उनलाई जीवनभर राजनीतिमा प्रतिबन्ध समेत लगाइएको थियो।

ब्राजिलका हालका राष्ट्रपति लुला दा सिल्भालाई पनि भ्रष्टाचार र अपचलन मुद्दामा जेल चलान गरिएको थियो।

सन् २००३ देखि सन् २०१० सम्म मुलुक हाँकेका उनीमाथि सन् २०१७ मा भ्रष्टाचार मुद्दा लागेको थियो। सन् २०२१ मा सिल्भाले सफाए पाएका थिए।

क्रोयसियाका पूर्वप्रधानमन्त्री इभो सान्दर पनि भ्रष्टाचार मुद्दामा जेल जानुपरेको थियो। उनलाई आठ वर्ष जेल सजाए सुनाइएको थियो। हाल उनी जेलमै छन्।

फ्रान्सका पूर्वराष्ट्रपति ज्याकस चिरक पनि भ्रष्टाचार मुद्दामा जेल चलान भएका थिए। पेरिसको मेयर हुँदा रकम हिनामिना गरेको अभियोगमा उनलाई जेल चलान गरिएको थियो।

सन् २०११ मा जेल चलान भएको उनको सन् २०१९ मा मृत्यु भएको थियो। फ्रान्सकै पूर्वराष्ट्रपति निकोलास सार्कोजीले पनि भ्रष्टाचार मुद्दा खेपेका थिए। उनलाई पनि तीन वर्षको जेल सजाए सुनाइएको थियो।

जर्मनीका पूर्व राष्ट्रपति क्रिष्टिन वुल्फलाई पनि पदीय आचरणविपरीत लाभ लिएको अभियोग लागेको थियो। सन् २०१३ मा उनले मुद्दा खेपेका थिए भने सन् २०१४ मा उनले मुद्दाबाट सफाए पाएका थिए।

सन् २०११ मा इजरायलका पूर्वराष्ट्रपति मोहे कातस्भलाई ७ वर्षको जेल सजाय सुनाइएको थियो। आफ्नी सहयोगीमाथि यौन हिंसा गरेको अभियोगमा उनलाई सजाय दिइएको हो। मोहे ५ वर्षभन्दा लामो समय राष्ट्रपतिका रूपमा रहेका  थिए।

यस्तै, इजरायलकै पूर्वप्रधानमन्त्री इहुद ओलमर्टलाई पनि कर छलीको अभियोग लागेको थियो। गत वर्ष उनलाई जेल चलानको फैसला सुनाइयो। इजरायलका वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि पनि भ्रष्टाचार अभियोग लागेको छ। उनलाई नीतिगत भ्रष्टाचार  गरेको र अर्बपतिहरूबाट लाभ लिएको आरोप लागेको छ।

यस्तै इटालीको पूर्व प्रधानमन्त्री सिल्भियो बर्सकोनीलाई पनि  नाबालिकामाथि यौन शोषणका साथै भ्रष्टाचार मुद्दा लागेको थियो। सन् १९९४ मा राजनीतिमा आएका उनीमाथि ३० भन्दा बढी फौजदारी अभियोग लागेका थिए।

सन् २०२१ देखि सन् २०२३ सम्म उनका भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदा उनले सफाए पाएका थिए।

यता, मलेसियाका पूर्व प्रधानमन्त्री मुइद्दिन यासिनमाथि पनि गत महिना पदीय दुरूपयोग र भ्रष्टाचार मुद्दा लागेको थियो। पदीय दुरूपयोग गर्दै कोभिडको समयमा ठेक्कामा प्रभाव पारेको अभियोग उनीमाथि छ।

मलेसियाकै पूर्व प्रधानमन्त्री नाजिब रजकमाथि पनि भ्रष्टाचार मुद्दा लागेको थियो। सन् २०२० मा उनीमाथिको अभियोग प्रमाणित भएको थियो। रजकले विकास बजेटको हिनामिना गरेको पाइएपछि उनलाई १२ वर्षको जेल सजाय तोकियो।

यस्तै दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले पनि भ्रष्टाचार मुद्दा खेपिरहेका छन्। सन् १९९९ मा मुद्रा अपचलन गरेको अभियोगमा हाल सुनुवाइ भइरहेको छ।

यता, दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली मियुङ बाकलाई सन् २०२० मा घुस लिएको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो। उनलाई सन् २०२२ मा भने माफी दिइयो।

दक्षिण कोरियाकै पूर्वराष्ट्रपति पार्क युन ह्वेमाथि पनि घुसघोरीको अभियोग लागेको थियो। सन् २०१८ मा त्यस अभियोगमा उनलाई १५ वर्षको जेल सजाय सुनाइयो भने सन् २०२१ मा उनलाई माफी दिइएको थियो।

यता, पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानमाथि पनि ८५ वटा मुद्दामा सुनुवाइ भइरहेको छ। खानमाथि धर्मको अपमान, आतंकवाद र भ्रष्टाचार सम्बन्धी ८५ वटा मुद्दा लागेको हो।

पोर्चुगलमा पूर्वप्रधानमन्त्री जोसे सोक्रेतमाथि पनि भ्रष्टाचारको मुद्दा लागेको छ। सन् २०२१ मा उनीमाथिका मुद्दा अपचलन र कर छलीका मुद्दामा कम सजाय तोकिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?