+
+

मोबाइल फोन आविष्कारक कूपरको रोचक अनुभूति

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १६:४०

काठमाडौं । सन् १९७३ को अप्रिल ३ मा म्यानहटनस्थित सिक्स्थ एभिन्यूको फुटपाथमा उभिएर मार्टिन कूपरले इँटाको आकारको एउटा उपकरणबाट पहिलो पटक फोनकल गरे । उनले उक्त मोबाइल फोनबाट पहिलो कल गरेका व्यक्ति तिनै थिए जोसँग उनले त्यहीँ उपकरणको विकास गर्नमा प्रतिस्पर्धा गरेका थिए ।

तत्कालिन मोटोरोला कम्पनीमा इन्जिनियर रहेका कूपरले एटी एण्ड टी कम्पनीको स्वामित्वमा रहेको बेल ल्याब्सका जोएल इन्गेललाई फोन गर्दै भने, ‘हेल्लो, तिमीलाई साँच्‍चै मैले मोबाइल फोनबाट कल गरिरहेको छु। यो फोनबाट बिनातार समाउन मिल्छ र यसलाई यताउती सजिलै लैजान सकिन्छ । ‘

यद्यपि, उनले विकास गरेको त्यो मोबाइल  बजारमा आउन १० वर्ष लाग्‍यो। सन् १९८४ मा उक्त मोबाइल केही इन्च घटेर बजारमा आयो जसको मूल्‍य त्यतिबेला ३ हजार ९९५ अमेरिकी डलर अर्थात अहिलेको बजार मूल्यको हिसाबले १० हजार अमेरिकी डलर परेको थियो।

मोबाइल फोनमा पहिलो कल गरिएको यो ५० वर्षको अवधिमा कूपरको त्यो ठूलो आकारको डिभाइस क्रमविकास भएको छ र अनेक थरीका पातला तथा निकै अत्याधुनिक र फास्ट स्मार्टफोनमा  विश्वबजारमा आइसकेका छन् ।

मोबाइल फोनले अहिले विश्वव्यापी रुपमा उद्योग, संस्कृति तथा मानव सम्बन्धहरुलाई नै नयाँ आकार दिएको छ । मोबाइल फोनको अहिलेको व्यापक प्रभाव तथा फैलावटका बारेमा कूपरले उति बेला नै पूर्वानुमान गरेका थिए । यो उपकरण एकदिन मानव जातिका लागि अत्यावश्यक बन्ने कुरामा कूपर सुरुदेखि नै प्रष्ट थिए ।

हाल ९४ वर्षीय कूपर भन्छन्, ‘अहिले सबै मानिससँग मोबाइल फोन छ भन्ने कुरामा म अचम्मित छैन । हामीले त्यसबेला यस्ता कथाहरु भन्थ्यौँ कि भविष्यमा कुनै दिन मानिसहरु जन्मिँदा नै उनीहरुको आफ्नै फोन नम्बर हुनेछ । अनि फोनमा जवाफ नदिने मानिसको मृत्यु हुनेछ ।’

मोबाइल फोनको विकासक्रम

मोबाइल फोनमा पहिलो कल गरिनुभन्दा महिनौँ अगाडिदेखि नै मोबाइल फोनको निर्माणमा मोटोरोलाले बेला ल्याब्ससँग तीव्र प्रतिस्पर्धा गरिरहेको थियो।

एटी एण्ड टी कम्पनीको चर्चित अनुसन्धान इकाइको रुपमा रहेको बेल ल्याब्सले ट्रान्जिस्टर लगायतका विभिन्न उपकरणहरुको आविष्कार गरिसकेको थियो।

‘उनीहरु संसारकै सबैभन्दा ठूलो कम्पनी थिए भने हामी शिकागोमा निकै सानो कम्पनीको रुपमा थियौँ । हामीहरुलाई धेरै महत्वपूर्ण छौँ भन्ने उनीहरुले सोँच्दैनथे’,  कूपर स्मरण गर्छन् ।

कूपरका अनुसार उनले निकै उत्साहपूर्ण रुपमा मोबाइल फोनबाट पहिलो कल गर्दा समेत उनका प्रतिस्पर्धी खासै उत्साही थिएनन् ।

कुपर भन्छन्, ‘तपाइँले भन्न सक्नुहुन्छ कि मैले फोन कल गरेर उसलाई उसको असफलता र मेरो सफलताको बारेमा सम्झाउन चाहन्नथेँ । फोन कलमा ऊ निकै नम्र बोलेको थियो । वास्तवमा आजसम्म जोएललाई उक्त फोनकलको सम्झना छैन । र, यस विषयमा मैले उसलाई दोष दिन पनि चाहन्न ।’

Motorola vice president John F. Mitchell shows how easily the company's newest product-Dyna T-A-C Portable Radio Telephone System can be used in New York, NY, on April 03, 1973.

कूपरको पहिलो कल पश्चात् उत्पादन सम्बन्धी विषय तथा सरकारी नियमनका कारण मोबाइल फोनलाई आम उपभोक्ता समक्ष ल्याउने कुरामा बिलम्ब भएको कूपर बताउँछन् ।

उदाहरणका लागि संघीय सञ्चार आयोगले रेडियो च्यानललाई कसरी विभाजन विभाजन गरी  प्रतिस्पर्धालाई सुनिश्चित गर्ने भन्ने विषयमा निकै मेहेनत गरेको कुरा कूपर सम्झिन्छन् । उक्त आयोगमा कूपर हाल सल्लाहाकारको रुपमा कार्यरत छन् ।

अन्ततः उक्त DynaTAC (Dynamic Adaptive Total Area Coverage) मोबाइल फोनको पहिलो संस्करण बजारमा आउन १ दशक लाग्यो । त्यसबेला उक्त मोबाइल फोनको मूल्य ३ हजार ९ सय डलर थियो । वालस्ट्रिट फिल्ममा देखाइएको Gordon Gekko जस्तै रहेको उक्त फोनको तौल २.५ पाउण्ड अर्थात् १ किलो १३४ ग्राम थियो भने त्यसको लम्बाई एक फुट जति थियो ।

जबकी अहिलेको आइफोन १४ को तौल जम्मा १७० ग्राम छ र लम्बाई ६ इन्च । बजारमा पाइने राम्रै खाल एन्ड्रोइड स्मार्टफोनहरु २ सय देखि ३ सय डलर सम्ममा पाइन्छन् ।

मानवीय अनुभवमा सुधारको प्रयास

सन् १९९० को दशकपछि मात्रै आधुनिक मोबाइल फोनको विकास भयो । त्यो सँगै मोबाइल फोनको आकार घट्यो भने अधिक प्रयोगकर्तामैत्री बने ।

सन् २०२१ मा Pew Research Center ले गरेको अध्ययन अनुसार हाल अमेरिकाका ९७ प्रतिशत मानिसले कुनै न कुनै प्रकारका मोबाइल फोन बोक्दछन् ।

मोबाइल फोनको आविष्कार यता कूपरले मोबाइल फोनको रुपान्तरणकारी शक्तिका बारेमा किताब लेखेका छन्, कम्पनीहरु स्थापना गरेका छन्, प्रवचन यात्राका साथै मिडियाहरुमा समेत धेरैपटक देखिएका छन् । तथापि उनलाई आधुनिक प्रविधिको विकासका सबै पहलुहरु चित्त बुझेका छैनन् ।

कूपर भन्छन्,’निकै धेरै इन्जिनियरहरु उनीहरु भन्ने गरेको प्रविधि, ग्याजेट तथा हार्डवेयरमा बेरिएका छन् । तर प्रविधिको समग्र उद्धेश्य भनेकै मानिसहरुको जिवनलाई राम्रो बनाउनु हो भन्ने कुरा चाहीँ भुलेका छन् । मानिसहरुले त्यो कुरा भुलिरहेका छन् र मैले उनीहरुलाई सम्झाइरहेको छु। हामीहरु मानव अनुभवमा सुधार गर्ने प्रयास गरिरहेका छौँ । यो नै वास्तवमा प्रविधिको ध्येय हो।’

यद्यपि आफै पनि एकजना आइफोन प्रयोगकर्ता भएको र त्यसअघि सामसुङको स्मार्टफोन चलाउने कूपर प्रविधिमा समाजमा समग्रमा सकारात्मक परिवर्तन ल्याएको कुरामा चाहि सहमत छन् ।

उनी भन्छन्, ‘म एकजना आशावादी मानिस हुँ । मोबाइल फोनका बेफाइदाहरु पनि छन् भन्ने कुरा मलाई थाहा छ । कतिपय मानिसहरुको यसमै लत पनि बसेको छ । सडकमा हिँडिरहँदा समेत मोबाइल फोनमा कुरा गरिरहने मानिसहरु पनि छन् । तथापि, समग्रतामा मोबाइल फोनले मानवतामा सकारात्मक परिवर्तन गरेको छ र यो भविष्यमा जारी रहनेछ ।’ सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?