+
+

संसद भवनभित्रकै शौचालयमा प्याड नभएको सांसदहरुको गुनासो

‘घरेलु प्याडको प्रवर्द्धनका लागि नीतिगत व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता’

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १७:३०

२२ चैत, कामाडौं । सांसदहरुले संघीय संसद भवनभित्रकै शौचालयमा प्याड नभएको गुनासो गरेका छन् ।

बुधबार एक्सपोज नेपालले ललितपुरमा गरेको ‘महिनावारीको सवालः वर्तमान अवस्था र विधायकको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सांसदहरूले यस्तो गूनासो गरेका हुन् । उनीहरुले  यी लगायतका समस्याहरुको समाधान गर्ने सार्वजनिक स्थलमा निःशुल्क प्याड उपलब्ध गराउन नीतिगत रुपमै पहल गर्ने पनि प्रतिवद्धता  जनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले संसद भवनभित्रै पनि शौचालयमा प्याड नभएको बताइन् । संसदसहित सार्वजनिक स्थलमा निःशुल्क प्याड पाइने व्यवस्था गर्नुपर्नेमा उनको जोड छ । नेपालमा उत्पादन हुने प्याडमा लाग्ने कर मिनाहा गर्न संसदमा पहल गर्ने पनि उनको प्रतिवद्धता छ ।

सांसदहरुले घरेलु प्याडको प्रवर्द्धनका लागि नीतिगत व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

पूर्वमन्त्री सांसद हितबहादुर तामाङले देशभित्र सञ्चालनमा रहेका प्याड उद्योगलाई प्रबद्र्धन गरी स्वदेशी उत्पादनलाई नै प्रमुखताका साथ प्रयोगमा ल्याउन राज्यले नीतिगत व्यवस्था गर्न सक्ने बताए ।

ऐन, कानुन र विधेयक निर्माण प्रक्रियामा आफूहरूको प्रत्यक्ष संलग्नता रहने हुनाले महिनावारीको विषय संसद र सरकारको प्रमुख प्राथमिकतामा पर्नुपर्ने उनको भनाइ छ ।

पूर्वमन्त्री सांसद जुलीकुमारी महतोले सरकारले छाउपडी व्यवस्था हटाउन काम गरेपनि महिनावारीका बेला प्रयोग गरिने प्याड र स्वास्थ्यको विषय सरकारको कम महत्वमा परेको बताइन् ।

देशभित्रै रोजगारी सिर्जना गरी प्याड बनाउने सिपको प्रबद्र्धन र उत्पादन गर्ने उद्योगलाई विस्तार गर्न आवश्यक रहेको उनको भनाइ थियो । सरकारले विद्यालयमा वितरण गर्न उपलब्ध गराएको प्याडसमेत उचितरूपमा वितरण हुन नसकेको उनको भनाइ छ ।

सांसद शुशिला श्रेष्ठले सरकारले विद्यालय क्षेत्रमा निःशुल्क वितरण गर्ने प्याड गुणस्तरीय नहुँदा झनै स्वास्थ्य समस्या बढ्ने भएकाले राज्य नै गम्भीर हुनुपर्ने बताइन् ।

सांसद ऐनबहादुर शाहीले महिनावारी र यसको स्वास्थ्यको विषय सार्वजनिक महत्वको र नीतिगत तहबाट काम गर्नुपर्ने विषय भएको औँल्याउँदै संसदमा आफ्नो शशक्त भूमिका रहने प्रतिबद्धता जनाए ।

सांसद छिरिङ ल्यामु लामा तामाङले कतिपय समुदायमा महिनावारीका भेदभावजन्य क्रियाकलाप नहुने गरेका कारण महिनावारी स्वास्थ्यको विषय ओझेलमा परेको स्मरण बताए ।

सांसद निशा डाँगीले नेपालमा उत्पादन हुने प्याडमा लाग्ने कर मिनाहा गर्न संसदमा पहल गर्ने बताइन् । संसद भवनभित्रै पनि शौचालयमा प्याड नभएको उल्लेख गर्दै उनले सार्वजनिक स्थलमा निःशुल्क प्याड पाइने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।

सांसद सपनाराज भण्डारीले सञ्चार माध्यममा समेत विदेशी उत्पादनको प्रचार प्रसार हुँदा नेपालमा उत्पादित प्याडको बजारीकरण हुन नसकेको बताए ।

सांसद कल्पना मियाँ कुसारीले स्वेदशी उत्पादनमा विश्वास गर्ने परिपाटी नहुँदा पनि स्थानीय प्याड उद्योगहरू प्रबद्र्धन हुन नसकेको बताए ।

सांसद अनिशा नेपालीले लाजको विषय र विभेदको विषय बनाइएको महिनावारीका बारेमा जनस्तरमा चेतना पुर्‍याउन नसकिएको बताइन् ।

सांसद आशा विकले महिनावारीका बारेमा विधेयक बनाएर प्रक्रियामा लैजान प्रयास गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?