+
+

प्लेनभित्रै दुई यात्रुबीचको झगडामा रोचक संयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १९:४८

२३ चैत, काठमाडौं । बुधबार साँझ विराटनगरबाट काठमाडौं उडेको बुद्ध एयरको उडान नं ७१० को जहाज भित्रै दुई यात्रु झगडा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै ती दुई यात्रुलाई जहाजमा खटिएका बुद्ध एयरका कर्मचारीले विमानस्थलका सुरक्षा अधिकारीको जिम्मा लगाए । प्रहरीले यसबारे छानविन गरिरहेको छ । जहाज भित्र दुई यात्रुको झगडा हुनुमा भने एक रोचक संयोग रहेको बुद्ध एयरका एक अधिकारीले जानकारी दिए ।

ती अधिकारीका अनुसार दुई जना बीच जग्गाको कारोबारको विवाद रहेछ । उनीहरुमध्ये एक जनाले काठमाडौंमा जग्गा दिलाइदिने भनी बैना रकम लिएका रहेछन् । उनले भनेजस्तो जग्गा मिलाइदिन नसकेपछि विराटनगरमा जग्गा मिलाइदिने शर्तमा दुवै जना विराटनगर पुगेका थिए । तर, त्यहाँ समेत जग्गामा कुरा मिल्न नसकेपछि रकम दिने व्यक्तिले आफू काठमाडौं फिर्ता हुने भन्दै बुद्ध एयरको टिकट काटे । अर्का व्यक्ति भने आफू विराटनगर मै रहने बताएका थिए । तर उनले अर्को उडानमा टिकट काटेका रहेछन् ।

ती अधिकारीका अनुसार बुधबार दुई उडानलाई एकै उडानमा मर्ज गरी काठमाडौं उडाइएको थियो । संयोगवश दुवै यात्रुको बस्ने सिट एउटै लाइन ‘९ए र ९बी’मा पर्न गयो । ‘अघिसम्म काठमाडौं नजाने, विराटनगरमै रहने भनेका व्यक्तिलाई आफूसँगैको सिटमा देखेपछि झगडा सुरु भएको रहेछ,’ ती अधिकारीले भने, ‘फ्लाइट एटेन्डेन्सले सम्झाइ बुझाइ गरी अर्को सिट फरक फरक पारी राख्ने व्यवस्था गरेपछि झगडा शान्त भएको थियो ।’

विमानस्थलमा झरिसकेपछि भने उनीहरुलाई विमानस्थल सुरक्षामा खटिएको प्रहरीलाई जिम्मा लगाइएको थियो । बुधबार नै बुद्ध एयरले विमानस्थलका सुरक्षा प्रमुखलाई पत्र लेखी घटनाबारे जानकारी दिएको थियो । त्यसपछि दुवै जनालाई पक्राउ गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । यस्तो घटनामा यात्रुका कारण हवाई सुरक्षामा गम्भीर असर पुग्न सक्छ । सोहीकारण जरिवाना, कैद वा उडानमै रोक लगाउन सक्ने सम्मका कारवाही हुन सक्ने प्रावधान रहेको छ । यस्ता घटनामा गैरसैनिक हवाई ऐन आकर्षित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?