
२४ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीकै काममा केन्द्रित हुन पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । प्रधानमन्त्री उद्घाटन, सम्मेलनमा जाने गरेको भन्दै उनले यति धेरै फुर्सद किन छ भनेर प्रश्न गरे ।
शुक्रबार संसदमा विशेष समय लिएर बोल्दै थापाले प्रधानमन्त्रीको काम हेर्दा अत्मविश्वास नभएको र बढी अलमलमा परेको देखिने बताए । बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रम आएको भन्दै उनले भने, ‘न्यूनतम साझा कार्यक्रमपछि यात्रा सुरु भयो, मेरो लक्ष्य प्रष्ट भयो । जस भए पनि मेरो, अपजस मेरो हो भन्ने आत्मविश्वास प्रधानमन्त्रीमा हुनुपर्छ ।’
यसका लाागि प्रधानमन्त्रीको टिम चाहिने भए पनि आफूले नदेखेको उनले सुनाए । भारत लगायतका देशका प्रधानमन्त्रीको टिमबारे चर्चा गर्दै उनले हाम्रो प्रधानमन्त्रीको कार्यालय हे¥यो भने सजाय पाएकाहरुलाई थन्क्याउने ठाउँ मात्र बनेको बताए ।
‘प्रधानमन्त्रीले सबभन्दा पहिला चुस्त टिम बनाउनुस्’, कांग्रेस महामन्त्री थापाले भने, ‘गठबन्धनका नेताहरुलाई महिनामा १÷२ दिन भेटे हुन्छ, आफ्नो दल चलाउने कुरा त केही समय बिर्सिए पनि हुन्छ । प्रधानमन्त्रीले प्रधानमन्त्री जस्तो भएर दिनरात काममा लगाउनुपर्छ ।’
सरकारले जनतालाई उत्साह र भरोसा दिलाउनुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए । कांग्रेस महामन्त्री थापाले अगाडि भने, ‘मेरो ठाउँबाट हेर्दा प्रधानमन्त्रीलाई अब ६ महिना समय छ । चैत मसान्ततिर न्यूनतम साझा कार्यक्रम आएको छ, असोजसम्मको समय दिनुस् । असोजमा यही संसदमा आउनुस् र न्यूनतम साझा कार्यक्रमको केके काम भयो भनेर बताउनुस् ।’
न्यूनतम साझा कार्यक्रममा उल्लेख भएका विधेयकहरु ल्याउँदा सबै सांसदले सहयोग गर्ने उनले बताए । सार्वजनिक खर्च कटौतीमा निर्मतापूर्वक काम थाल्न र दण्डहीनतालाई प्रश्रय दिन्न भन्ने कामबाट देखाउन पनि प्रधानमन्त्रीलाई आग्रह गरे ।
सरकार सफल होस् भन्ने चाहेको भन्दै महामन्त्री थापाले अगाडि भने, ‘न्यूनतम साझा कार्यक्रम आयो, अब सरकारले एक दिन एक काम भन्ने नाराका साथ प्रत्येक दिन एउटा परिणम ल्याउने कोशिस गरोस् ।’
तर अर्को ५ वर्ष समय खेर फाल्ने सुविधा नभएको भन्दै आफूहरुलाई ‘टेकन फर ग्रान्टेड’का रुपमा नलिन सचेत समेत गराएका छन् ।
‘मत हाल्ने सांसद हुन्, हामीले जे गरेपनि यिनीहरुले थपडी बजाउँछन् भन्ने नठानियोस्’, कुरा गर्ने होइन, परिणाम दिने सरकार चाहिएको भन्दै उनले चेतावनीको भाषामा भने, ‘हामी प्रत्येक दिन सरकारलाई मद्दत गरिरहेका हुन्छौं, हेरिरहेका हुन्छौं, प्रश्न पनि गरिरहेका हुन्छौं ।’
प्रतिक्रिया 4