२५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगर क्षेत्रमा सडक मिचेर राखिएका प्रहरी बिट हटाउन निर्देशन दिएका छन् ।
कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै मेयर साहले ती संरचना आफैं हटाउन निर्देशन दिएका हुन् ।
अहिले महानगरले फुटपाथमा व्यापार गर्न रोकेको र त्यो सर्वसाधारणका लागि मात्रै नभएको बताउँदै प्रहरी बिट पनि हटाउन मेयर साहले भनेका छन् ।
‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला,’ मेयर साहले भनेका छन्, ‘नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’
उनले हटाउनु पर्ने प्रहरी बिटहरू पनि सार्वजनिक गरेका छन् । उनका अनुसार बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि, सामाखुसी, जडीबुटी चोक, सिनामंगल चोक, चुच्चेपाटी चोक, ढल्को, ताम्सीपाखा, रुद्रमतीमार्ग मैतीदेवी, असन चोक, न्यूरोड पिपलबोट, चिकमंगलम, धोवी चोर, देउराली क्लब, रातो पुल, बौद्ध, ताहचल, पेप्सीकोला, त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र माछापोखरीका प्रहरी बिट हटाउनु पर्नेछ ।
दूतावासलगायत विदेशी नियोगका सम्बन्धमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिएको उनले बताएका छन् ।
मेयर साहले कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने स्थापित गर्न सबै तयार हुन अपिलसमेत गरेका छन् ।
महानगरले सुकुमबासी बस्तीमा डोजर चलाउँदा नेपाल सरकार र प्रहरीले असहयोग गरेको मेयर साहको ठम्म्याइ छ । शुक्रबार मात्रै बागमती किनारको सुकमबासी बस्तीमा डोजर लगाउँन खोज्दा महानगर असफल भएको थियो । त्यसकै भोलिपल्ट उनले प्रहरी बिट हटाउन निर्देशन दिएका हुन् ।
आजै बिहान मेयर साहले फेसबुक पेजमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै सरकारको इज्जतसमेत नगर्ने बताएका थिए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4