+
+

थाइल्याण्डमा प्रजातन्त्र फर्काउन जोसिएकी सिनावात्रा, थान्लिन् त बुवा र फुपूको विरासत ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १३:३३

बुवाले सन् २००६ मा सैन्य कूका कारण सत्ता छोड्नुपरेको थियो । त्यसको ८ वर्षपछि फुपूले पनि उस्तै नियति व्यहोर्नुपर्‍यो । थाइल्याण्डमा बुवा र फुपूको विरासत धान्ने लक्ष्य लिएर ३६ वर्षकी पिङतुङआन सिनावात्रा अघि बढेकी छिन् ।

थाइल्याण्डको प्रतिपक्षी दल फुवा थाइले आगामी मेमा हुने चुनावका लागि प्रधानमन्त्रीको तीन दाबेदार मध्ये एक सिनावात्रा रहेको घोषणा गरेको छ ।  त्यस पार्टीबाट श्रेथा थाभिसिन र चाइकासेम नित्सिरी पनि दाबेदार हुन् ।

फुवा थाइको यो निर्णयले चुनावमा युवा उम्मेदवार पिङतुङआन र पूर्व सेना प्रमुख रहेका बहालवाल प्रधानमन्त्री प्रयुत चान व चाबीच रोचक प्रतिस्पर्धा हुने आकलन भइरहेको छ । प्रयुत तीनै हुन् जसले पिङतुङआनकी फूपू यिङ्लक सिनावात्रालाई प्रधानमन्त्रीबाट अपदस्थ गराएका थिए । सन् २०१४ मा जननिर्वाचित यिङलकलाई अपदस्थ गराउँदै  प्रयुतले मुलुकमा सैन्य कानुन लागू भएको घोषणा गरेका थिए ।

जननिर्वाचित सरकारलाई अपदस्थ गराएको विवरण समर्थकहरूलाई स्मरण गराउँदै पिङतुङआनले भनेकी छिन्, ‘हामीले जननिर्वाचित सरकार सैन्य कूका कारण गुमायौं । अबको निर्वाचनबाट हामी फेरि मुलुकमा प्रजातन्त्रको पुनर्स्थापना गर्नेछौं । हामीले धेरै ज्यादती खेप्यौं अब थप खेप्न चाहदैनौं । नागरिकबाट खोसिए खुशी हामी फेरि फिर्ता गर्नेछौं ।’

चुनावबाट सत्तारोहणको लक्ष्य लिएको फुवा थाइले लोकप्रिय कार्यक्रम अघि सारेको छ ।  न्युनतम ज्याला दोब्बर बनाउने, स्वास्थ्य बीमा कार्यक्रम बढाउने र सार्वजनिक यातायातको शुल्कमा छुट दिने त्यस पार्टीका योजना छन् ।

थाइल्याण्डको अर्थतन्त्रलाई गतिशील बनाउने आशा र प्रजातन्त्र पुन:प्राप्तिको अभिलाषा जगाएकाले प्रारम्भिक सर्वेक्षणहरुमा फुवा थाइ अग्रस्थानमा छ ।  सन् २०२० मा प्रजातान्त्रिक पक्षधरका युवाहरूले गरेको आन्दोलनको जगमा मेमा चुनाव हुन लागेको हो । त्यस आन्दोलनले राजा र सेना दुबैको अधिकार  अनपेक्षित रूपमा कटौतीका लागि बाध्य बनाएको थियो ।

थाइल्याण्डमा राजतन्त्र निकै सम्मानित छ । राजालाई कुनै पनि तरिकाले जिस्काइनुलाई गम्भीर अपराध मानिन्छ । युवाहरूको आन्दोलनले परम्परागत यस मान्यतालाई समेत तोड्न सफल भएको थियो ।

थाकसिनकै जगमा अहिले छोरी पिङतुङआन समेत प्रधानमन्त्री बन्ने अपेक्षा गरिएको छ । थाकसिनले आफ्नी छोरीको राजनीतिक सीपबारे प्रशंसा गर्दै उनलाई राम्रो प्रधानमन्त्री बनाउने बताएका छन् । आफ्नो यो अभिलाषामा निकै अंकुश खेप्नुपर्नेमा उनी सचेत देखिन्छन् ।

प्रारम्भिक सर्वेक्षणहरूले फुवा थाइलाई बलियो देखाए पनि चुनावी भिडन्तका लागि धेरै बाधा छन् । जनमत पाए पनि फुवा थाइले आफ्नो सरकार दीगो रूपमा सञ्चालन गर्न सकेको छैन ।

यसवर्ष थाइल्याण्डमा मतदानका लागि ५ करोड २० लाख मतदाता योग्य छन् । उनीहरूले तल्लो सदनमा ५ सय सांसद चयन गर्नेछन् । तर सेना समर्थित सांसदको बाहुल्यता रहेकोमा थिल्लो सदन समेत सरकार निर्माणका लागि निर्णायक हुनेछ । त्यसैले तल्लो सदनमा मत बढाउनैपर्ने चुनौती फुवा थाइलाई छ ।

फुपूको उत्तराधिकारी बन्लिन त पिङतुङआन ?

पिङतुङआन सन् १९८६ मा बैंककमा जन्मिएका हुन् । उनले आफ्नो उच्च शिक्षा बेलायतबाट हासिल गरेकी हुन् । पिङतुङआनमा राजनीतिक अभिलाषा निकै अघि देखि देखापरेको जानकारहरू बताउँछन् । बुवा प्रधानमन्त्री हुँदा उनी बुवासँगै सार्वजनिक कार्यक्रमहरूमा उस्थित हुन्थिन् । ‘उनी धेरैपटक बुवासँग देखापरेकी थिइन् । उनमा बुवा जत्तिकै राजनीतिक चेत छ र अवसर पाए उनले धेरै काम गर्ने संभावना छ,’ राजनीतिक शास्त्रका प्राध्यापक ठिन्टिनान पोङ्सुधिराक भन्छन् ।

थाकसिन सिनावात्राले अघि सारेको स्वास्थ्यसम्बन्धी कार्यक्रम, ऋणमा सहुलित लगायतका कार्यक्रमका कारण सन् २००१ मा फुवा थाइले भारी मत प्राप्त गरेको थियो । उनको अघि सारेको अर्थतनीतिलाई थाक्सिनोमिक्स पनि नामाकरण गरिएको थियो।

थाकसिनले सरकारमा आउने वित्तिकै किसानहरूलाई सहुलियन ऋण दिलाए भने पेट्रोलियम पदार्थमा अनुदान पनि उपलब्ध गराए । देशका सम्भ्रान्तहरूलाई यो कुरा पाच्य भएन । सन् २००६ मा उनीमाथि भ्रष्टाचारको अभियोग लगाइयो । थाकसिनलाई लामै समय जेल चलानको तयारी भएपछि उनी आफैँ निर्वासनमा गए । सन् २००८ मा  थाइल्याण्ड फर्किएका उनी अदालतले फैसला सुनाउनुअघि फेरि निर्वासनमा गए ।

जनतामाझ पार्टीको गहिरो छाप छोडेकै कारण उनकी कान्छी बहिनी यिङलक प्रधानमन्त्री बन्न सफल भएको बताइन्छ । सन् २०११ मा सरकारको नेतृत्व गरेकी यिङलक थाइल्याण्डकी पहिलो महिला प्रधानमन्त्री हुन् । थाकसिनकै जगमा अहिले छोरी पिङतुङआन समेत प्रधानमन्त्री बन्ने अपेक्षा गरिएको छ । थाकसिनले आफ्नी छोरीको राजनीतिक सीपबारे प्रशंसा गर्दै उनलाई राम्रो प्रधानमन्त्री बनाउने बताएका छन् । आफ्नो यो अभिलाषामा निकै अंकुश खेप्नुपर्नेमा उनी सचेत देखिन्छन् । ‘गर्भावस्थामा पनि मेरी छोरीले पार्टीलाई समय दिएकी छिन् । यदि उनी प्रधानमन्त्री भइन् भने म भन्दा पनि राम्रो काम गर्नेछिन्,’ थाकसिनले भनेका छन्।

थाइ मिडियाहरूका अनुसार आफ्ना बुवा र फुपूलाई सत्तामा पुर्‍याउने जनताको जोशलाई आफूले जगाउन सक्ने उनको विश्वास छ । यसको संकेतहरू समेत देखापर्न थालेको मिडियाहरूको समाचार सामग्री छ । २ हजार जनामा गरिएको सर्वेक्षण अनुसार पिङतुङआनलाई नै प्रधानमन्त्रीका रूपमा हेर्न चाहेको बहुमतको जवाफ  छ । ‘उनले मतदाताहरुमा जगाएको आशा निकै लोभलाग्दो छ । युवा भएका उनले युवा मतलाई आफूतर्फ सहजै आकर्षित गर्नेछिन्,’ प्राध्यापक ठिन्टिनान पोङ्सुधिराक भन्छन्।

सिनावात्रा ब्रान्डनै पिङतुङआनको लोकप्रियताको कसी हो । यसको पछि उनका बुवाले गरेका कर्महरू पनि जोडिएको विश्लेषकहरूको मत छ ।

यद्यपी बुवा र फुपूले खेप्नुपरेको नियतीले सिनावात्रा ब्रान्डमाथि खतरा रहेको संकेत गर्ने विश्लेषकहरू बताउँछन् । पिङतुङआनकी फूपू यिङलक सन् २०११ मा प्रधानमन्त्री भएकी थिइन् । उनी यौनिक र दुराचारपूर्ण आक्रमणको शिकार भइन्। यिङलकलाई बारम्बार दाजुमार्फत नियन्त्रित रहेको आरोप लगाइयो । सैनिकलाई कारबाही गरेपछि यिङलकले संवैधानिक अदालतको सामना गर्नुपरेको थियो। त्यस अदालतले प्रधानमन्त्रीले पदीय दुरूपयोग गरेको ठहर गरेपछि सेनाप्रमुख प्रयुतले कू गर्दै मुलुक अब सैन्य शासन अनुसार चल्ने घोषणा गरे । त्यसपछि यिङलक पनि दाजु थाकसिनझैँ आफैँ निर्वासनमा गइन्।

पिङतुङआनका चुनौती

राजनीतिक शास्त्रबारेका लेखक एम सिनपेङका अनुसार पिङतुङआनका अघि धेरै चुनौती छन् । ‘निसन्देह उनका बुवा लोकप्रिय छन् । पार्टी लोकप्रिय छ। तर थाइल्याण्डका युवाहरू ध्रुवीकृत छन् र उनीहरूको विचारधारा निकै प्रगतिशील भइसकेको छ,’ उनले भने ।

पिङतुङआनलाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने सुनिश्चितता नरहेको उनको भनाइ छ । आन्तरिक सुचना अनुसार श्रेथा थाभिसिनले आफूलाई उम्मेदवार बनाउनका लागि पार्टीभित्र बलियो पकड बनाएका छन् । पिङतुङआन गर्भवती भएको हुँदा चुनावी सभामा आउन नपाउने भएकाले पनि असर पर्न सक्ने धेरैको बुझाइ छ। ‘पिङतुङआन चुनावी भिडन्तका लागि तयार छिन् तर उनी सभाहरूमा उपस्थित हुनसक्दिनन्,’ अभियानमा रहेकी एक कार्यकर्ताले भनिन्।

थाइल्याण्डले पिङतुआङमाथि निकै भरोसा गरेको प्राध्यापक ठिन्टिनान पोङ्सुधिराकको भनाइ छ । ‘पिङतुआङले यो चुनाव प्रजातन्त्र फर्काउन र परिवारलाई न्याय गर्नका लागि  लड्दैछिन् । त्यसैले उनलाई बलियो समर्थन प्राप्त हुनसक्छ,’ उनले भने ।

– सीएनएनको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?