+
+

पूर्वी नाकामा कोरोना संक्रमित भित्रिन नदिन उच्च सतर्कता

रासस रासस
२०७९ चैत २६ गते १५:०६
फाइल तस्वीर

२६ चैत, झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड-१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ ।

भारतीय भूमिमा एक साताभन्दा बढी समय बसेर नेपाल फर्किने खोप कार्ड नभएका नेपाली नागरिककोसमेत नाकामा स्वाब परीक्षण अनिवार्य गरिएको यहाँस्थित हेल्थ डेस्ककी ल्याब असिस्टेन्ट रक्षा देउजाले बताए ।

उनका अनुसार हेल्थ डेस्कले विगतदेखि नियमित निगरानी गर्दै आएको भए पनि भारत र नेपालमा कोभिड-१९ को नयाँ भेरियन्टका सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न थालेपछि नाकामा सतर्कता उच्च बनाइएको हो ।

नेपाल प्रवेश गर्ने विदेशी नागरिकको स्वाब परीक्षण र सबै आगन्तुकको सोधपुछ अनिवार्य गरिएको उनले जानकारी दिए । चैत महिनामा यो नाकामा गरिएको स्वाब परीक्षणबाट कसैलाई पनि कोभिड–१९ को सङ्क्रमण देखिएको छैन ।

दुई वर्षअघि स्थापना गरिएको हेल्थ डेस्कमा सात जना कर्मचारी कार्यरत छन् । दैनिक एक सयभन्दा बढीको स्वाब परीक्षण भइरहेको उनले जानकारी दिए ।

दुई महिनाभन्दा बढी भारतमा काम गरेर फर्किएका नेपाली, नेपालका उद्योगमा काम गर्न आउने भारतीय नागरिक र तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई प्राथमिकतामा राखेर दैनिक स्वाब जाँच गरिरहेको उनले बताए ।

भारतमा कोभिड सङ्क्रमण बढेसँगै यहाँ पनि जाँचलाई तीव्र बनाइएको छ । नाकामा कोभिड परीक्षणको चाप बढ्दै गएकाले कर्मचारी अभाव हुने देखिएको छ ।

सीमामा स्वास्थ्य जाँचका लागि कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयबाट एक जना, मेचीनगर नगरपालिकाबाट चार र स्वास्थ्य कार्यालयबाट दुई जना गरी हाल सात कर्मचारीले सेवा दिइरहेका छन् ।

हेल्थ डेस्ककी असिस्टेन्ट देउजाले नगरपालिकालाई थप तीन कर्मचारी पठाइदिन माग गरिएको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?