
२६ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आइतबार त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबलले ३-३ को रोमाञ्चक बराबरी खेलेका छन् ।
दशरथ रंगशालमा भएको खेलमा आर्मीले तीन पटक अग्रता लिएर पनि जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।
आर्मीका लागि जिलेस्पी जंग कार्कीले दुई गोल गरे पनि जिताउन सकेनन् । सातदोबाटोका विलियम असिएडुले ८५औं मिनेटमा गोल गरेपछि खेल ३-३ को बराबरीमा सकियो ।
खेलको चौथो मिनेटमै जिलेस्पीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।
तर जारी लिगमा उत्कृष्ट फर्ममा रहेका दिपक सिह ठकुरीले २५औं मिनेटमा सातदोबाटोका लागि बराबरी गोल फर्काए । लिगमा उनले सर्वाधिक ६ गोल गरिसकेका छन् ।
जिलेस्पीले २८औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो हाफमा २-१ को अग्रता दिलायो ।
तर दोस्रो हाफको तेस्रो मिनेटमै सातदोबाटोका सर्दोरबेकले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्याए ।
५२औं मिनेटमा आर्मीले फेरि अग्रता लियो । यसपटक दिपक गुरुङले गोल गरे ।
तर यो अग्रता आर्मीले अन्तिमतिर जोगाउन सकेन । असिएडुले ८५औं मिनेटमा गोल गर्दै खेल ३-३ को बराबरी गरे ।
बराबरीपछि ७ खेलबाट १३ अंक जोडेको सातदोबाटो तेस्रो स्थानमा उक्लेको छ । आर्मीले भने शीर्ष ६ मा पुग्ने अवसर गुमायो । ७ खेलबाट ९ अंक जोडेको आर्मी आठौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4