+
+

ऋण लिने तर तिर्दिन भन्नेहरूलाई छोड्न हुँदैन : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १७:०८

२६ चैत, काठमडाौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकबाट ऋण लिने तर तिर्दिन भन्नेहरूलाई छोड्न नहुने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन नसकिने बताएका हुन् । ‘हुलहुज्जतको सहन सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताए । अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको उनले बताए ।

‘अर्थतन्त्रमा देखा परेको दबाबलाई कम गर्न लगातार छलफलमा छौं । बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौं । हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौ,’ उनले भने, ‘विदेशी मुद्रा सञ्चितिको दबाबबाट अलि सजिलो महसुस हुँदैछ। अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ ।’

बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्ने सोच रहेको उनले बताए । ‘हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दबाबलाई सकारात्मक दिशामा लैजान सक्छौं’ उनले भने ।

अर्थतन्त्रमा संकट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारण जिम्मेवार रहेको समेत उनले बताए । ‘यसमा भूकम्प, कोभिड-१९, रूस- युक्रेन युद्ध लगायतका कारण छन् । आयात, निर्यात सम्बन्धी विषयहरुमा निर्यातमा भएका सीमाहरूको कारण पनि छ । राजस्व संकलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागेका छौं’ उनले भने । उनले अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?