+
+

चुरोटजत्तिकै हानिकारक हुन्छ गाडीको धुवाँ

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ चैत २७ गते १८:२१

काठमाडौं । सन् २०१३ फेब्रुअरीमा दक्षिण पूर्व लण्डनकी नौ वर्षीया बालिका एला रोबेर्टाको  दमका कारण निधन भयो । उनको घर नजिकको साउथ सर्कुलर सडकमा हुने ट्राफिकका कारण वायु प्रदूषण, विशेषगरी हावामा गाडीको धुवाँको कारण हुने ‘नाइट्रोजन डाइअक्साइड’ को मात्रा निकै उच्च थियो ।

श्वासप्रश्वास रोगका विज्ञ डाक्टर स्टिफेन वायु प्रदूषणले गर्दा एला रोबेर्टाको मृत्यु भएको बताएका थिए । यसरी वायु प्रदूषणको कारण मृत्यु भएको हो भनेर लेखिने एला पहिलो व्यक्ति हुन् ।

डिसेम्बर २०२० मा उच्च अदालतले एलाको मृत्युको कारण वायु प्रदूषण भएको निर्णय गरेको थियो । निर्णयमा मुख्यतया तीन कुरा उल्लेख गरिएको थियो । एला बसेको ठाउँमा वायु प्रदूषण विशेषगरी धुवाँमा हुने ‘नाइट्रोजन डाइअक्साइड’ र ‘पी एम २.५’ मसिना धुलोका कणको मात्रा मापदण्डभन्दा धेरै थियो, जुन स्वास्थ्यका लागि एकदमै हानिकारक छ । वायु प्रदूषण र स्वास्थ्यमा यसको असरबारे जनचेतना निकै कम छ । बिरामीलाई यसबारे पर्याप्त जानकारी दिइँदैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ९९ प्रतिशत मानिस प्रदूषित वायु भएको ठाउँमा बस्छन् । वायु प्रदूषणकै कारणले बर्सेनि ७० लाखको मृत्यु हुन्छ । नेपालमा बर्सेनि ४२ हजार १०० जनाको मृत्यु वायु प्रदूषणको कारण हुन्छ । काठमाडौंमा मात्र पाँच हजारभन्दा बढेको मृत्यु वायु प्रदूषणको कारण हुन्छ ।

वायु प्रदूषणको विभिन्न स्रोतमध्ये गाडीको धुवाँ एउटा प्रमुख स्रोत हो । अहिले बढ्दो सहरी करणले गर्दा गाडीहरूको संख्या बढेको छ । गाडीको संख्या बढेसँगै गाडीबाट निस्कने धुवाँको मात्रा बढेको छ ।

वातावरणविद् भूषण तुलाधर काठमाडौं लगायत सहरी क्षेत्रमा वायु प्रदूषणको प्रमुख कारक सवारीबाट निस्कने धुवाँ नै भएको बताउँछन् । ‘सवारीबाट निस्कने रसायनयुक्त धुवाँ मानव शरीरभित्र सहजै प्रवेश गर्ने भएकाले त्यो बढी हानिकारक हुन्छ,’ उनी भन्छन् ।

सहरी क्षेत्रमा वायु प्रदूषणको प्रमुख कारक सवारीसाधनको धुवाँ हो भने गाउँमा दाउरा तथा गुइँठा बालेर खाना पकाउँदा निस्कने धुवाँ । अन्य धुवाँ धुलो र गाडीबाट निस्कने धुवाँ दुवै उत्तिकै हानिकारक हुन्छ ।

मात्रामा मात्र फरक पर्ने छातीरोग विशेषज्ञ डा. अशेष ढुंगाना बताउँछन् । ‘गाडीबाट निस्कने धुवाँ, आगो बाल्दा निस्कने धुवाँ र कलकारखानाबाट निस्कने धुवाँमा लगभग उस्तै हुन्छ,’ उनी भन्छन् ।

सबै प्रकारको धुवाँमा विभिन्न प्रकारको टक्सिक ग्याँस नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, कार्बन मोनोअक्साइड निस्कन्छ, जसले हाम्रो शरीरमा विभिन्न स्वास्थ्य समस्या निम्ताउने डा. ढुंगाना बताउँछन् ।

वायु प्रदूषणले स्वास्थ्यमा गर्ने अल्पकालीन र दीर्घकालीन असर

प्रदूषित हावाको सम्पर्कमा आउने बित्तिकै साधारण स्वास्थ्य समस्या जस्तै नाक चिलाउने, आँखा चिलाउने, खोकी लाग्ने, छातीसम्बन्धी संक्रमणको जोखिम बढ्ने र ब्रोन्काइटिस जस्तो अल्पकालीन असर देखा पर्छ । हावामा हुने धुवाँ र मसिना धुलोका कणले रोगप्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ ।

लामो समयसम्म प्रदूषित हावामा सास फेरेका मानिसहरूलाई सीओपीडी लगायत दम रोगको समस्या, आस्थामा दम भएका मानिसलाई पटकपटक आस्थामा बिग्रिने समस्या,  फोक्सो क्यान्सरको समस्या र मुटुको रक्त धमनी समस्याको जोखिम निम्त्याउन सक्ने डा. ढुंगाना बताउँछन् ।

सहरी क्षेत्रमा मात्र होइन, गाउँमा पनि वायु प्रदूषण

हाम्रो देशको सन्दर्भमा सहर मात्र होइन, गाउँ पनि त्यत्तिकै प्रदूषित छ । सहरी क्षेत्रमा गाडीको संख्या बढी भएकाले काठमाडौं जस्ता सहर बढी प्रदूषित छन् भन्ने भनिन्थ्यो । तर पछिल्लो समय औद्योगिकीकरण भइरहेका साना सहरहरूमा पनि ठूला सहरभन्दा बढी प्रदूषण देखिएको डा. ढुंगाना बताउँछन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको ६६ लाख ६० हजार ६४१ परिवारमध्ये ५१ प्रतिशतले खाना पकाउन अक्सर काठ दाउरा प्रयोग गर्छन् । यसरी आगो बालेर खाना पकाउँदा निस्कने प्रदूषित धुवाँ मिसिएको हावामा विशेषगरी गृहिणी तथा बालबालिकाहरू सास फेर्छन् । दूरदराजका गाउँमा चिसो ठाउँमा आगो बालेर घरभित्र झ्याल ढोका थुनेर बस्ने चलन पनि छ ।

त्यसरी बस्ने मानिस जो बाह्य वायु प्रदूषणको सम्पर्कमा आएका छैनन्, उनीहरूमा आन्तरिक वायु प्रदूषणको कारण दीर्घ दमरोग र मुटुसम्बन्धी रोग भएको पाइएको डा. ढुंगाना बताउँछन् ।

वायु प्रदूषण चुरोटभन्दा हानिकारक

केही वर्षअघि सीओपीडी दम तथा फोक्सोको क्यान्सरको समस्या लामो समय धूम्रपान गर्ने मानिसलाई मात्र हुन्छ भन्ने सोच थियो । तर पछिल्लो समय जीवनमा कहिल्यै धुम्रपान नगरेका र कम उमेरका व्यक्ति पनि सीओपीडी दम र फोक्सोको क्यान्सरको समस्या लिएर अस्पताल आउने गरेको डा. ढुंगाना बताउँछन् ।

‘धूम्रपान नगर्ने मान्छेमा फोक्सो तथा अन्य क्यान्सर र मुटुसम्बन्धी समस्या देखिन थालेको छ । यसमा वायु प्रदूषणले मुख्य भूमिका खेलेको छ,’ उनी भन्छन् ।

जोखिम कसरी कम गर्ने ?

धुवाँ तथा धुलोको कारण हुने स्वास्थ्य समस्याबाट बच्न व्यक्तिगत रूपमा मास्कको प्रयोग गर्ने र धेरै प्रदूषण हुने ठाउँमा नजाने गर्न सकिन्छ । तर प्रदूषणबाट बच्नु मात्र जोखिम कम गर्ने उपाय नभएको वातावरणविद् तुलाधर बताउँछन् । ‘वातावरण प्रदूषण रोक्न सरकारबाट नै नीति नियम बन्नुपर्छ,’ उनी भन्छन् ।

नीति नियम तहबाटै हावालाई स्वच्छ राख्न गाडीको प्रदूषण कम गर्ने उपाय खोज्ने, डढेलो नियन्त्रण गर्ने उपाय खोज्ने, फोहोर जलाउन निषेध गर्ने, घरभित्रको वायु प्रदूषण कम गर्न सुधारिएको चुलो तथा विद्युतीय चुलो प्रवर्द्धनको कार्य गर्नुपर्ने तुलाधर सुझाउँछन् ।

धेरै मसिनो धुलोको कण र धुवाँलाई मास्कले पनि छेक्न सक्दैन । जबसम्म हावालाई शुद्ध पार्न सक्दैनौं, तबसम्म प्रदूषणबाट हुने जोखिमलाई कम गर्न नसकिने डा. ढुंगाना बताउँछन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?