+
+
खेलकुद वर्ष समीक्षा :

फुटबलमा अत्यासलाग्दो खेलाडी पलायन, क्रिकेटमा अविश्वसनीय खुसी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते ९:४३

कोरोना महामारीको असर कम हुँदै जाँदा वर्ष २०७९ को सुरुवातदेखि नै खेलकुद गतिविधिले तीव्रता पाएको थियो । मैदानभित्रको प्रदर्शन र बाहिरको राजनीतिक घटनाक्रम वर्षभरि नै समाचारको हेडलाइन बने ।

गैरव्यावसायिक खेल गतिविधि हुने नेपालमा अधिकांश खेलहरु सरकारी कार्यक्रममा निर्भर छन् । सरकारले बजेट दिए वा कार्यक्रम दिए यिनीहरु चलायमान हुन्छन् । नत्र चुपचाप । अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष पनि नेपालमा सबैभन्दा लोकप्रिय दुई खेल फुटबल र क्रिकेट गतिविधि नै धेरै चर्चामा रहे ।

घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता नवौं राष्ट्रिय खेलकुद १७२ स्वर्णसहित त्रिभुवन आर्मी क्लबलाई च्याम्पियन बनाउँदै सम्पन्न भयो ।

२८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशमा आयोजित प्रतियोगितामा ३५ खेलको ३९७ स्वर्णका लागि सात प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली संघ -एनआरएनए)का ६ हजारबढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तीन वर्षको अन्तरालमा भएको राष्ट्रिय खेलकुदको दशौं संस्करण २०८१ मंसिरमा कणर्ाली प्रदेशमा आयोजना हुने घोषणा भइसकेको छ ।

क्रिकेटमा विवाद र ‘चमत्कार’को वर्ष

क्रिकेटलाई सम्भावनाको खेल पनि भनिन्छ । वर्ष २०७९ नेपाली क्रिकेट मैदान भित्र र बाहिर पनि असम्भव झैं लाग्ने र अप्रत्यासित घटनाक्रमबाट गुजि्रयो । वर्षभर अघिकांश समय मैदानभित्र हारको शृंखला र बाहिर नाकारात्मक टिप्पणीबाट गुज्रिएको नेपाल क्रिकेट वर्षको अन्त्यतिर एउटा अभूतपूर्व लयसहित सकारात्मक उर्जाको सञ्चार गर्न सफल भएको छ ।

प्रमुख प्रशिक्षक तीनपल्ट फेरिनु, दुई कप्तान परिवर्तन हुनु र एकदिवसीय मान्यतामा कायम रहने प्रमुख आधारका रुपमा रहेको आईसीसी क्रिकेट विश्वकप लिग टूमा कमजोर अवस्था यो वर्ष नेपाल क्रिकेट टिमको नियति थियो ।

सात एशोसिएट टिमबीच सन् २०१९ देखि सुरु भएको तीनवर्षे शृंखला कोरोना महामारीका कारण केही समय लम्बियो । लामो शृंखलामा एउटा टिमले ९ त्रिकोणात्मक शृंखलामा ३६ खेल खेल्नुपर्ने थियो । वर्ष २०७९ मा नेपालले लिग टूका ६ शृंखलामा २४ खेल खेल्यो । जेठ-असारमा अमेरिका र ओमानसँग अमेरिकामा खेलेको नेपालले असार-साउनमा नामिबिया र स्कटल्याण्डसँग स्कटल्याण्डमा शृंखला खेल्यो । मंसिरमा नामिबिया र स्कटल्याण्डसँगै नामिबियामा शृंखला खेलेको थियो ।

यी तीन शृंखलापछि नेपाल २४ खेलबाट ८ जितसहित १८ अंक बटुल्दै सात टोली सम्मिलित अंकतालिकाको छैटौं स्थानमा थियो । नेपालले अमेरिकाको शृंखलामा चार खेलमध्ये एक जित र एक बराबरी, स्कटल्याण्डको शृंखलामा ३ हार, १ जित तथा नामिबियाको शृंखलामा ३ हारको नतिजा निकालेको थियो । एक खेल वषर्ाले स्थगित भएपछि अंक बाँड्यो ।

यसबीचमा दुईजना प्रशिक्षक फेरिइसकेका थिए । भदौमा बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएका सन्दीप लामिछाने असोजमा पक्राउ परेपछि टिमको कप्तान पनि परिवर्तन भइसकेको थियो । अमेरिका र स्कटल्याण्डको शृंखलामा कमजोर प्रदर्शनपछि पुवुदु दासानायकेले साउनमा राजीनामा दिएपछि सोही महिनाको अन्तिममा भारतका मनोज प्रभाकर प्रशिक्षक बनेर आएका थिए । भदौमा केन्यासँगको पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखला र कात्तिक अन्तिम यूएईसँगको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला जिताए पनि नामिबियामा लिग टू शृंखलामा कमजोर प्रदर्शनपछि उनले पनि राजीनामा दिए ।

लिग टूमा कमजोर अवस्थामा पुगेको नेपालका लागि बाँकी तीन शृंखला एकदिवशीय मान्यता जोगाइराख्न गर या मरको स्थितिमा पुग्यो । २ फागुनदेखि २ चैतसम्म तीन शृंखलाका १२ खेलको तालिका आउँदासम्म पनि प्रशिक्षकको टुंगो लागेको थिएन । नेपाल क्रिकेट संघ क्यानले खुला प्रतिस्पर्धामार्फत २३ माघमा प्रमुख प्रशिक्षक नियुक्त गर्नुअघि १४ माघदेखि नै मोन्टी देशाईले प्रशिक्षण सुरु गरिसकेका थिए ।

एकदिवसीय मान्यता जोगाइराख्न नेपालले बाँकी १२ मध्ये कम्तिमा ९ खेल जित्नैपर्ने समीकरण बनेको थियो । त्योभन्दा धेरै जितले विश्वकप छनोटमा सोझै पुर्‍याउन पनि सक्थ्यो । २ फागुनमा नामिबियामाथि २ विकेटको जितसहित सुरु भएको नेपालको निर्णायक यात्रा एक अविश्वसनीय सफलतामा पुगेर टुंगियो ।

२-९ फागुनसम्म नेपालले नामिबिया र स्कटल्याण्डमाथि शतप्रतिशत जित निकाल्यो । १५-२२ फागुनमा यूएई र पपुवा न्युगिनीसँग दुवईमा खेलेको त्रिकोणात्मक शृंखलामा नेपालले ३ खेल जित्यो । दुई शृंखलामा ८ मध्ये ७ जितले नेपाललाई एकदिवसीय मान्यता कायम राख्ने अभियानमा महत्वपूर्ण सफलता दियो ।

दुवईमा खेलेकै टोलीहरुसँग घरेलु मैदानमा शतप्रतिशत जितपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता अर्को चार वर्षका लागि सुरक्षित गर्‍यो भने जिम्बावेमा असारमा हुने एकदिवसीय विश्वकप ग्लोवल क्वालिफायरमासमेत पुर्‍यायो ।

नेपालले वर्ष २०७९ मा लिग टू अन्तर्गत २४ र यूएईसँग ३ गरी २७ एकदिवसीय अन्तर्राष्टि खेल खेलेको छ । लिग टूका २४ मध्ये १३ जित, ९ हार, १ बराबरीको नतिजा निकालेको छ भने १ खेल वषर्ाले रद्ध भएपछि अंक बाँडिएको थियो । मंसिरमा यूएईसँगको शृंखला नेपालले २-१ ले जितेको थियो । यो वर्ष घरेलु मैदानमा नेपालले ११ खेल खेल्दा १ खेलमात्र हारेको छ ।

वर्षको अन्त्यतिर सिनियर टिमले जस्तै नेपालको यू-१९ टिमले पनि विश्वकपका लागि एसियाली छनोट जितेर अभूतपूर्व प्रदर्शन गर्न सक्यो । यूएई, सिंगापुर, हङकङ, मलेसिया र कुवेत सम्मिलित प्रतियोगितामा अपराजित रहँदै नेपाल टिम च्याम्पियन बन्यो र अर्को वर्ष श्रीलंकामा हुने यू-२० विश्वकपका लागि छानियो । नेपालले सन् २०१६ पछि पहिलोपल्ट उमेरसमूहको विश्वकप खेल्न लागेको हो ।

नेपाल टी-२० लिगले क्यान बदनाम

वर्षको सुरुमै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालमाथिको प्रतिबन्ध पूर्ण फुकुवा गर्‍यो । आईसीसीले क्यान कार्यसमितिको कामको प्रशंशासमेत गरेको थियो । तर, नेपाल टी-२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारका रुपमा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई आयोजना अधिकार सुम्पिएर क्यानले आफ्नो सुधारोन्मुख छविलाई पुनः धमिल्यायो ।

पटक पटक सरेर ९-२७ पुसमा सञ्चालित प्रतियोगिता मुस्किलले सम्पन्न भयो । लुम्बिनी अल स्टार्सले प्रतियोगिताको उपाधि जिते पनि यो प्रतियोगितामा खेल, नतिजा र प्रदर्शनभन्दा पनि अनलाइन बेटिङ र स्पट फिक्सिङको चर्चा धेरै भयो । बेटिङ र स्पट फिक्सिङमा सञ्चालन अधिकार पाएको सेभेन थ्री स्पोर्टसका जतिन अहुवालियानै संग्लग्न रहेको पाइएपछि यो प्रतियोगिता त्यसकै लागि सञ्चालन गरिएको थियो कि भन्ने आशंकालाई बल पुग्यो । नेपालका कीर्तिमानी खेलाडी मेहबुब आलम र उदीयमान खेलाडी मोहम्मद आदिल आलम स्पट फिक्सिङ प्रकरणमा गिरफ्तार भए । उनीहरु ३ लाख धरौटी बुझाएर छुटेका छन् ।

क्यानले साझेदार छनोट गर्न आफूहरु चुकेको स्वीकारेको छ । फिक्सिङ र बेटिङको घटनामा आईसीसीले समेत चासो दिन थालेपछि सेभेन थ्रीका मालिक अहुवालियासहित सबै प्रतिनिधिहरु प्रतियोगिताको बीचैमा भारत भागेका थिए । यो कम्पनीले प्रतियोगिताको पुरस्कारबापतको १ करोड २५ लाख र क्यानलाई बुझाउनुपर्ने ३ करोड ९० लाखमध्ये १ करोड ७० लाख रुपैयाँ अहिलेसम्म भुक्तानी गरेको छैन । लुम्बिनी अलस्टार्सबाहेक अन्य प|mेञ्चाइज टिमले अहिलेसम्म खेलाडीलाई सबै पारिश्रमिक भुक्तानी गरेका छैनन् ।

लथालिंग अवस्थाका बीच प्रतियोगिता समाप्त गरेको क्यानले सेभेन थ्रीसँगको ८ वर्षे सम्झौता भंग गर्ने चरणमा पुगेको छ । त्यसो त प्रतियोगितालगत्तै सेभेन थ्रीले एकतर्फी रुपमा सम्झौता भंग गरेको जानकारी दिएको थियो । फागुन १५ मा सुर्खेतमा बसेको क्यानको साधारणसभाले सम्झौता भंग गर्ने अघिकार कार्यसमितिलाई दिएको छ ।

सन्दीप लामिछानेमाथिको बलात्कार अभियोग

राष्ट्रिय टिमका कप्तान तथा प्रमुख खेलाडी सन्दीप लामिछानेले बलात्कार गरेको भन्दै एक किशोरीले भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिइन् । भदौ ६ गते गौशालाकै एक होटलमा बलात्कार गरेको आरोप लागेको समयमा सन्दीप भने क्यारेवियन पि्रमियर लिगका लागि वेष्ट इण्डिजमा थिए । एक महिनापछि स्वदेश फर्केका उनी २० असोजमा विमानस्थलबाट पक्राउ परेका हुन् ।

कात्तिकमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाए पनि पुस २९ गते उच्च अदालत पाटनको आदेशमा सशर्त रिहा भए । १७ माघमा क्यान कार्यसमितिले सन्दीपको निलम्बन फुकुवा गरी राष्ट्रिय टिमको प्रशिक्षणमा बोलायो । मंसिरमा यूएईसँगको शृंखलाअघि क्यानले रोहितकुमार पौडेललाई कप्तान नियुक्त गरेको हो ।

फुटबलमा कहालीलाग्दो पलायन

सिनियर खेलाडीहरुको लगातार विदेश पलायन पछि नयाँ प्रशिक्षक र युवा टिमले पनि जीत निकाल्दा नेपाली फुटबलमा थोरै भएपनि राहत दिएको छ

वर्ष २०७९ को सुरुमै अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्व परिवर्तन भयो । तत्कालीन अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पराजित गरी निर्वाचित भएको पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिबाट धेरै अपेक्षा थियो ।

तर, निर्वाचन भएको एक महिना पनि नवित्दै कार्यसमितिमा मतभेद सुरु भयो । महासचिव, कोषाध्यक्षदेखि सीईओ र विदेश विभाग प्रमुखसम्मको नियुक्तिमा स्वार्थ समूहको खिचातानीको असर नेपाल फुटबलमा देख्न सुरु भइसकेको छ । कार्यसमितिमा अध्यक्ष नेम्वाङलाई बहुमत पुर्‍याउन धौ-धौ पर्न थालेको धेरै भइसक्यो ।

पारदर्शीता, नियमित प्रतियोगितालगायतको नारा पास गरी निर्वाचित भएका नेम्वाङले घरेलु फुटबलको मेरुदण्डका रुपमा रहने शहीद स्मारक ए डिभिजन लिग समयमै सञ्चालन गर्न सकेनन् । सीमित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाहेक पुरुष टिमको उल्लेखनीय प्रदर्शन रहेन । वर्षको अन्त्यतिर लाओस र भुटान बोलाएर त्रिदेशीय प्रतियोगिता जितेको नेपालको प्रदर्शन भने खस्किस्को देखियो । इटलीका प्रशिक्षक भिन्सेन्ट अल्वर्टो एनेसले कार्यकाल सुरु गरेपछि पहिलो प्रतियोगिता खेलेको नेपाल इतिहासमा पहिलोपल्ट भुटानसँग बराबरीमा रोकियो । राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि भदौयता प्रमुख प्रशिक्षक पद खाली थियो ।

फुटबल गतिविधि नहुँदा जीवन धान्न कठिन हुँदै गएपछि राष्ट्रिय खेलाडीको कहाललाग्दो पलायनबाट नेपाल फुटबल प्रताडित छ । त्यसको असर हालै सम्पन्न त्रिदेशीय प्रतियोगितामा मात्र होइन जारी ए डिभिजन लिगमा पनि देखिएको छ । १९ फागुनदेखि सुरु भएको ए डिभिजन लिग जेठ अन्तिमसम्म चल्नेछ । यति थोरै समयमा डवल लिगका खेलहरु सञ्चालन हुँदा खेलको गुणस्तर र खेलाडीको सुरक्षामा एन्फा संवेदनशील नभएको आरोप लागेको छ । नेम्वाङले आफ्नो चुनावी नारा बनाएको राष्ट्रिय लिग यो वर्ष सञ्चालन गर्नै सकेनन् ।

नेपाल सुपर लिगको अक्सन गरेर पनि आयोजना हुन नसक्नु, ए डिभिजन लिग समयमा हुन नसक्नु जस्ता कारणले गर्दा खेलाडीहरु विदेश पलायन भए । वर्षको सुरुतिर आशिष लामा सुमन लामा दर्शन गुरुङ र सन्तोष तामाङ अष्ट्रेलिया गएदेखि यसै महिना अस्ट्रेलिया पुगेका सुजल श्रेष्ठ विशाल राई, सुनील बल, सरोज दाहाल रन्जित धिमालसम्म आइपुग्दा पलायन रोकिएन ।

राष्ट्रिय टिमबाट खेलिसकेका एउटा सिंगै टिम पुग्ने खेलाडीसहित करिब ४० को हाराहारीमा खेलाडी विदेशीए । यो क्रम अझै रोकिएको छैन ।

सिनियर खेलाडी पलायनपछि तयार भएको नेपाली राष्ट्रिय फुटबल टोली ।

नेपालमै भएको महिला साफ च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेको नेपाल यस पटक पनि उपविजेतामै सिमित भयो । साउथ एसियाको बलियो टिम भारतलाई सेमिफाइनलमै पराजित गरेपनि फाइनलमा भने नेपाल बंगलादेशसँग पराजित भयो । यस पटक घरेलु मैदानमै उपाधि जित्ने अवसर रहेपनि नेपालको लक्ष्य पूरा हुन सकेन ।

महिला टोलीले यस वर्ष साफबाहेक भारतसँग दुई मैत्रीपूर्ण खेल र पेरिस ओलम्पिकको एसियन छनोटमा भियतनामसँग दुई खेल खेल्यो । भारतलाई दुवै खेलमा बराबरीमा रोकेको नेपालले ओलम्पिकको पहिलो चरण छनोटमा भियतनामसँग घरेलु मैदानमा दुवै खेलमा पराजित भयो ।

उमेर समूहमा नेपालको पुरुष र महिला दुवै टोलीले यस वर्ष साउथ एसिया देखि एसियन छनोटसम्म खेले । तर पुरुष टोलीको प्रदर्शन अझ कमजोर हुँदै गएको छ । उमेर समूहमा महिला टिमले बंगलादेशमा भएको यू-१५ साफ महिला च्याम्पियनसिपको उपाधि जित्नु नै नेपालको लागि ठूलो सफलता बन्यो । यू-२० महिला एसियन कप छनोटमा भने नेपालले पहिलो चरण पार गर्दै दोस्रो चरणमा स्थान बनाएको छ ।

अघिल्लो वर्ष नै सुरु भएको महिला राष्ट्रिय लिगको दोस्रो चरणको खेल यस वर्ष सुरु हुन सकेन र एन्फाको नालायकी पन यसमा पनि देखियो । पहिलो चरणमा गरेको प्रदर्शनकै आधारमा विजेता घोषणा गरियो र दोस्रो चरण खेलाइएन । यसको असर महिलाको राष्ट्रिय टिमको प्रदर्शनमा देखियो । भारत बाहेक अन्य देशसँग नेपालले खेल्न सकेन र सिनियर खेलाडीहरुको लगातार विदेश पलायन पछि नयाँ प्रशिक्षक र युवा टिमले जितेको यो उपाधिले नेपाली फुटबलमा थोरै भएपनि राहत दिएको छ । आगामी जुन-जुलाईमा भारतमा हुने साफ च्याम्पियनसिपका लागि तयारीको रुपमा पनि रहृयो । हुन त ए डिभिजन लिग सकिने बित्तिकै साफ हुने भएकोले नेपालले लिगकै प्रदर्शनको आधारमा टिम छान्नुपर्ने हुनसक्छ ।

यसअघि नेपालले घरेलु मैदानमा बंगलादेश र पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै जित हात पारेको थियो । अन्जन विष्टले बंगलादेशविरुद्ध करियरको पहिलो हृयाट्रिक गरे । पाकिस्तानविरुद्ध पनि अन्जनै गोलमा नेपाल विजयी भयो ।

अन्जनले आई लिगमा मुम्बई केन्क्रेमा अनुबन्ध भएर खेल्दै अर्को व्यक्तिगत उपलब्धि हासिल गरे । गोलकिपर कप्तान किरणकुमार लिम्बुले फेरि एक पटक राउण्डग्लास पञ्जावका लागि खेल्दै आई लिग जिते र अर्को सिनजको इन्डियन सुपर लिग आईएसएलका लागि छनोट गराउन मद्दत गरे ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?