+
+

कहालीलाग्दो फुटबलर पलायन, बिग्रिन सक्छ राष्ट्रिय टिमको सन्तुलन

पछिल्लो एक वर्षमा मात्र दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिशेक रिजाल र रेजिन सुब्बा लगायतका ३५ भन्दा बढी खेलाडी विदेशिएका छन् । सिनियर टिमको ब्याकअप मानिएको एउटा पुस्ताकै पलायनले राष्ट्रिय टिमको सन्तुलनमा नै असर पर्ने अवस्था आइसकेको छ ।

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ माघ ५ गते २२:०६
अष्ट्रेलिया उड्नुअघि दिनेश र तेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

४ माघ, काठमाडौं । राष्ट्रिय टिमका नियमित डिफेण्डर दिनेश राजवंशी र मिडफिल्डर तेज तामाङले ए डिभिजन लिगका लागि नवप्रवेशी टिम चर्च ब्वाइजसँग सम्झौता गरिसकेका थिए । पछिल्लो ४/५ वर्षदेखि राष्ट्रिय टिमबाट खेल्दै आएका दुबैलाई मनाङ मर्स्याङ्दीबाट आफूमा ल्याउन चर्च ब्वाइजले मासिक १ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक दिने सहमति गरेको थियो । तर क्लबले सार्वजनिक गर्न नपाउँदै दुबै फुटबलर मंगलबार अष्ट्रेलिया उडेका छन् ।

त्यही दिन डिफेण्डर गौतम श्रेष्ठ पनि अष्ट्रेलिया उडे । भोलिपल्ट मिडफिल्डर नितिन थापा र स्ट्राइकर रञ्जन विष्टले पनि नेपाल छाडे । डिफेण्डर गौतमले संकटा र नितिनले ए डिभिजन लिगको नवप्रवेशी एफसी खुमलटारसँग सम्झौता गरिसकेका थिए । गत सिजन न्यूरोड टिम (एनआरटी)बाट लिग खेलेका रञ्जनले आसन्न लिगका लागि सम्झौता गरिसकेका थिएनन् ।

पछिल्लो समय नेपाली फुटबलरहरु विदेशिने क्रम बढ्दो छ । एक वर्षमा मात्र ३५ भन्दा बढी खेलाडी विदेशिएका छन् । करिव ३ दशकदेखि नेपाली फुटबललाई नजिकबाट हेरिरहेका सञ्जीव मिश्र खेलाडी पलायनको यस्तो डरलाग्दो स्थिति यसअघि नदेखेको बताउँछन् ।

‘नेपालको फुटबलमा अनियमित गतिविधि हुने परम्परा नयाँ होइन । विगतका वर्षहरुमा पनि यसरी नै चलेको हो’, मिश्र भन्छन्, ‘तर यसपल्ट उम्दा करिअर छाडेर खेलाडी गइरहेका छन् । उनीहरु किन विदेशिरहेछन् भनेर केही बुझ्नै सकेको छैन ।’

७ वर्षअघि करिअरको उत्कर्षमा रहँदाकै समयमा जगजित श्रेष्ठ अष्ट्रेलिया पुगेका थिए । त्यसपछि शुलभ मास्के, हेमन गुरुङ, एलन न्यौपानेहरु पनि अस्ट्रेलिया हानिए । पछिल्लो वर्ष भने अस्ट्रेलिया जान खेलाडीको लर्को नै लागेको छ ।

यसरी विदेशिने खेलाडीहरुको सूचीमा उमेर समूहको राष्ट्रिय टिमबाट खेलेका र सिनियर टिमबाटै अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडीहरुको बाहुल्य छ । डिसेम्बर २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको प्रतिनिधित्व गरेका यू–२३ टिमका २० मध्ये ८ जना अहिले अस्ट्रेलियामा छन् ।

सागमा स्वर्ण विजेता टिमका दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ र अभिषेक रिजाल  हाल नेपालमा छैनन् । उनीहरु राष्ट्रिय टिमकै मुख्य ब्याकअप थिए । कतिपयले त राष्ट्रिय टिमबाट खेल्नै थालिसकेका थिए ।

सुमन लामा, आशिष लामा, दर्शन गुरुङ, सन्जोक राई पनि अहिले नेपालमा छैनन् । दर्शन त यस्तो बेलामा अष्ट्रेलिया उडेका थिए, जतिबेला ४० वर्षपछि कुवेतविरुद्ध गोल गरेका कारण उनको वाहवाही भइरहेको थियो ।

२८ जेठमा कुवेतमा भएको खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका दर्शनले गोल गरेका थिए । ४० वर्षपछि कुवेतविरुद्ध गोल गर्ने खेलाडीको परिचय बनाएका उनी असारमा अष्ट्रेलिया लागे । सन् २०२० मा बंगलादेशसँगको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका दर्शनले ७ क्याप जितेका छन् ।

सन् २०१६ मा श्रीलंकाविरुद्ध राष्ट्रिय टिमबाट डेब्यू गरेका सुमन लामा (२२ क्याप), २०१८ मा पाकिस्तानविरुद्ध डेब्यू गरेका सुमन अर्याल (२६ क्याप), यमनविरुद्धको खेलमा डेब्यू गरेका दिनेश राजवंशी (२४ क्याप), २०१९ मा मलेसियाविरुद्धको खेलमा डेब्यू गरेका अभिषेक रिजाल (१२ क्याप) र तेज तामाङ (२४ क्याप), कुवेतविरुद्धको खेलमा डेब्यू गरेका सन्तोष तामाङ (१६ क्याप) र आशिष लामा (६ क्याप) लाई राष्ट्रिय टिमको भविष्यका रुपमा हेरिएको थियो ।

२०७८ जेठदेखि २०७९ भदौसम्म नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५ खेलाडीलाई सिनियर टिमबाट डेब्यू गराएका थिए । यसबीचमा नेपालले प्रतियोगिता र मैत्रीपूर्ण गरी २० खेल खेलेको थियो । यस अवधिमा मौका पाएका गौतम श्रेष्ठ, आकाश बुढामगर, शिव गुरुङ र राजन गुरुङले नेपालमा भविष्य देखेनन् । लेफ्ट ब्याक गौतमले सबैभन्दा धेरै १६ क्याप जितेका छन् । अहिले उनीहरु सबै अस्ट्रेलियामा छन् ।

अहिले नेपालको राष्ट्रिय टिमबाट नियमित खेलिरहेका विशाल श्रेष्ठ, रोहित चन्द, किरण चेम्जोङ, सुजल श्रेष्ठ लगायतका खेलाडीहरु करिअरको उत्तरार्धतिर छन् । उनीहरुलाई प्रतिस्थापन गर्नेसक्ने क्षमता भएका खेलाडीहरु विदेशिँदा राष्ट्रिय टिमसँगै क्लब फुटबलको सन्तुलनमा असर पर्न थालेको छ ।

वर्षौंको लगानीबाट तयार भएको एउटा पुस्ता बाहिरिँदा अन्तर्राष्ट्रिय टिम निर्माणमा संकट आउन सक्ने प्रशिक्षक मेघराज केसी बताउँछन् । नेपालको यू–२० टिमका प्रशिक्षक केसीले अनलाइनखबरसँग भने, ‘देशभित्र मात्र फुटबल खेल्ने हो भने त उनीहरुको स्थान अर्को खेलाडीले लेलान् । हामी विदेशमा पनि खेल्ने हो भने एउटा ठूलो भ्याकुमको अवस्था बनिसकेको छ ।’

खेलाडी पलायनको यो डरलाग्दो तथ्यांकको विश्लेषणअघि पछिल्लो तीन वर्षमा नेपाली फुटबलमा के भयो हेर्नुपर्ने उनी बताउँछन् । २०७६ असोजदेखि पुस महिनासम्म ए डिभिजन लिग सञ्चालनमा थियो । माघ र फागुन महिनामा नकआउट फुटबल सञ्चालन भयो । चैतदेखि कोरोना महामारीका कारण लगडाउन सुरु भयो । अर्को वर्ष लिग नै आयोजना हुन सकेन ।

अखिल नेपाल फुटबल संघ एन्फाले २०७७ चैतदेखि राष्ट्रिय लिग आयोजना गर्ने निर्णय गरे पनि कार्यान्वयन भएन । एकैपल्ट २०७८ मंसिर ३ देखि फागुन १४ गतेसम्म शहीद स्मारक ए डिभिजन लिग आयोजना भयो । लिगपछि २०७९ वैशाखसम्म मोफसलका नकआउट प्रतियोगितामा खेलाडी व्यस्त रहे । वर्षा सुरु भएसँगै सिजन सकियो । एकैपल्ट १५ पुसदेखि नयाँ सिजन सुरु भयो ।

पछिल्लो तीन वर्ष (२०७६ माघदेखि २०७९ माघसम्म) नेपालमा सक्रिय फुटबल गतिविधि भएको समय हिसाब गर्ने हो भने जम्माजम्मी १० महिना मात्र खेलाडी व्यस्त हुन्छन् । गैरव्यवसायिक फुटबल गतिविधि हुने नेपालमा क्लबहरुले फुटबल नहुँदा खेलाडीलाई पारिश्रमिक दिने गरेका छैनन् ।

‘बाँच्न र परिवार पाल्न नसक्ने अवस्था भएपछि सोच्नैपर्ने हुन्छ । खेल्न नपाएपछि विकल्प सोच्नु उनीहरुको अधिकार हो’, प्रशिक्षक केसीले भने, ‘यस्तै भइरहने हो भने नेपालमा फुटबल खेलाडी शून्यमा झर्यो भने आश्चर्य नमाने हुन्छ ।’

भूकम्पपछि फुटबल गतिविधि ठप्प हुँदा विदेशिने निर्णय गरेका फुटबलर जगजित श्रेष्ठको पनि तर्क त्यही छ । ‘आधारभूत आवश्यकता पूरा भएपछि मात्र मान्छेले करिअर हेर्ने हो’, अस्ट्रेलियामा रहेका जगजितले अनलाइनखबरसँग भने, ‘खेल्न पाउँदैन । नियमित र एउटै समयमा फुटबल क्यालेन्डर छैन । दिनदिनै महंगी बढेको छ, आवश्यकता पूरा गर्न सक्दैन भने उसले गर्ने त यही हो नि ।’

संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर खेलाडी पलायनलाई उनीहरुकै नजरबाट हेर्नुपर्ने आवश्यकता देख्छन् । ‘त्यहाँको जीवनशैली, सामाजिक सुरक्षा सबै नेपालमा भन्दा राम्रो छ । खेलाडीहरुले केही समयअघि त्यहीँ पुगेर देखेका थिए । उनीहरुले भविष्य उतै देखे’, तुलाधरले थपे, ‘अस्ट्रेलियाले इमिग्रेसनको नियम सजिलो बनाउँदा पनि सहज भएको हुनसक्छ ।’

अधिकांश नेपाली खेलाडीहरु सबक्लास–४०० भिसामार्फत अस्ट्रेलिया पुग्ने गरेका छन् । यो भनेको विशेष प्रकृतिका क्षमतावान जनशक्तिलाई दिइने अल्पकालीन कामदार अनुमति हो । यो भिसामा अस्ट्रेलिया जानेहरुले आवेदन दिँदा पेश गरेको कामभन्दा अरु काम गर्न पाउँदैनन् ।

तर, अस्ट्रेलियाको अध्यागमन नीति अनुसार यसरी आउनेहरुले भिसा परिवर्तन गरी विद्यार्थी भिसा लिन पाउने भएकाले खेलाडीहरुको आकर्षण बढी देखिएको अस्ट्रेलियन नेप्लिज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवि देवकोटा बताउँछन् ।

नेपालबाट गएका फुटबलरहरु कसैले पनि त्यहाँको व्यवसायिक फुटबल पिरामिड अन्तर्गतको प्रतियोगिता वा क्लबहरुमा पाउँदैनन् । जगजित श्रेष्ठबाहेक अरु सबै फुटबलरले सामुदायिक प्रतियोगिताहरु खेल्छन् । ‘यहाँ सप्ताहान्तमा नेपाली समुदायले आयोजना गर्ने प्रतियोगिताहरु दर्जनौंको संख्यामा हुन्छन् । त्यतिकै संख्यामा क्लबहरु छन् । क्लबहरुले प्रायोजन गरेर खेलाडीहरु नेपालबाट ल्याइएका हुन्’, मेलवर्नमा बसोबास गर्ने अध्यक्ष देवकोटाले भने ।

अस्ट्रेलियाको न्यू साउथ वेल्समा १२ वर्षअघि दर्ता भएको अस्ट्रेलियन नेप्लिज फुटबल एशोसिएसन (एन्फा) छ । सिड्नीसहित न्यू साउथ वेल्सभित्र नेपाली फुटबल गतिविधिको सम्पूर्ण निगरानी एन्फाले नै गर्ने गरेको छ ।

सन् २०१३ देखि २०१८ सम्म एन्फाको अध्यक्ष रहेका राजु मानन्धर नेपाली कम्युनिटी लिग खेल्ने क्लबको समन्वयमा नेपालबाट खेलाडीहरु आइरहेको स्वीकार गर्छन् । ‘न्यू साउथ वेल्सका २५०० नेपाली खेलाडीहरु हाम्रो संस्थामा दर्ता छन् । प्रिमियर लिग खेल्ने १२, माइनर लिग खेल्ने १० र भेट्रान्स लिग खेल्ने ६ वटा क्लब दर्ता छन्,’ उनले भने, ‘हरेक आइतबार खेल हुन्छ । खेलाडीको शुल्क र नगद पुरस्कारको पनि व्यवस्था हुन्छ ।’ उनका अनुसार शीर्ष डिभिजन मानिएको प्रिमियर लिग ६ महिनासम्म सञ्चालन हुन्छ ।

नेपालीले स्थापना गरेको क्लबको प्रायोजनका अस्ट्रेलिया पुगेका खेलाडीहरु भिषा परिवर्तन गरी बस्ने गरेका छन् । विद्यार्थी भिषा लिएर त्यहाँको कोर्ष पूरा गरे उनीहरुलाई भविश्यमा स्थायी बसोबासका लागि सहज हुने उनले बताए ।

मारमा क्लबहरु

ए डिभिजन लिगका नियमित र मुख्य खेलाडीहरु नै विदेशिँदा क्लबहरुलाई टिम बनाउन गाह्रो भएको छ ।

पुसदेखि फुटबलको नयाँ सिजन सुरु भएको छ । एन्फाले पूर्व निर्धारित मिति (पुस २६) सारेर फागुन १९ देखि ए डिभिजन लिग सन्चालन गर्ने भनेको छ । तर क्लबमा अनुबन्ध भएका खेलाडीहरु भने धमाधम विदेश हिँडेका छन् ।

ए डिभिजनको नवप्रवेशी चर्च ब्वाइजका अध्यक्ष रुवेन राई भन्छन्, ‘टिम बनाउन मलाई मात्र होइन । १४ वटै क्लबलाई गाह्रो छ ।’ खेलाडीहरुमा विदेशिने मोह रहेको भन्दै उनले यसमा रोक्न रोक्न ठूलै प्याकेज आवश्यक पर्ने बताउन्छन् । उनले भने, ‘मैले, क्लबले र फुटबल संघले मात्र गरेर हुन्छ जस्तो लाग्दैन ।’

तर जिम्मेबार निकाय र व्यक्तिहरुले चासो समेत नदिएको बताउँछन् फुटबल विश्लेषक मिश्र । ‘अझै पनि धेरै खेलाडी जाने प्रक्रियामा छन् भन्ने सुनेका छौं । उनीहरुलाई रोक्न प्रयास गर्नुपर्छ’ उनले अनलाइनखबरसँग भने, ‘सबभन्दा चिन्ता यो समस्या तत्काल निराकरण हुन्छ जस्तो लाग्दैन । किनकी जिम्मेवार निकायमा बसेकाहरुको चासो छैन । ’

पाँचपल्टको लिग च्याम्पियन थ्रीस्टार क्लबका महासचिव सन्जीव शिल्पकार फुटबलर, मात्र होइन क्लब सन्चालकहरु पनि पलायन हुनुपर्ने अवस्था आइसकेको बताउँछन् । भन्छन्, ‘नेताहरुको रोजाईमा खेलकुद मन्त्रालय कहिल्यै पर्दैन भने यो देशमा फुटबलको मात्र होइन समग्र खेलकुदकै उन्नत्ति कल्पना गर्न सकिँदैन ।’

एन्फाको ओठे जवाफ

अखिल नेपाल फुटबल संघ (एन्फा)सँग खेलाडी पलायन रोक्न कुनै ठोष योजना छैन । अहिलेसम्म विदेशिएका खेलाडीको तथ्यांक संकलन गर्न पनि जरुरी ठानेको छैन । एन्फा उपाध्यक्ष दावा तामाङ भन्छन्, ‘खेलाडी गए भनेर एन्फाले एयरपोर्ट पुगेर रोक्ने कुरा हुँदैन । उनीहरुको व्यक्तिगत स्वतन्त्रता हो ।’

उनी नेपालमै बसेर खेलाडीलाई जीवन धान्नै कठिन भएको स्वीकार गर्दैनन् । बरु खेलाडीहरु उच्च महत्वाकांक्षी भएको उनको दाबी छ । भन्छन्, उनीहरुको आफ्नै समस्या होला । तर एन्फा र समर्थकले चाहेर मात्र चाहीँ यो समस्या समाधान होलाजस्तो लाग्दैन । राज्यले एउटा नीति ल्याएर केहि गरे बेग्लै हो ।’

एन्फाको नियमित र दीर्घकालीन योजना तथा त्यसको कार्यान्वयन कमजोर भएको भने उनले स्वीकार गरे । यसबारे एन्फा गम्भीर रहेको भन्दै उनले भने, ‘एन्फाले ग्रासरुटबाट खेलाडी उत्पादन गरी दीर्घकालीन योजना बनाएर काम गर्नुपर्छ । उमेरसमूहको टिम छुट्याएर उनीहरुलाई वैदेशिक वा स्तरीय प्रशिक्षण दिने प्रणालीको विकास गर्नेबारे कार्यसमितिमा छलफल गछौं ।’

सक्रिय खेलजीवन त्यागेर विदेशिएका नेपाली फुटबलर

जगजीत श्रेष्ठ, अस्ट्रेलिया
शुलभ मास्के, अस्ट्रेलिया
विमल बस्नेत, अस्ट्रेलिया
सविन्द्र गुरुङ, अस्ट्रेलिया
हेमन गुरुङ, अस्ट्रेलिया
एनल न्यौपाने, अस्ट्रेलिया

पछिल्लो एक वर्षमा विदेशिनेहरु

सुमन लामा, अस्ट्रेलिया
आशिष लामा, अस्ट्रेलिया
दर्शन गुरुङ, अस्ट्रेलिया
सन्तोष तामाङ, अस्ट्रेलिया
अमिर श्रेष्ठ, अस्ट्रेलिया
विमल राना, अस्ट्रेलिया
शिव गुरुङ, अस्ट्रेलिया
राजन गुरुङ, अस्ट्रेलिया
नवीन गुरुङ, अस्ट्रेलिया
आकाश बुढामगर, अस्ट्रेलिया
रुमेश बर्तौला, अस्ट्रेलिया
अभिशेक रिजाल, अस्ट्रेलिया
हेमन्त थापामगर, अस्ट्रेलिया
सुमन अर्याल, अस्ट्रेलिया
रोशन खड्का, दुवई
गौतम श्रेष्ठ, अस्ट्रेलिया
तेज तामाङ, अस्ट्रेलिया
दिनेश राजवंशी, अस्ट्रेलिया
राजेन्द्र रावल, अस्ट्रेलिया
विश्व अधिकारी, अस्ट्रेलिया
रवि थापा, अस्ट्रेलिया
नितिन थापा, अस्ट्रेलिया
अजित प्रजापति, अस्ट्रेलिया
प्रविण शैजु, अस्ट्रेलिया
दिलेन लोक्तान, अस्ट्रेलिया
सन्जोक राई, अस्ट्रेलिया
रोहित कार्की, अस्ट्रेलिया
विवेक बस्नेत दुवई,
सरोज कोइराला दुवई,
सूर्य अधिकारी, अस्ट्रेलिया
निरज बस्नेत न्युजिल्याण्ड,
रुपक लामा, अस्ट्रेलिया
त्रिदेव गुरुङ, अस्ट्रेलिया
मिक्छेन तामाङ, अस्ट्रेलिया
रवि थिङ, अस्ट्रेलिया
रन्जन विष्ट, अस्ट्रेलिया

 

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?