News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल ए क्रिकेट टोलीले स्कटल्यान्डसँगको पहिलो एकदिवसीय अभ्यास खेल ४६ रनले जितेको छ।
- नेपाल ए ले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४८.२ ओभरमा २३२ रनमा अलआउट भयो।
- राशिद खानले ३.२ ओभरमा ३ विकेट लिए भने शाहब आलम, युवराज खत्री र बसिर अहमदले २-२ विकेट लिए।
२४ वैशाख, काठमाडौं । स्पीन बलरहरूले राम्रो प्रदर्शन गरेपछि नेपाल ए क्रिकेट टोलीले स्कटल्यान्डसँगको पहिलो एकदिवसीय अभ्यास खेल जितेको छ । बिहीबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ए ले स्कटल्यान्डलाई ४६ रनले पराजित गरेको हो ।
नेपालले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४८.२ ओभरमा २३२ रनमा अलआउट भयो । फिनले माकरिथले सर्वाधिक ५२ रन बनाए भने ज्याक जार्भिसले ४५ रन बनाए । मार्क वाटले ३७ रन बनाए । म्याथ्यु क्रसले २२ अनि ब्रान्डन म्याकमुलेनले २१ रन बनाए ।
नेपाल ए का लागि राशिद खानले ३.२ ओभरमा २३ रन दिएर ३ विकेट लिए । शाहब आलम, युवराज खत्री र बसिर अहमदले २-२ विकेट लिए भने कुशल मल्लले १ विकेट लिए । स्पीनरले ७ विकेट लिँदा राशिदले अन्त्यतिर ३ विकेट लिएर इनिङ समाप्त गरिदिए ।
स्कटल्यान्डले सुरुवात भने राम्रो गरेको थियो । पहिलो विकेटका लागि वाट र फिनले मिलेर ८७ रनको साझेदारी गरेका थिए । त्यसपछि १०८ रनमा दोस्रो विकेट गुमाएको थियो ।
१०८-१ बाट स्कटल्यान्ड १६४-७ को अवस्थामा पुग्यो । बीचका ओभरमा स्पीनरले शानदार बलिङ गरे । स्कटल्यान्डका ब्याटरहरू खराब शट खेल्ने क्रममा आउट भएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल ए ले ५० ओभरमा ८ विकेट गुमाएर २७७ रन बनाएको थियो । देव खनालले ६३ रन बनाए भने मयन यादवले ४५, सन्दीप जोराले ३४, पवन सर्राफले ३१, दीपक डुम्रेले अविजित २३ रन बनाए ।
नेपाली ब्याटरले पनि राम्रो सुरुवात गरेका थिए । पहिलो विकेटका लागि कप्तान अनिल साह र मयन यादवले ५६ रनको साझेदारी गरेका थिए । अनिल १८ रनमा आउट भएपनि मयनले देव खनालसँग मिलेर इनिङ अघि बढाए ।
मयन आउट हुँदा नेपाल ८३-२ को अवस्थामा पुगेको थियो भने त्यहाँबाट देव सन्दीप जोरासँग मिलेर ७७ रनको साझेदारी गरेका थिए । १६०-३ को अवस्थाबाट रनगति केही कम भएपनि दीपक डुम्रेले अन्तिम ओभरमा चार चौका र एक छक्का प्रहार गर्दै आक्रामक फिनिसिङ दिलाएका थिए । उनको त्यही क्यामिओ मद्दतमा नेपाल ए ले बलियो योगफल खडा गर्न सफल भयो ।
स्कटल्यान्डका लागि ब्राड्ली करी र सफिया शरिफले २-२ विकेट लिए भने ज्याक जार्भिस, ओलिभर डेभिडसन र ब्रान्डन माकमुलेनले १-१ विकेट लिए ।
अर्धशतक प्रहार गरेका देव खनाल ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले फिल्डिङमा दुई क्याच समेत लिएका थिए ।
खेलपछि कुरा गर्दै देवले स्कटल्यान्डजस्तो टिमलाई हराउनु धेरै राम्रो कुरा भएको बताए । ‘ओभरअल टिम एफर्ट भयो, स्कटल्यान्ड एउटा राम्रो टिम हो । त्यसकारण आजको जित एउटा गूड विन हो । विशेषगरी स्पीनरे राम्रो प्रदर्शन गरे’ देवले भने ।
यस्तै स्कटल्यान्डका कप्तान रिची बेरिङटनले भने राम्रो सुरुवात भएपनि बीचको ओभरमा धैर्यता नहुँदा हार बेहोरेको बताए । ‘हामीले राम्रो सुरुवात गरेका थियौं । तर पछि स्पीनरहरूले राम्रो बलिङ गरे । यस खेलबाट केही पोजिटिभ कुराहरू पनि लिएका छौं’ बेरिङटनले खेलपछि भने ।
उनले नेपाली बलरले कन्डिशनको राम्रो प्रयोग गरेको बताए । ‘च्यालेन्जिङ सरफेस थियो । हामीले अलि राम्रो खेल्न सक्थ्यौं तर हुन सकेन ।
नेपाल ए ले यसअघि ओमानसँग पनि एकदिवसीय खेल खेलेको थियो । त्यसबेला एक खेल जित्दा एक खेलमा पराजित भयो ।
नेपाल ए ले अब भोलि शुक्रबार अमेरिकासँग खेल्नेछ ।
प्रतिक्रिया 4