+
+

काठमाडौं प्लाजामा सर्न थाले महानगरका विभाग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १६:४७

३० चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका विभागहरु सुन्धाराको जेडीए कम्प्लेक्सबाट काठमाडौं प्लाजा सार्न थालेका छन् । कम्प्लेक्सको छैटौं तलामा रहेको विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौँ तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाईका ‘पार्टेसन’ खोल्न थालिएको छ ।

‘बुधबारदेखि काम थालिएको हो । आज सबै ‘पार्टेसन’ खोलिएको छ,’ प्रशासन विभागका प्रमुख एवम् महानगरका सहायक प्रवक्ता दीपक अधिकारी भन्छन्,‘सेवा नरोकिने गरी काम गर्छौं । हामीले शनिबार पनि कर्मचारी बोलाएका छौं । सार्ने काममा नगर प्रहरी परिचालन गरेका छौं ।’

पहिले प्रयोग गरिएका सामानलाई टुटफुट हुनबाट बचाएर जेडिए कम्प्लेक्स कार्यालय सञ्चालनमा प्रयोग भएका सामानबाट काठमाडौँ प्लाजामा कक्ष निर्माण गर्ने महानगरको योजना छ । कम खर्चमा कार्यालय सार्ने काम सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए ।

२०७२ सालको भूकम्पमा केन्द्रीय भवन जीर्ण भएपछि महानगरले विभागहरुलाई विभिन्न ठाउँमा राखेर सेवा प्रवाह गरिरहेको छ । नेपाल ट्रष्टसँग काठमाडौं प्लाजा १० बर्षका लागि भाडामा लिन गत ८ चैतमा सम्झौता भएको छ ।

सम्झौताअनुसार ५ बर्षपछि १० प्रतिशतले वहाल वृद्धि हुनेछ । करिब ५ रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको प्लाजाको भवन ७ तलाको छ । भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २ सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्छ ।

१ लाख १६ हजार वर्गफिट पक्की भवन र ३ हजार ६ वर्गफिटको अस्थायी संरचनासहित प्लाजामा जम्मा १ लाख १९ हजार वर्गफिट कार्यालय प्रयोगमा ल्याउन सकिन्छ ।

यसमध्ये ग्राउण्ड फ्लोरमा पार्किङ, नगर प्रहरी बलको कार्यालय, बैङ्क काउन्टर, आपतकालीन सेवा केन्द्र, विपत व्यवस्थापन विभाग, स्वास्थ्य सेवा केन्द्र, मूल दर्ता र पञ्जीकरण सेवा राख्ने तयारी छ । पहिलो तलामा राजस्व विभाग, सहरी व्यवस्थापन विभाग, सामाजिक विकास विभाग, मिसिल तथा तथ्याङ्क शाखा, वातावरण व्यवस्थापन विभाग, सभा कक्ष र विषयगत समितिको कार्यकक्ष राख्ने योजना छ ।

दोस्रो तलामा उपप्रमुखको सचिवालय, ट्राफिक व्यवस्थापन सल्लाहकार, स्वास्थ्य विभाग, सहकारी विभाग, कृषि पशुपन्छी विभाग, शिक्षा विभाग, कानुन तथा मानव अधिकार विभाग र इजलास राखिनेछ ।

तेस्रो तलामा वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाई, खरिद एकाई, अनुगमन तथा मूल्याङ्कन एकाई, प्रशासन विभाग, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय हुनेछ ।

चौथो तलामा प्रमुखको सचिवालय, सहरी योजना आयोग, सार्वजनिक निर्माण विभाग, सम्पदा तथा पर्यटन विभाग, सार्वजनिक निजी साझेदारी एकाई, सूचना प्रविधि विभाग, अन्तरर्राष्ट्रिय सम्बन्ध सचिवालय राखिनेछ ।

पाँचौँ तलामा उद्यान तथा हरियाली प्रवद्र्धन आयोजना, क्यान्टिन, रिफ्रेसमेन्ट सेन्टर, सभा कक्ष, कल सेन्टर राखिनेछ ।

२०७२ को भूकम्पअघि महानगर बागदरबारमा थियो । भूकम्पले भवन जीर्ण भएर कार्यालय सञ्चालनका लागि कमजोर भएपछि केही समय राष्ट्रिय सभा गृहबाट सेवा सञ्चालन गरिएको थियो ।

अख्तियारले हट्न भनेपछि सुन्धारामा रहेको जेडीए कम्प्लेक्सबाट सेवा सञ्चालन भइरहेको छ । जेडीएमा सबै विभाग नअटाएपछि विभागहरु ११ ठाउामा छरिएका छन् ।

अहिले प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय जेडिए कम्प्लेक्समा छन् । यो कम्प्लेक्समा वित्त, प्रशासन, कानुन तथा मानव अधिकार, आन्तरिक लेखा परीक्षण एकाई, खरिद एकाई रहेका छन् ।

साविक बागदरबारमा महानगर प्रहरी बल, इजलास, कानुन सम्बन्धी सेवाहरु, ट्राफिक व्यवस्थापन बिज्ञको कार्यकक्ष, योजना अनुगमन तथा मूल्याङ्कन एकाई छन् ।

टेकुमा उद्यान तथा हरियाली प्रवद्र्धन आयोजना, वातावरण व्यवस्थापन विभाग र जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा छन् । कृषि तथा पशुपन्क्षी विभाग र शिक्षा विभाग ताहाचलमा छ । राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभाग बबरमहलमा छन् । सहकारी विभाग विजुली बजारमा छ । सहरी योजना आयोगको कार्यालय थापाथलीमा छ ।

जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा स्वास्थ्य, सम्पदा तथा पर्यटन, विपद व्यवस्थापन, सामाजिक विकास विभाग, सार्वजनिक निजी साझेदारी एकाई लगायत कार्यालय छन् ।

हनुमान ढोका दरबार संरक्षण कार्यालय बसन्तपुरमा छ । राष्ट्रिय सभा गृह परिसरमा सूचना प्रविधि विभाग र जिन्सी शाखा लगायत संरचना छन् ।

यसरी छरिएर रहेका सबै संरचना र सेवालाई एउटै ठाउँमा ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्न प्लाजा भाडामा लिएर कार्यालय सार्न थालिएको महानगरले जनाएको छ ।

मासिक ६० लाख भाडा तिर्ने गरी महानगरले काठमाडौं प्लाजा भाडामा लिएको हो । टेकुमा आफ्नै प्रसाशकीय भवन बनिरहेपनि त्यसलाई छिटो सम्पन्न गर्न महानगरले ध्यान दिन सकेको छैन । भवन निर्माणको ठेक्का लगाउँदा अनियमितता गरेको भन्दै अख्तियारले खरिदमा संलग्न कर्मचारीमाथि मुद्दा हालेपछि भवनको काम गरिरहेको ठेकेदार कम्पनीले कामको भुक्तानी पाउन सकेको छैन ।

ठेकेदारले भुक्तानीलाई कारण देखाएर काम रोक्दा महानगरले त्यसमा सहजीकारण नगरी नयाा भवन भाडामा लिएर कार्यालय सार्न खोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?