+
+

७० को दशक चिनाउने तस्वीरहरू

विकास/चन्द्र/शंकर/आर्यन विकास/चन्द्र/शंकर/आर्यन
२०८० वैशाख १ गते १४:१८
२०७२ साल वैशाख १२ गतेको भूकम्पमा भत्केको धरहरा ।

१ वैशाख, काठमाडौं । तस्वीरको विशेषता नै हो कि यसले त्यस्ता क्षणहरू कैद गर्छ जुन कहिल्यै फर्केर आउँदैन ।

फ्रेञ्च-अमेरिकन फोटोग्राफर इलियट एरविटका अनुसार फोटो भएपछि त्यसलाई व्याख्या गर्न शब्द खर्च गरिरहनु पर्दैन ।

अनलाइनखबरले ७०को दशक समीक्षा गर्नेक्रममा यस अवधिका केही प्रतिनिधि घटनाहरूलाई तस्वीरमार्फत् स्मरण गर्ने प्रयास गरेको छ ।

प्रस्तुत छ, दशक सम्झाउने केही प्रतिनिधि तस्वीरहरू-

नयाँ संविधान

सात दशक लामो राजनीतिक संघर्षपछि नेपालले जनताका प्रतिनिधिले पारित गरेको पहिलो संविधान प्राप्त गर्‍यो । ३० भदौ २०७२ मा दोस्रो संविधानसभाको दुई-तिहाई भन्दा बढी मतले पारित गरेको ‘नेपालको संविधान २०७२’ पारित गरेको हो । नयाँ संविधान जारी भएसँगै मुलुकले अगाडि बढ्नका लागि स्पष्ट मार्ग पाएको छ । नयाँ संविधान घोषणा भएसँगै देशमा संघीयताको अभ्यास प्रारम्भ भयो र संघ, प्रदेश र स्थानीय गरी एकसाथ ७६१ सरकार बने ।

साथै, तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी १ भदौ २०७४ मा मुलुकी अपराध (संहिता) ऐन जारी भएसँगै ७० को दशक मुलुकले कानुनमा फड्को मारेको दशक बन्यो ।

संविधान जारी गर्दै तत्कालीन राष्ट्रपति डा‍. रामवरण यादव ।

भूकम्प र राज्यविहीनता

१२ वैशाख २०७२ शनिबार गएको भूकम्पमा परी ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भए । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प नेपालका लागि शताब्दीको ठूलो विपद् बनेर आइलाग्यो । समाजको जगै हल्लाउने यस्ता घटना विश्वमा ठूला परिवर्तन बनेको पाइन्छ, तर हाम्रो समाज सामान्य नै चलिरह्यो ।

यो देशकमा देशले केही शक्तिशाली प्राकृतिक विपद्हरू पनि व्यहोर्नुपर्‍यो । मेलम्चीमा आएको बाढी र बारामा आएकाे आँधीहुरी यसका उदाहरण हुन् ।

हरेक विपदपछि उद्धार, राहत र पुनर्स्थापनामा सरकारको पूर्वतयारी र उपस्थिति कमजोर रहँदा नागरिकले एकप्रकारको राज्यविहीनता अनुभव गर्दै आएका छन् ।

गोरखा भूकम्पले भग्नावशेषमा परिणत भएको एक बस्ती ।
भूकम्पले भत्किएका संरचनामा पुरिएका एक व्यक्ति ।
भूकम्पका बेला टुँडिखेलमा टेन्टमा आश्रय लिइरहेकाहरू ।
मेलम्ची बजारमा आएको बाढीले मच्चाएको वितण्डा ।
बारामा आएको टोर्नाडोले मच्चाएको बितण्डा ।

कोरोना महाव्याधि र लकडाउन

बीसौं शताब्दीको सुरुवातको फ्लूपछि सय वर्षको अन्तरालमा कोभिड महाव्याधि आयो र सिंगो विश्वलाई नै आक्रान्त बनायो । भूकम्पमा घरभित्र बस्न डराउने मानिस कोभिड महाव्याधिमा घरबाहिर निस्कन डराउने अवस्थामा पुगे ।

यसले अर्थतन्त्रलाई धरासायी मात्र बनाएन, नेपालमा मात्र १२ हजार भन्दा बढी नागरिकको मृत्यु भयो । महाव्याधि रोक्न सरकारले लकडाउन गर्दा गरिब र निमुखा नागरिक अत्यधिक मर्कामा परे । उनीहरू सरकारविहीनताको अवस्थामा बाँच्नुपर्‍यो । लकडाउनमा निमुखा र निर्धनहरूले बाँच्नका लागि गरेको संघर्ष यो दशकले नजिकबाट नियाल्यो ।

कोभिड संक्रमणबाट मृत्यु भएका आफन्तको अन्त्यष्टि नियाल्दै एक नागरिक ।
नेपालमा पहिलो कोभिड परीक्षण गरिँदै ।
कोभिड महाव्याधिका बेला खुलामञ्चमा खाना खाँदै सर्वसाधारणहरू ।
कोभिड महाव्याधिको बेला सुरक्षा सतर्कताका साथ पचली भैरव जात्रा मनाइँदै ।
कोभिड खोप लगाउँदै एक बालिका।
लकडाउनमा घर फर्किनेहरूको लाइन ।

महिला चिनेको दशक

सत्तरीको दशकमा नेपालले राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश हुँदै उद्योग वाणिज्य महासंघको अध्यक्षसम्म महिला दियो । २९ असोज २०७२ ओनसरी घर्तीमगर पहिलो महिला सभामुख निर्वाचित भइन् भने ११ कात्तिक २०७२ विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति निर्वाचित भइन् ।

२७ असार २०७३ मा सुशीला कार्की नेपालको पहिलो प्रधानन्यायाधीशमा निर्वाचित भइन् । उता, निजी क्षेत्रले पनि यो दशकमा महिला नेतृत्व पायो । ३० चैत २०७३ मा भवानी राणा उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्षमा निर्वाचित भइन् । यो दशकले महिला चिन्यो, तर महिलाले महिला चिने कि चिनेनन्, प्रश्न बाँकी छ   

नेपालकी पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी शपथ ग्रहण समारोहमा ।
पहिलो महिला सभामुखमा निर्वाचित भएपछि ओनसरी घर्ती ।

नाकाबन्दी र देशभक्ति 

भारतले नेपालमाथि लगाएको नाकाबन्दीको समयमा काठमाडौंमा पेट्रोलका लागि लाइन लागेका मोटरसाइकलहरू । नयाँ संविधान जारी भएसँगै असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि ६ असोज २०७२ बाट नाकाबन्दी शुरु गरेको थियो।

भारतले आर्थिक नाकाबन्दी लगाएपछि नेपालले ठूलो ऊर्जा सङ्कटको सामना गरेको थियो। नेपालमा शासकहरू परराष्ट्र सम्बन्धलाई आफ्नो राजनीतिक स्वार्थ अनुरूप राष्ट्रवादको कार्डका रूपमा प्रयोग गर्दै आए ।

एमसीसी र नाकाबन्दी प्रकरणमा दलका नेताले दोहोरो नीति अख्तियार गरे तर, नेपाली भने सधैं देशभक्तिपूर्ण भावनाअनुरूप आफूलाई प्रस्तुत गर्न अभ्यस्त छन् । भारतको नाकाबन्दीमा यस्तै देखियो । 

नाकाबन्दीका बेला चर्किएको ऊर्जा संकटका बेला पेट्रोलका लागि लाइन लागेका मोटरसाइकलहरू ।
नाकाबन्दीका बेला इन्धन अभावका कारण दाउरामा खाना पकाउँदै ।
एमसीसीविरुद्ध प्रदर्शन ।

वैकल्पिक राजनीति कि राजनीतिक विकल्प ?

यो दशकमा नेपालमा वैकल्पिक राजनीतिक चर्चा र अभ्यास दुवै अत्यधिक भए । तर वैकल्पिक राजनीतिका सुरुवाती बहसकर्ताहरूमा अत्यधिक उतारचढाव देखियो ।

पछिल्लो स्थानीय, प्रदेश र संघीय चुनावमा केही नयाँ अनुहारहरू उदाए । स्थानीय निर्वाचनमा हर्क साम्पाङदेखि बालेन शाहसम्म र आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीहरू एउटा देखिने आकारमा पैदा भए ।

यद्यपि वैकल्पिक राजनीतिको नारा दिने हरेक शक्तिहरू सामान्य राजनीतिक विकल्पमा साँघुरिंदै आएका छन् ।

काठमाडौं महानगरका प्रमुखमा निर्वाचित भएपछि बालेन शाह ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने ।

सामाजिक आन्दोलन र न्यायको विरोधाभाषा

माइतीघर र सर्वोच्च अदालतबीच लामो दूरी छैन । तर अन्यायको जगमा उठेका सामाजिक आन्दोलनहरूले माइतीघरबाट न्यायको मन्दिर मानिने सर्वोच्च अदालत यति नजिक छ भन्ने महसुस गर्न सकेन । पूर्ण न्याय प्राप्त गर्ने आशा र न्याय प्रणालीको कमजोर डेलिभरीबीचको अन्तरविरोध नै न्यायको विरोधाभाष हो । सुस्त र अधकल्चा सामाजिक आन्दोलन र छानो भत्किएको न्यायालय यो दशकका टीठ लाग्दा दृश्य रहे ।

नवराज विक लगायतको हत्याले आन्दोलनको रापताप सेलाउँदै जाँदा समाज कसरी पछाडि खोज्न खोज्छ र हानिकारक प्रथा र परम्पराले शिर उठाउन खोज्छ, प्रष्ट भएको छ । निर्मला पन्तदेखि निर्मला कुर्मीसम्म, गुठी आन्दोलनदेखि बैंक वित्तीय संस्था पीडितको आन्दोलनसम्म दशकका केही प्रतिनिधि सामाजिक आन्दोलन बने ।  नजिकैको न्यायालय (अ)राजनीतिक शक्ति संघर्ष र कमजोर रुपान्तरणको मारमा आफैं न्याय खोजिरह्यो । 

न्यायको खोजीमा नवराज विककी आमा ।
छोरीको न्यायका लागि आन्दोलनमा उत्रिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्त ।
१७ वैशाख २०७६ मा केपी ओली नेतृत्व सरकारको भूमि व्यवस्थापन, सहकारी र गरीबी निवारण मन्त्रालयले राष्ट्रिय सभामा विवादास्पद गुठी विधेयक दर्ता गरेपछि काठमाडौँ उपत्यकामा नेवार समुदायले व्यापक विरोध प्रदर्शन गरेपछि सरकार उक्त विधेयक फिर्ता लिन बाध्य भयो ।
न्याय खोज्दै नेपालगञ्जबाट काठमाडौं पैदल मार्चपछि रुबी खान ।

काठमाडौंमा आन्दोलनरत मिटरब्याज पीडितहरू ।

उखुको रकम उठाउन उखु किसान आन्दोलनमा उत्रनुपर्ने नियति बनेको छ । काठमाडौंमा धर्नारत उखुकिसानहरू ।
आन्दोलनकारीलाई छल्दै वैकल्पिक गेटबाट सर्वोच्च अदालत छिरेका चोलेन्द्र शमशेर जबरा ।
सर्वोच्च अदालत परिसरमा आन्दोलनका क्रममा नेपाल बार ।

पहिचान र विद्रोह
विविधता शक्तिको स्रोत हो । यसलाई सामूहिक शक्तिमा बदल्ने सुत्र हो समावेशिता । संघीयताको कार्यान्वयनको क्रममा सीमांकनको प्रक्रियामा पहिचानका लागि गरिएको विद्रोह बिथोलिएपछि घट्यो टिकापुर घटना । त्यहाँका नागरिकले उक्त आन्दोलनका अगुवालाई निर्वाचनमार्फत पटकपटक अनुमोदन गरे पनि । यसैको आसपास रेशम चौधरीको राजनीतिक जीवनको संघर्षपूर्ण उतारचढाव र पछिल्लो निर्वाचनहरूमा नागरिक उन्मुक्ति पार्टीले पाएको आकार यो दशकको महत्वपूर्ण राजनीतिक घटना हो । 

मधेस आन्दोलनबाट प्राप्त शक्तिको अभ्यास गर्दै प्रदेश २ मधेस प्रदेश बन्यो भने ढिलो गरी बनेको कोशी प्रदेशमा नामाकरणलाई लिएर विरोधका आन्दोलन भइरहेका छन् ।

यहीबीचमा विखण्डनको मुद्दा त्यागेर सीके राउत मूल प्रवाहको राजनीतिमा फर्किए । राउतले आफूलाई रणनीतिक रूपमा प्रस्तुत गर्दै मधेसमा आकार बिस्तार गर्दैछन् । उता, सशस्त्र राजनीति त्यागेर यही दशकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आयो ।

सरकारसँग सम्झौतापछि डा. सीके राउत । २४ फागुन २०७५
सांसदको लोगो देखाउँदै रेशम चौधरी ।
सरकारसँग सहमतिपछि विप्लव । २० फागुन २०७७ ।

धमिलो राजनीति, धुमिल समृद्धि सपना

नयाँ संविधान जारी भएसँगै संविधानले देखाएको बाटोमा राजनीतिक दलहरू हिंड्ने आमअपेक्षा थियो । तर दलहरू सत्ता स्वार्थमा रुमल्लिए । बालुवाटारका बैठकहरू नागरिकको मुद्दामा कहिल्यै केन्द्रित भएन । दलहरूबीच एकता र विभाजनाका श्रृंखला चलिरहे तर यसको केन्द्रमा सधैं सत्ता स्वार्थ रहे ।

दुई तिहाई बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भयो र दलबदल एवं गठबन्धन अदलबदलको क्रममा सबै मापदण्ड भत्किए । दशकभरी मूल प्रवाहको राजनीति धमिलो पानीमा माछा मार्नेहरूकै लागि अनुकूल रह्यो र प्रतिफलमा नागरिकको समृद्धि सपना पनि धुमिल बन्यो ।

सडकमा पोखिएको नेकपाभित्रको शक्ति संघर्ष ।

देशको नयाँ नक्सा र सगरमाथाको नयाँ उचाइ

५ जेठ मा सरकारको नीति तथा कार्यक्रममा  लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा स्वीकृत गर्‍यो । सोही निर्णयका आधारमा जेठ ७ गते नेपालको नयाँ नक्शा सार्वजनिक गरियो। नेपालको संविधानको संशोधनमा सबै राजनीतिक दलको साझा मत रह्यो । यही दशकमा विश्वको शिर सगरमाथाको नयाँ उचाइ सार्वजनिक भयो ।

संविधान संशोधनका लागि संसदमा उपस्थित २५८ सांसद सबैले प्रस्तावको पक्षमा मतदान गरे ।
२०७७ को मंसिर तेस्रो साता सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर रहेको नेपाल र चीनले घोषणा गरेका छन् ।

प्रकोपको पीडा 

२०७७ को असार १३ गते अफ्रिकाबाट भारत हुँदै नेपाल छिरेको सलह किराले अन्नबालीमा क्षति पुर्‍यायो । नेपाली किसानले यो दशकमा सामना गरेको यो नयाँ चुनौती थियो । 

बाली सखाप बनाउँदै सलह ।

आशालाग्दा अनुहारहरू

राजनीतिक उतारचढावले सिर्जना गरेका निराशाका बीचमा निरन्तर आशाको सञ्चार गर्ने केही अनुहारहरू यो दशकले देख्यो । शिक्षा, स्वास्थ्य, उद्यम, नवप्रवर्तनको क्षेत्रमा गरेका कामको ख्यातिले देशको सीमा नाघेर विश्वभरी चर्चामा रह्यो ।

र, यही दशकमा नेपालले केही आशालाग्दा अनुहार गुमायो पनि । शदाब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधव घिमिरे यो दशकले गुमाएका दुई प्रतिनिधि अनुहार हुन् ।

डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड (स्वर्ण पदकसहित १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँ ) पाए । समुदायमा गरेको सेवा र उपलब्धिको लागि उनले उक्त सम्मान पाएका हुन् ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै पटक-पटक आमरण अनसन बस्दै आएका डा. गोविन्द केसी दुर्गमका निर्धन र निमुखा नागरिकको स्वास्थ्य सेवामा खटिएर पनि यो दशकमा चर्चामा रहे ।
राष्ट्रिय आविस्कार केन्द्र खोलेर आविस्कार र नवप्रवर्तनमा खटिइरहेका महावीर पुन यो दशकका अर्का आशालाग्दा अनुहार बने ।

राष्ट्रकवि माधव घिमिरेको १०१ वर्षको उमेरमा २ भाद्र २०७७ मा निधन भयो ।

शताब्दी पुरुषको उपमा पाएका नेपाली साहित्यकार तथा संस्कृतिविद सत्यमोहन जोशीकव ३० असोज २०७९ मा १०२ वर्षको उमेरमा निधन भयो ।

उच्च स्तरीय भ्रमण र सम्मेलन

यो दशकमा नेपालमा केही हाइ प्रोफाइलहरूले नेपाल भ्रमण गरे । १०-११ मंसिर २०७१ मा काठमाडौंमा १८औं सार्क शिखर सम्मेलन भयो । महाविनाशकारी भूकम्पपछि चैतको पहिलो साता नेपालमा आएका बेलायती राजकुमार ह्यारी राहत वितरणमा सक्रिय रहे । 

यही दशकमा २५ असोज २०७६  चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आए । यो चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि भएको नेपाल भ्रमण थियो । १४ भदौ २०७५ मा काठमाडौंमा हुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि  बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन भयो । जहाँ नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमारका सरकार तथा राष्ट्रप्रमुखहरूको उपस्थिति थियो । 

भूकम्पपछि नेपाल भ्रमणमा आएका बेलायती राजकुमार ह्यारी
चौथो बिमस्टेक बैठक ।
नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ।

३३ किलो सुन 

२०७४ फागुन तेस्रो साता दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको ३३ केजी अवैध सुन बाहिरिने क्रममा हराएपछि सतहमा देखा परेका घटनाक्रम नै गोरे प्रकरण सुरु भयो । यो घटनाले नेपालमा मौलाएको तस्करी संयन्त्र उदाङ्गो बनाएको थियो । 

अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद ३३ किलो सुन ।

ठूला पूर्वाधार 

७० को दशकमा नेपालमा केही ठूला पूर्वाधारहरूको निर्माण सम्पन्न भयो । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएर सञ्चालनमा आएका छन् भने नेपाली सेनाले निर्माणको जिम्मा लिएको फास्ट ट्र्याक अझै बनिसकेको छैन । नागढुंगा-नौबिसे सुरुङ मार्ग पनि निर्माणकै क्रममा छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ।

 क्रिकेट क्रेज

 ७० को दशकमा नेपाली क्रिकेटले  उल्लेख्य सफलता हासिल गर्‍यो । सन् २०१४ मा पहिलोपटक टी-२० विश्वकप खेलेको नेपालले एक दिवसीय मान्यता पनि पायो ।

घरेलु क्रिकेट संरचनामा सन्तोषजनक प्रगति नभए पनि फ्रेन्चाइज लिगहरू भने भए । विश्वकै भेट्रान क्रिकेटर समेत काठमाडौंमा आएर खेले । क्रिकेटको हरेक सफलता/असफलतामा दर्शकको साथ भने उदाहरणीय नै रह्यो । 

टीयू क्रिकेट मैदानमा दर्शकको भिड ।

डोजरे विकास र प्रदुषण

दिगो विकासको प्रयत्न भइरहँदा नेपालमा भने डोजरे विकास मौलाइरहेको छ । प्राकृतिक स्रोत साधनमाथिको दोहन बढेको छ । बढ्दो प्रदुषणले नयाँ नयाँ रेकर्ड कायम गरेको छ । परिणामतः २०७७ को चैत तेस्रो साता चार दिन विद्यालय नै बन्द गर्नुपरेको थियो । 

डोजरे विकासको नमूना ।
काठमाडौं उपत्यकामा बढेको प्रदुषण ।

विवादमा सेलिब्रेटी

यो दशकमा उच्च तहका नेता, कलाकार र खेलाडीले गम्भीर आरोप खेप्नुपर्‍यो । नेपालको राजनीतिक इतिहासमा पहिलोपटक तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा पदमुक्त भए ।

राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लागेपछि मुद्दा व्यहोरिरहेका छन् भने नायक पल शाह पनि बलात्कार आरोपमा कैद भुक्तान गरे । 

यौन दुराचारको आरोपमा पदमुक्त भएपछि तत्कालीन सभामुख कृष्णबहादुर महरा ।
बालिका बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान सन्दीप लामिछाने ।

दुर्लभ घर फिर्ती

जीवन निर्वाहको लागि विदेशिने क्रममा विनागल्ती दशकौं लामो सजाय भोगेपछि मात्र न्याय पाएका केही पात्र यो दशकमा चर्चामा आए ।

२०७६ पाकिस्तानी नागरिकको हत्या आरोपमा १३ वर्ष साउदी अरबको जेलमा बसेका धनुषाका उमेश यादव घर फर्किए ।

४० वर्षदेखि कोलकत्ता कारागारमा रहेका दुर्गाप्रसाद तिम्सिना पनि २०७७ चैतमा नेपाल फर्किए । उनी अभियोजन प्रमाणित नभइकनै चार दशकसम्म जेलमा परेका थिए ।  

स्वदेश फर्किएपछि परिवारसँग दुर्गाप्रसाद ।
साउदीबाट जेलमुक्त भएर १३ वर्षपछि घर फर्किएपछि परिवारका साथ उमेश यादव ।

अँध्यारोबाट उज्यालोतिर

डेढ दशकपछि नेपाल ३१ वैशाख २०७५ मा लोडसेडिङमुक्त भयो । आधा दिनभन्दा बढी हुने लोडसेडिङका कारण आक्रान्त देशलाई अँध्यारोबाट उज्यालोतिर डोहोर्‍याउने कामको नेतृत्व गरे नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले । एकजना नेतृत्वको सफल नेतृत्वले समाजले कसरी रातारात बदलिन सक्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेर आशाको सञ्चार गरे ।  

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ ।
लोडसेडिङमुक्त भएपछि लक्ष्मीपूजाको दिन देखिएको काठमाडौं ।

एसएलसीदेखि एसईईसम्म

१९९० सालबाट सुरु भएको प्रवेशिका परीक्षा (एसएलसी) लाई २०७३ सालमा सरकारले संशोधन गर्दै एसईई परीक्षामा रुपान्तरण गर्‍यो । सरकारको नयाँ निर्णयसँगै १ देखि ८ कक्षासम्म आधारभूत र ९ देखि १२ सम्म विद्यालय शिक्षाका रूपमा निर्धारण गरेको हो ।

 

पहिलोपटक एसईई परीक्षा दिँदै विद्यार्थीहरू ।

त्रासदीपूर्ण दुर्घटना

बङ्गलादेशको ढाकाबाट उडेको युएस–बंग्ला जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैगर्दा २८ फागुन २०७४ मा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको ज्यान गएको थियो भने २० जना घाइते भएका थिए। उक्त घटना बिर्साउने गरी पोखरामा १ माघ २०७९ मा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ७२ जनाको मृत्यु भयो । 

यो दशकमा यस्ता त्रासदीपूर्ण अन्य केही विमान दुर्घटना पनि भए ।

१४ फागुन २०७५ मा ताप्लेजुङमा भएको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनामा परी पदमा बहाल रहेकै अवस्थामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भयो ।

१६ जेठ २०७९ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।  सडक दुर्घटनाको दृष्टिले पनि यो दशक बिर्सनलायक रह्यो ।

पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना ।
यूएस–बंग्ला जहाज दुर्घटना ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?