+
+

नयाँ वर्षलाई राष्ट्रिय उपलब्धिको ऐतिहासिक वर्ष बनाउने प्रधानमन्त्री प्रचण्डको प्रण

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते ६:१२

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् ।

नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले केवल क्यालेन्डर परिवर्तन नगरी नेपाल राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने संकल्प गरेका छन् ।

उनले भनेका छन्, ‘संकल्प गरौं, सिंगो राष्ट्रको साझा संघर्ष र संकल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं ।’

परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभङ्ग गर्न गइरहेको बताउँदै उनले त्यसका लागि सकारात्मक वातावरण बनिरहेको उल्लेख गरेका छन् ।

बैंकको ब्याजदर कम हुँदै गएको, वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको, श्रमिकको अधिकार सुरक्षित गर्न महत्त्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएको र नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरु भएको भन्दै प्रधानमन्त्री प्रचण्डले नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि अझ धेरै मिहिनेत गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।

नयाँ वर्षका हरेक दिन संविधानको कार्यान्वयन, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । ‘हरेक नयाँ वर्ष एउटा सुरुआत हो, विगतको समीक्षासहित नयाँ संकल्प गर्ने दिन हो, हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन’, प्रधानमन्त्री प्रचण्डको शुभकामनामा सन्देशमा उल्लेख छ ।

२०८० लाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रणसहित समस्त नेपाली जनसमुदायको शान्ति, प्रगति र सुस्वास्थ्यको कामना गरेका छन् । उनले नयाँ वर्षलाई सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन आम जनसमुदायमा विशेष अपिल समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?