+
+

परिवर्तन उल्टिँदैन जस्तो लागे पनि स्थिति सहज छैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते ९:५३

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन् । संविधानमै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई पनि अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको उनको भनाइ छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको भन्दै सबै सजग रहन आग्रह गरे ।

‘संविधान सभाबाट भएको घोषणालाई पनि आत्मसाथ गरियो, तर अहिले त्यसलाई विभिन्न तर्क, विर्तक गरेर यसलाई कसरी असफल र उल्ट्याउन सकिन्छ र यसमार्फत सम्पूर्ण परिवर्तनलाई कसरी असफल बनाएर विचलनमा लैजान सकिन्छ ? भन्ने कसरत ठूलै छ,’ उनले भने ।

उनले वर्तमान समयमा आफ्नो पार्टी नेकपा माओवादी केन्द्र सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागे पनि स्थिति सहज नरहेको जिकिर गरे । जिम्मेवारीबोध गरी संघर्ष नगर्ने हो भने अफ्ठ्यारो स्थिति आउनसक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले भने, ‘अहिले हामी सरकारको नेतृत्वमा छौँ, मन्त्री छौँ, प्रधानमन्त्री छौँ, त्यसकारण उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ, मैले सबै कमरेडहरुलाई बुझिनेगरी भन्न चाहन्छु, यो स्थिति सहज छैन । हामीले बुद्धि नपुर्याउने, जिम्मेवारी बोध नगर्ने हो, संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्छ ।’

पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइमा उठाउन र सरकारलाई जनमुखी बनाउन जरुरी रहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा नेकपा माओवादी केन्द्रले नेताहरुको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताउनु भयो । उनले नेतृत्वलाई दबाव दिएर नेतृत्व पाउने प्रणालीको अन्त्य नगरेसम्म पार्टी बन्न नसक्ने बताए । उनले भने, ‘अब नेताहरुको समर्थन लिएर नेताको सहयोगले नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्छ, नेतृत्वलाई प्रेसर गर्ने, त्यसपछि हामी पनि त्यस्तै भइयो । यसले पार्टी बनेन । जनतातिर गएन, पार्टी तल गएन, माथि फर्कियो, यसले पार्टी जनताबाट कट्यो । कार्यकर्ताको मन जित्ने नै नेता हुने प्रणालीतिर जानुपर्छ ।’

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजदेखि हरेक शुक्रबार पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने भएका छन् । सोही क्रममा उनी आज बिहान केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?