+
+

चितवनमा आजदेखि प्याराग्लाइडिङ्ग सुरु

सुवास पण्डित सुवास पण्डित
२०८० वैशाख १ गते १०:११

१ वैशाख, चितवन । सफारी पर्यटनमा परिचित चितवनमा आजदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान पनि सुरु भएको छ । साहसिक खेल पर्यटनको रूपमा चिनिने प्याराग्लाइडिङ भरतपुर महानगरपालिका वडा नं. २९ को चौकीडाँडाबाट सुरु गरिएको हो ।

चितवनमा पहिलोपटक प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गरेको हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीका बोर्ड डाइरेक्टर शालिक दवाडीले नयाँ वर्षको पहिलो दिनको अवसर पारेर उडान सुरु गरिएको जानकारी दिए । उनले भने ‘औपचारिक उदघाटन पछि गर्नेछौं, तर उडान भने सुरु भयो ।’

चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण हुनेछ ।

उनले प्याराग्लाडिङ्ग उडानका लागि लाग्ने ८ हजार रुपैयाँमा २५ प्रतिशत छुट दिएर ६ हजार शल्क लिइएको बताए । १० वटा प्याराग्लाइडिङ्ग उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मलाई उडान सकिने गरी तयारी गरिएको दवाडीले जानकारी दिए ।

कम्पनीका अध्यक्ष विजय घलेले चितवनमा जंगल सफारी पर्यटनको साथसाथै अब साहसिक पर्यटनको अर्को ‘आइटम’का रुपमा रहेको प्याराग्लाइडिङ सुरु गरिएको बताए । ‘नयाँ वर्षसँगै चितवनको पर्यटन व्यवसायमा एक थप नयाँ आयाम थपिएको छ,’ अध्यक्ष घलेले भने, ‘जंगल सफारीका लागि प्रख्यात चितवनमा अब प्याराग्लाइडिङ्गको आनन्दसमेत आन्तरिक तथा बाह्य पर्यटकहरुले लिन सक्छन् ।’

मुग्लिन–नारायणगढ सडकखण्डको भोर्लेबाट ९ किलोमिटर उत्तर र जुगेडीबाट ५ किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ । चौकीडाँडा १२ सय मिटरको उचाइमा छ । कम्पनीले चौकीडाँडासँगै भरतपुर–२९ कै कविलासबाट पनि प्याराग्लाइडिङको उडान अनुमति लिएको छ । कविलास ५८० मिटरको उचाइमा छ ।

कम्पनीले प्याराग्लाइडिङका लागि १.८५ नोटिकल माइल वरपर उडान गर्ने अनुमति पाएको कम्पनीका अध्यक्ष घलेले बताए । सिधै माथि ५ हजार मिटरसम्म जान पाइनेछ । फटाफट उडेर त्रिशूलीमा झर्दा चौकीडाँडाबाट २० मिनेट लाग्नेछ । तत्काललाई १० वटा पाइलट राखेर उडान गरिने घलेले जानकारी दिए ।

प्याराग्लाइडिङ उडान हुने ठाउँ चौकीडाँडामा कम्पनीले रिसोर्ट खोल्ने तयारी पनि अगाडि बढाएको छ । ३० वटा कोठासहितको सुविधा सम्पन्न रिसोर्ट बनाउने योजना कम्पनीको रहेको अध्यक्ष घलेले जानकारी दिए ।

चौकीडाँडामा रिसोर्ट र प्याराग्लाइडिङ्गका लागि ७० करोड खर्च लाग्ने अनुमान छ । प्याराग्लाइडिङ र रिसोर्टका लागि चौकीडाँडामा ५ विघा जग्गा कम्पनीले लिइसकेको छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?