+
+

आर्थिक क्षेत्रमा सकारात्मक संकेतहरु देखिन थालेका छन् : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते १२:४८

१ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई मजबुत बनाउँदै जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने अभियानलाई तीव्रता दिन सकिने वातावरण बनेको बताएका छन् ।

नयाँ वर्ष २०८० को शुभकामना सन्देश जारी गर्दै उनले नेपालीहरु निराश हुनुपर्ने अवस्था नरहेको बताएका हुन् ।

‘नयाँ वर्ष प्रवेश गरिरहँदा आर्थिक क्षेत्रमा सकारात्मक संकेतहरु देखिन थालेका छन्’ सभामुख घिमिरेले शुभकामना सन्देश मा भनेका छन्, ‘अब राजनीतिक नेतृत्वले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना, मार्गचित्र निर्माण गरी कार्यारम्भ गर्न जरुरी छ ।’

राज्यका तीन अंगहरुमध्ये कानून निर्माण गर्ने मुख्य थलो संसद भएको र प्रतिनिधि सभाले विधेयकहरूमाथिको छलफल सुरु गरेको उल्लेख गर्दै उनले संसदलाई अझै प्रभावकारी र गतिशील बनाउन सबै राजनीतिक दलहरूसँग छलफल चलिरहेको बताएका छन् ।

‘जनसहभागिता, राजनीतिक सहमति, सहकार्यका आधारमा संसदले बनाउने कानूनले आर्थिक, सामाजिक, साँस्कृतिक रूपान्तरण र सुशासन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छु’ सभामुख घिमिरेले लेखेका छन्, ‘जनताको सार्वभौमसत्ता प्रयोग हुने संसदलाई प्रभावकारी बनाउँदै जनमुखी र प्रगतिशील कानून निर्माण गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।’

तथापि, नयाँ वर्षमा प्रवेश गरिरहँदा विगतको वर्षको समीक्षा गर्न आवश्यक रहेको सभामुख घिमिरेको भनाइ छ ।

उनले लेखेका छन् ,‘२०७९ सालमा तीनवटा निर्वाचन सम्पन्न भई मुलुक नयाँ जनप्रतिनिधिको  काँधमा आएको छ । जनताको म्यान्डेटअनुसार प्रदेश र संघमा नयाँ सरकारसमेत निर्माण भइसकेको छ । राजनीतिक रूपमा अघिल्लो वर्ष परिवर्तनको वर्ष भए पनि आर्थिक र पूर्वाधार विकासमा भने उल्लेख्य प्रगति हुन सकेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?