+
+

एसएमएसले तर्साउँछ सांसदलाई

राज्य संचालनमा रहेका व्यक्तिहरुको नियतमै खोट छ : सांसद रेखा यादव

जनताले आफ्ना जनप्रतिनिधिलाई एसएमएस पठाएर पनि प्रश्न गरिरहेका छन् । सबभन्दा धेरै एसएमएस नागरिकता सम्बन्धी बिषयमा आउने सासंदहरुको भनाइ छ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० वैशाख ३ गते २०:४५
सांसद यादव र उनको मोवाइलमा आएको एसएमएस

३ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की सांसद रेखा यादव प्रतिनिधिसभामा धेरै बोल्ने सांसदमध्ये पर्छिन् । शून्य समयको ज्यादा उपयोग गरिरहेकी उनी हरेक पटक बोल्दा नागरिकताको विषय उठाउन छुटाउँदिनन् ।

‘शिक्षा, स्वास्थ्य र समसामयिक विषय उठाइरहेकी छु । जे विषय उठाए पनि नागरिकताको विषय छुटाउँदिन’ उनी भन्छिन्, ‘नागरिकको मुख्य चासो नागरिकतामै छ । सफलता हात नपारेसम्म उठाइरहन्छु ।’

आइतबार प्रतिनिधिसभाको बैठकमा उनले एकजना नागरिकताविहीन नागरिकले गरेको एसएमएस पढेरै सुनाइन् ।

‘सम्माननीय सांसदज्यू नमस्कार,

नागरिकता बिहीनहरुको तर्फबाट उच्च आदर तथा सम्मान,

कम्तीमा हाम्रो भविष्य र जीवनसँग भद्दा राजनीति नगरिदिनु न ! हजुरलाई हाम्रै आमाबाबुले भोट हालेर सांसद बनाएको तर, हामीलाई किन नागरिकता बिहीन बनाइयो ? हाम्रो अधिकार सुनिश्चित गराउने हजुरहरुको प्रमुख दायीत्व होइन र ? हजुरहरु भागवण्डा मिलाउन प्याकेजमै लडिरहेको देख्छौं तर, हामीलाई सकारात्मक रुपमा नलिएको देख्छौं । हामीलाई कहिलेसम्म नागरिकता बिहीन बनाउने हो ? यसको लागि आवाज उठाइयोस् हामी आशावादी छौं ।’

मोबाइलमा यस्ता सन्देश निरन्तर आइरहेको सांसद यादवको कथन छ । उनी भन्छिन्, ‘मोबाइल खोल्नु र बन्द गर्नुअघि पीडादायी म्यासेज हेर्नुपर्छ । त्यस्ता म्यासेज नागरिकताविहीनहरुको तर्फबाट ज्यादा छन् ।’

संसदमा निरन्तर आवाज उठाउँदा पनि नागरिकता ऐन संशोधन विधेयक संसदमा आउन नसकेपछि नागरिकका म्यासेज नै पढेर संसद बैठकमा सुनाउनुपरेको उनी बताउँछिन् ।

‘म्यासेज आउँछ । म्यासेजले तर्साउँछ । त्यही म्यासेज देखाएर सभामुख र सभामुखमार्फत सम्बन्धित सरोकारवाला निकायहरुलाई दबाव दिन खोजेकी हुँ’, सांसद यादवले अनलाइनखबरसँग भनिन् ।

संसदमै म्यासेज पढेर सुनाएपछि त्यसले नागरिकता विधेयक पारित गर्न दबाव हुने उनलाई आश छ । साथसाथै, म्यासेज गर्ने नागरिकले पनि आफ्नो कुरा सदनमा उठाइदिएको र माग पूरा गराउन प्रयास गरेको रुपमा लिने उनको विश्वास छ ।

‘संसदमा बोलेपछि ‘धन्यवाद’ भनेर आशावादी रिप्लाई पनि आउँछन्’, उनी भन्छिन्, ‘प्रयास हुँदैछ । कर्म गरेपछि अवश्य नै फल पाइन्छ ।’

धेरै नेपाली नागरिक नागरिकता प्रमाणपत्र नपाएर तड्पिरहेको भन्दै उनले यो मुद्दा समाधान नहुँदासम्म उठाइरहने बताइन् ।

आमा बाबु नेपाली नागरिक रहेको तर, सन्तान नागरिक हुन नसकेको अवस्था मुलुकमा विद्यमान रहेको उल्लेख गर्दै उनी थप्छिन्, ‘नागरिकता नहुँदा गाँस, बास र कपासमै समस्या छ । उच्च शिक्षा अध्ययन गर्न समस्या छ । जागिर खान, ब्यापार बिजनेस गर्न पाइन्न । नागरिकता बिना बैंक खाता खुल्दैन, परिणाममा जीवन, जीवन जस्तो रहन्न ।’

संविधान अनुसार नागरिकता ऐन संशोधन हुन नसक्नुका पछाडि उनी राज्य संचालनमा रहेका व्यक्तिहरुको नियतमा खोट देख्छिन् । उनी भन्छिन्, ‘नागरिकता ऐन नबनाउनुको कारण नियत नै हो । नियतवश नागरिकता विधेयक रोकिएको हो । यसमा जिम्मेवार यो वा त्यो नाममा सरकार भनौं वा राज्य सञ्चालनमा रहेकाहरु नै हुन् ।’

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा सबैभन्दा बढी चर्चा भएको विधेयक हो– नागरिकता ऐन संशोधन विधेयक । तर, प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा नागरिकता ऐन संशोधन विधेयकले ऐनको रुप सकेन ।

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा पहिलो पटक प्रतिनिधिसभामा विश्वासको मत माग्दै गर्दा ६ महिनाभित्र नागरिकता ऐन पारित गर्ने वाचा गरेका थिए । ६ चैतमा दोस्रो पटक विश्वासको मत लिँदा पनि प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए । तर, हालसम्म नागरिकता विधेयक संसदमा भने आइपुगेको छैन ।

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा धेरै छलफल भएर पनि नागरिकता ऐन बन्न नसक्नुको कारण थियो– राष्ट्रपतिको कदम । संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) ले दुई पटक पारित गरेर पठाउँदा समेत तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरिदिँदा नागरिकता विधेयकले कानुनको रुप लिन सकेन ।

नागरिकता ऐन संशोधन गर्न नसक्दा जनदबाव ज्यादा झेल्नुपरेको नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेसँग पनि छन् । उनी भन्छन्, ‘प्रधानमन्त्रीले ६ महिनाभित्र नागरिकता विधेयक ल्याउँछु भनेको ४ महिना बितिसक्यो । यसले त प्रेसर दिएकै छ ।’

नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्ताैला सरकारलाई नागरिता विधेयक सदनमा ल्याउन आग्रह गर्छन् । उनी भन्छन्, ‘नेपाली नागरिकका सन्तानले नागरिकता नपाउनुपर्ने कारण नै छैन । नेपालकै नागरिक अनागरिक हुने स्थितिलाई लामो समय लैजान हुँदैन । यसमा कसैले पनि राजनीति गर्नुहुन्न ।’

सांसद रेखा यादव पनि नागरिकताको समस्या समाधान गरेर अन्य विषयमा सदन प्रवेश गर्नुपर्नेमा जोड दिन्छिन् । नागरिकताको समस्या सम्बोधन भएपछि शिक्षा, स्वास्थ्य र समग्र विकासको विषयमा केन्द्रित हुने सांसद यादवको चाहना छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?