+
+
स्थलगत :

आफ्नो पक्षको माहोल टिकाइ राख्ने प्रयासमा रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा आमचुनावमा जत्तिको मानिसहरु अहिले सडकमा निस्किएको देखिँदैन । यद्यपि, मतदाताको उनीप्रतिको सकारात्मक मनोविज्ञान भने फेरिएको छैन ।

गौरव पोखरेल सुवास पण्डित गौरव पोखरेल, सुवास पण्डित
२०८० वैशाख ५ गते २०:३९

५ वैशाख, भरतपुर (चितवन) । ४ मंसिरको आमचुनाव अघि रवि लामिछाने चितवनमा निस्किँदा घन्टीको एकोहोरो किरिङरिङ आवाज घन्किराख्थ्यो । युवा, महिला मात्र होइन, वृद्धवृद्धाहरु पनि स्वतः स्फूर्त सडकमा निस्किएका देखिन्थे ।

तर, पाँच महिनापछि दोस्रो पटक हुन लागेको चुनावमा परिस्थिति फेरिएको छ । सोमबार चितवनमा लामिछानेको घरदैलो र सभा पछ्याउँदा पहिलेजस्तो अत्यधिक भीड थिएन । विगतझैँ घर-घरबाट घन्टी बोकेर निस्किनेको जमात पनि देखिएन ।

भरतपुर महानगरपालिका–२, आँपटारीमा आयोजित सभामा लामिछाने पुग्नुअघि उनका चालक दिलबहादुर थापा (शम्भु) तीन तलामाथिबाट खसेर गम्भीर घाइते भएको खबर बाहिरियो । ‘दशा नै पो लागेको छ कि क्या हो !’, एकपछि अर्को समस्या आइलागेको गरेको संकेत गर्दै आँपटारीकी ७६ वर्षीय दौलती विश्वकर्माले भनिन्, ‘गाह्रो पार्छन् जस्तो छ ।’

विश्वकर्मा बोलिरहँदा निलो झण्डा राखिएको मिनी बसमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरु आइपुगे । लामिछाने आएका हुन् कि भनेर सडक छेउ जम्मा भएकाहरुले नजर लगाए । तर, त्यहाँ कार्यकर्ता मात्र थिए ।

केहीबेर अघिसम्म २०/२२ जना मात्र देखिएको सभा स्थल एकाएक खचाखच भयो, सडक नै छेकियो । ‘राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने नै यही हो, मान्छेहरु सबैतिरबाट बोकेर ल्याएका हुन्छन्’, भरतपुरका कांग्रेस समर्थक बलराम अधिकारी आरोप लगाउँछन्, ‘त्यो देखेर मुख्य दलका नेताहरु डराएका छन् ।’

नेपाली कांग्रेस भरतपुर महानगरका कार्यवाहक सभापति बुद्धिकान्त न्यौपाने अहिले चितवन २ का वासिन्दाले लामिछानेलाई राम्रोसँग चिनेको बताउँदै यसपालि स्थानीय उम्मेदवारलाई छान्ने दाबी गर्छन् ।

फेरिएको छैन मनोविज्ञान

लामिछानेको समर्थनमा सडकमा आउनेहरुको भिड घटेको देखिए पनि मतदाताको मनोविज्ञान भने फेरिएको देखिँदैन ।

सभास्थल नजिकै भेटिएका श्याम परियारले लामिछानेलाई मुख्य दलहरुले काम गर्ने अवसर नै नदिएको विश्लेषण सुनाए । ‘देउवाले पाँच–पाँच पटक प्रधानमन्त्री भएर के गरे ? अरुले दुई पटक/तीन पटक चुनाव जितेर के गरे ?’, परियार प्रश्न गर्छन्, ‘उहाँलाई पनि पाँच वर्ष हेरौं भन्ने हो ।’

प्रेस चोकका ७८ वर्षीय कुलराज श्रेष्ठ, लामिछानेले काम गर्न खोज्दाखोज्दै हटाइएको बताए । ‘विदेशीको पीआर लिएकै भरमा त्यसरी कारबाही गर्ने हो भने अरु कति धेरै त्यसरी गएका छन्, उनीहरुलाई किन कारबाही हुँदैन ?’, उनले प्रश्न गरे, ‘रविलाई मात्र किन कारबाही गरेको ?’

कुलराज श्रेष्ठ

चुनाव जितेर काम गर्न थालेपछि चुनौति देखेर रविलाई अनेक विवादमा फसाउन खोजिएको उनको ठहर छ । ‘नागरिकतामा समस्या थियो भने पहिल्यै निर्वाचन आयोगले किन हेरेन ?’, उनले जिकिर गरे, ‘आरोप त गौतम बुद्धलाई पनि लागेको थियो । आरोप लाग्दैमा दोषी भन्ने हुँदैन ।’

केहीबेरमा लामिछाने निलो पिकअप गाडीको पछाडि उभिएर हात हल्लाउँदै आइपुगे । पछिपछि स्कोर्पियोको स्कर्टिङ थियो । सभामा पुग्ने वित्तिकै सधैँझैँ समर्थकसँग सेल्फी खिचेर उनी सम्बोधन गर्न मञ्चमा उक्लिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी र आफूलाई घेराबन्दी गरिएको भन्दै उनले सहानुभूति बटुल्ने प्रयास गरे । समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक हुँदा उनले ७२ घन्टाभित्र सार्वजनिक गर्न नसके ‘यहीँ बलि चढाउनू’ भन्दै गढीमाईमा भाषण गरेका थिए । उनले तिनै विषयहरुलाई संकेतहरु आफ्नो पार्टीलाई घेराबन्दी गर्न खोजिएको विश्लेषण सुनाए । ‘अहिले निर्वाचनमा कयौं कुराहरु भइरहेको छ, यति धेरै आलोचना टिकाटिप्पणी भएको देखेर मलाई एकदमै आश्चर्य लागेको छ’, लामिछानेले भने, ‘लोकतन्त्रको एकदमै सुन्दर पक्ष शान्त र स्वच्छ प्रतिस्पर्धा हो, तर यो प्रतिस्पर्धा कहाँ गइरहेको छ थाहा छैन ।’

उनले देशको सम्पूर्ण बेथितिको जग नै राष्ट्रिय स्वतन्त्र पार्टी भए जसरी प्रचार गरिएको भन्दै गुनासो गरे । ‘सबै हेर्दा सारा बेथितिको जग नै राष्ट्रिय स्वतन्त्र पार्टी हो जस्तो लाग्छ, हामी आएपछि सबै दलहरुबीच कस्तो राम्रो एकता भएको छ’, लामिछानेले भने, ‘सबैको तगारो राष्ट्रिय स्वतन्त्र पार्टी भएको छ ।’

सामाजिक सञ्जालमा गरिएका कतिपय तीखा टिप्पणीहरुको दोष पनि आफूलाई आएको उनले सुनाए । ‘हामी शुभेच्छुकका भरमा चुनाव लडेका मान्छे हौं, ९ महिना भयो पार्टी गठन भएको’, लामिछानेले भने, ‘यो अवधिमा कसरी साइबर सेना राख्न सक्लौं ? कहाँ खटाउन सक्लौं ?’

लामिछानेले आफ्नोबारे कहिल्यै झुठो कुरा नगरेको पनि दाबी गरे । ‘चार वर्षअघि नै सार्वजनिक रुपमा र राज्यलाई सबै कुरा बताएको हुँ’, उनले नागरिकता विवादतर्फ संकेत गर्दै भने, ‘त्यसबाट आएको परिणामलाई स्वीकारेर अघि बढ्नुबाहेक अरु कुनै विकल्प छैन ।’

अमेरिकी नागरिकता त्यागेर नेपालको नागरिकता पुनः लिने प्रक्रिया पूरा नगरेको निष्कर्षसहित सर्वोच्च अदालतको संवैधानिक इजलासले १३ माघमा लामिछानेको सांसद पद खारेज हुने आदेश सुनाएको थियो ।

लामिछानेको लापरबाहीले फेरि चुनाव गर्नु पर्दा राज्यलाई व्ययभार बढ्नुसँगै जनताले पनि फेरि दुःख पाएको विपक्षी उम्मेदवारहरुले आरोप लगाइरहेका छन् । विगतमा चितवन २ मा नसुनिएको लामिछानेको आलोचनाको स्वर अहिले मतदाताबाट पनि छिटपुट रुपमा सुनिन थालेको छ ।

आँपटारीकी शान्ता परियारले पहिलै भोट दिएर पठाउँदा पनि विवादरहित ढंगले काम गर्न नसकेको बताइन् । ‘अरुले काम नगरेकाले उहाँलाई जिताएका हौं, तर उहाँका पनि अनेक कुराहरु आए’, उनले भनिन् ।

तर, ७० वर्षीया रामप्यारी श्रेष्ठ भने शान्ताको भनाइ मान्न तयार छैनिन् । ‘टीभीमा हुँदा उहाँले भ्रष्टाचारीको पर्दाफास गर्नु भएको हो, विदेशमा भएका बाबुहरुलाई उद्धार गर्नु भएको हो’, श्रेष्ठले भनिन्, ‘उहाँको बोली, बानी र नियत सबै राम्रो लाग्यो ।’

उनले आफू सात पुस्तादेखि कांग्रेस भएपनि यसपालि पार्टीको हिसाब नगरी घन्टीमा भोट हाल्ने बताइन् । ‘भोलि बालबच्चा अफ्ठ्यारो पर्लान्, उसले काम गर्छ’, रामप्यारीले भनिन्, ‘हामीलाई काम गर्ने मान्छे चाहिएको हो, पार्टी होइन ।’

चितवन–तनहुँ–बारा दौड

लामिछाने आफ्नो सम्बोधन सकेर दलबलसहित नारायणगढ बजारतिर निस्किए । समर्थकको ‘रवि दाइ, हाई हाई’ नाराबाजीका बीच गाडीबाटै हात हल्लाउँदै उनी अघि बढे । मानिसहरुको जम्मा भएको कुनै चोकमा भने उनी गाडीबाट ओर्लिन्थे र नमस्कार गर्दै अघि बढ्थे ।

बेलटाँढी चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीको ब्यानर राखेको औषधि पसलमा उनी नमस्कार गर्दै छिरे । केही महिलाहरु हात जोडेर बसेका थिए, लामिछानेले श्रद्धापूर्वक दुई हात जोडे । चोकमा ‘रवि दाइ, रवि दाइ’ बोलको लोक दोहोरी घन्कियो, समर्थकहरु सोही गीतमा नाच्न थाले ।

नारायणी नदी किनारको नगर वन क्षेत्र पुग्दा तीन जना महिलाहरु बाटोमा जम्मा भएर बसेका थिए । रविले गाडी रोके, तीमध्येकी एक वृद्धाले उनलाई गर्लम्मै अंगालो हालिन् । ‘बाबुलाई भेट्न कम्ति मन थिएन’, टोली अगाडि बढेपछि आशा राईले भनिन्, ‘पहिले भिडमा देख्नै पाएको थिइनँ, अब फेसबुकमै फोटो राख्ने हो ।’

लामिछानेको टोली अगाडि बढेपछि अनलाइनखबरसँग कुरा गर्दै उनले पहिले टेलिभिजन कार्यक्रम चलाउँदैबाट रवि मन परेको बताइन् । ‘उहाँ जस्तो मान्छे १०/१५ वर्ष पहिले नै आउनुपर्ने हो’, उनले सुनाइन्, ‘बाबुले जसरी पनि जित्नुपर्छ, तब मात्र उन्नति हुन्छ । अरु सबै खाने मात्र छन् ।’

लक्ष्मी मावि छेउकी पार्वती सापकोटा (६०) भन्छिन्, ‘म पहिले कांग्रेस हुँ । जसले जे भने अझै जित्ने उहाँले नै हो ।’

लामिछाने बारा र तनहुँ पनि जानुपर्ने भन्दै हतार गरिरहेका थिए । गाडीबाटै हात हल्लाउँदै उनी अघि बढिरहँदा कतिपय चोकमा उनलाई दिन फूल लिएर बसेकाहरु पनि असन्तुष्ट सुनिन्थेँ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?