+
+

माओवादी सांसदको आरोप : काठमाडौंका मेयरले संविधान मिचे

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १५:३१
सांसद हितबहादुर तामाङ

५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संविधान मिचेको र कर्तव्य तथा जिम्मेवारीबाट भाग्ने काम गरेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मेयर बालेनले बागमती नदी किनारको बस्ती हटाउन खोज्नु संविधान विपरीत र सिंहदरबारको फोहोर नउठाउनु कर्तव्य र जिम्मेवारी विपरीत भएको बताएका हुन् ।

‘काठमाडौंका मेयर साहेब अलि धेरै नै चर्चामा आउने गर्नुभएको छ । चर्चा यस कारणले कि उहाँले पटक पटक हरेक सवालमा संविधान मिच्ने, आफ्नो कर्तव्य र जिम्मेवारी बोध नगर्ने र गैरउत्तरदायी ढंगले प्रस्तुत हुने तरिकाले यो अवस्था सिर्जना भइरहेको छ’ उनले भने ।

सांसद तामाङले ११ चैतमा काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती खाली गर्न भनी जारी गरेको सूचना संविधान विपरीत भएको पनि बताए । ‘२१ चैतमा काठमाडौैं महानगरपालिकाले एउटा सूचना जारी गरेको थियो । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अनधिकृत बसोबासलाई ७ दिनभित्र हटाउन अनुरोध गरिएको थियो, निर्देशन दिइएको थियो, यदि नहटाएमा त्यसलाई क्षतिपूर्ति सम्बन्धित व्यक्तिले तिर्ने गरी महानगरपालिकाले हटाउँछ । यो संविधान विपरीत कुरा हो’ उनले भने ।

नेपालको संविधानको अनुसूची ९ मा सुकुम्बासीसँग सम्बन्धित समस्या संघ प्रदेश र स्थानीय तहले समन्वयात्मक ढंगले समाधान गर्ने गरी साझा सूचीमा राखेको पनि तामाङले बताए ।

उनले सिंहदरबारभित्रको फोहोर नउठाउने र उठाउने कम्पनीको इजाजत खारेज गर्ने धम्की दिनु मेयर बालेनको कर्तव्य र जिम्मेवारी विपरीत भएको पनि बताए । काठमाडौं महानगरपालिकाले नुवाकोटको ओखरपौवा र बञ्चरेडाँडामा फोहोर फालेर त्यस क्षेत्रको जनताको स्वच्छ वातावरणमा बस्न पाउने हक हनन गरेको पनि सांसद तामाङले बताए ।

‘यो काठमाडौं महानगरपालिकाले बारम्बार संविधान मिच्ने र संविधानमा व्यवस्था भएको जनताको अधिकारलाई कुण्ठित तुल्याउने काम किमार्थ गर्न पाइन्न र त्यहाँका जनतालाई फोहोरसँग अलग राख्नको निमित्त वैज्ञानिक ण्ंगले जग्गाको रेखांकन गरेर त्यहाँका प्रभावित किसानहरुलाई जग्गाको अधिग्रहण गरी उनीहरुलाई मुआब्जा दिने व्यवस्था गरियोस्’ उनले भने ।

नुवाकोटबाट निर्वाचित सांसद तामाङले संसदले सर्वदलीय समिति बनाएर ओखरपौवा र बञ्चरेडाँडाको यथार्थ स्थितिको अध्ययन गरेर सरकारलाई सुझावसहितको प्रतिवेदन दिनुपर्ने माग गरेका छन् । ‘सभामुखमार्फत सरकारलाई र काठमाडौँ महानगरपालिकालाई त्यही किसिमको निर्देशन दिनको निमित्त म हार्दिक अनुरोध गर्न चाहन्छु’ सांसद तामाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?