+
+

चितवनमा एमालेको घरदैलो : आफ्नै कार्यकर्ता फकाउँदै रामप्रसाद

चितवन २ मा आफ्नै कार्यकर्तालाई फर्काउन सके मात्र पनि जित सुुनिश्चित हुने एमाले नेताहरुको विश्लेषण छ । त्यसैले युवा उम्मेदवार रामप्रसाद न्यौपानेलाई अघि सारेर एमालेले आफ्नै कार्यकर्ताहरुलाई फकाइरहेको छ ।

गौरव पोखरेल सुवास पण्डित गौरव पोखरेल, सुवास पण्डित
२०८० वैशाख ६ गते १७:०८

६ वैशाख, भरतपुर (चितवन) । बुधबार अपराह्न भरतपुर महानगरपालिका–११, कैलाश टोलमा एमालेको चुनाव लक्षित शुभकामना आदानप्रदान कार्यक्रम थियो । साँझ ५ बजेलाई बोलाइएको कार्यक्रममा एमाले उम्मेदवार रामप्रसाद न्यौपाने पुग्दा ७ बजिसकेको थियो ।

‘महिलाहरुलाई गाह्रो भयो, बालबच्चा छन्, खाना बनाउनुपर्छ’, ८० वर्षीय जयप्रसाद भट्टराई भन्दै थिए, ‘७ बजे भनेको भए सबै काम भ्याएर आउँथे ।’ यही भएर भोट विग्रिने भन्दै अर्की एक कार्यकर्ता पनि फुस्फुसाउँदै थिइन् ।

त्यहीबीच साँझ ७ः१६ बजे चितवन २ का एमाले उम्मेदवार रामप्रसाद न्यौपाने हात हल्लाउँदै फुत्त कार्यक्रम हलभित्र प्रवेश गरे । उनका सहयोगीलाई एमाले कार्यकर्ताहरुले ढिला हुँदा मान्छेहरु कम भएको गुनासो गरे ।

सहयोगीले पहिल्यै ७ बज्ने जानकारी गराएको सुनाए । ‘चुनाव हो, धेरैतिर भ्याउनुपर्छ अलिकति तलमाथि त भइहाल्छ नि’, उनी सम्झाउँदै कैलाशेश्वर महादेव मन्दिर परिसरभित्र छिरे ।

कैलाश टोल विकास समितिको संयोजनमा भएको कार्यक्रममा न्यौपानेले घरदैलोमा जाने समय थोरै भएकाले समय मिलाउन गाह्रो भएको सुनाए । ‘शहरी जिल्ला हो, एकदमै धेरै घर भएको जिल्ला पनि हो । एकदिनमा ५० वटा घरै भ्याइएछ भने पनि ५०० वटा घर भ्याउन कति दिन लाग्ला सम्झनुस् त’, उनले कार्यकर्तालाई सम्झाए, ‘यहाँ ४५ सय घर छन्, एउटा वडामा ४ हजार बढी भएका त ७/८ वटा वडा छन् ।’

न्यौपानेले निर्वाचनपछि टोल सुधार समिति र टोल कमिटीमार्फत योजनाहरु लगेर कार्यान्वयन गर्ने सोचेको सुनाए । ‘आफ्नो जनप्रतिनिधि अफ्ठ्यारो सफ्ठ्यारो सबै ठाउँमा होस् भन्ने चाहना हुन्छ, त्यसैले म जे गर्छु, तपाईंहरुका बीचमा पारदर्शी ढंगले गर्छु’, उनी भन्छन्, ‘मैले जित्दा तपाईंहरुले पनि जित्ने हो, हार्दा तपाईंहरुले हार्ने हो, म विनाको तपाईं र तपाईं विनाको मको कुनै अर्थ छैन । त्यसकारण यो राम न्यौपाने तपाईंसहितको राम न्यौपाने हो ।’

उनले आमनिर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तर्फ लक्षित गर्दै आफ्नो गाउँ ठाउँको मान्छे जनप्रतिनिधि नभए कोट्याउने अधिकार समेत नहुने बताए । ‘आफ्ना जिल्लाको गाउँठाउँको जनप्रतिनिधि हुँदा जतिसुकै बेला कोट्याउने अधिकार रहन्छ, मैले टेलिफोन माग्दै बाँड्दै हिँडेको छु । अरुले दिएका छन् ?’, न्यौपाने मतदातासँग प्रश्न गर्छन्, ‘ढुक्कसँग आफ्ना समस्या मसँग राख्न सक्नुहुन्छ, सकेको म पहल गर्छु ।’

भरतपुर महानगरपालिकाको वडा नं. ११ निर्णायक वडा समेत भएको बताउँदै उनले विगतको एमाले मतलाई जोगाउन सके मात्रै पनि पुग्ने बताए । त्यसैले उनले आफ्नै कार्यकर्तालाई फकाइरहेका छन् । ‘हिजोका गल्तीलाई सोचेर अर्थ छैन, नयाँ ढंगले परिस्कृत गर्ने हो’, न्यौपाने कार्यकर्तालाई भन्छन्, ‘बाहिरको मान्छेले आएर गर्दिएला भनेर सोच्दा पछि पछुताउनुपर्ने हुनसक्छ ।’

पहिलो चुनावी परीक्षा

चितवनको साबिक कल्याणपुर गाविस हालको माडी नगरपालिका–७ का न्यौपानेलाई आमचुनावमा पार्टीले चितवन ३ बाट टिकट दिएको थियो ।

तर, तत्कालीन सत्तारुढ गठबन्धनको भागबण्डामा चितवन ३ माओवादी केन्द्रको भागमा परेपछि कांग्रेसका आकांक्षी दिनेश कोइरालाले बागी उम्मेदवारी दिए । एमालेले बागी उम्मेदवार कोइरालालाई सहयोग गर्ने निर्णय गरेपछि न्यौपानेको टिकट खोसिएको थियो ।

पाँच महिनापछि भएको उपनिर्वाचनमा उनले चितवन २ मा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन् । यही क्षेत्रबाट दुई पटक निर्वाचित भइसकेका नेता कृष्णभक्त पोखरेलले उनलाई ठाउँ छाडिदिएका हुन् ।

रास्वपाका रवि लामिछानेविरुद्ध प्रतिस्पर्धा गर्न स्थानीय र युवा नेतृत्व अघि सार्नुपर्ने निष्कर्षसहित पार्टीले न्यौपानेलाई अघि सारेको थियो । चुनावी अभियानमा पनि उनले मतदातालाई आफू स्थानीय समस्यासँग भिजेको व्यक्ति भएको बताउँदै मत मागिरहेका छन् ।

मंगलबार पदमपुरको घरदैलो अभियानमा उनले चितवनको हरेक समस्याबारे आफू जानकार रहेको बताए । ‘जनताको मत बटुलेर जनताको मतलाई सम्मान गर्न नसक्नेलाई फेरि मत दिने अवस्था बन्यो भने यो जिल्ला र क्षेत्र बन्दैन’, उनी भन्छन्, ‘अहिले आफ्नै जिल्लाको प्रतिनिधि छनौट गर्ने मौका आएको छ ।’

उनले बाहिरबाट आएका व्यक्तिलाई व्यवसाय, पर्यटन प्रवर्द्धन लगायतका कुरामा सहयोग गर्न सकिने भए पनि जनप्रतिनिधिको यहीँका जनतासँग विवाह, व्रतबन्धको सम्बन्ध हुनुपर्ने सुनाए । ‘त्यस्तो भयो भने मात्र जनप्रतिनिधिसँग संवाद गर्न पाइन्छ, खबरदारी गर्न पाइन्छ’, न्यौपाने भन्छन्, ‘त्यसैले यसपटक कोही पनि झुक्किनु हुँदैन भन्ने आशा छ ।’

चुनावी अभियानमा उनको प्रचार सामग्रीमा पनि न्यौपाने स्थानीय युवा नेता भएको विषयलाई जोड दिइएको छ । ‘चितवनको माटोले चिनेको, जनताको मनमा बसेको, युवा नेता रामप्रसाद न्यौपाने’को माइकिङसहित उनको घरदैलो अभियान चलिरहेको छ ।

समय अभावका कारण घरघर जान सम्भव नहुने भन्दै उनी पिकअप गाडीमा चढेर मुख्य–मुख्य चोकमा मतदातासँग भेट गरिरहेका छन् । कालिका नगरपालिका–३, पदमपुर चोकमा पुग्दा उपस्थित कार्यकर्ताहरुसँग उनको चुनावी गीतमा नाचिरहेका थिए । उनी पनि त्यसमा मिसिँदै नाच्न थाले ।

केहीबेरपछि सहयोग गरिदिनु पर्‍यो भन्दै नजिकका घरहरुमा प्रवेश गरे । ‘ल सहयोग गरिदिनु पर्‍यो है, म रामप्रसाद न्यौपाने । तपाईंहरुकै युवा नेता,’ उनी बोलीरहँदा आँगनमा निस्किएकी महिलाले मुन्टो हल्लाइन् ।

अघिल्लो घरमा दुई युवा बसिरहेका थिए । ‘म अनेरास्वियूको पहिलेको केन्द्रीय सदस्य, अहिले उम्मेदवार छु है’, दुवै जना फिस्स हाँसे । थप केही बोलेनन् ।

चोकमै उभिएकी थिइन्, ६६ वर्षीया राजकुमारी थारु । श्रद्धापूर्वक दुई हात जोड्दै रामप्रसादले उनीसँग मत मागे । राजकुमारी पनि मुसुक्क हाँसिन् ।

एमालेका एक जना नेताका अनुसार आफ्नै कार्यकर्तालाई अड्याउन सकिए जित निस्कने पार्टीको विश्लेषण छ । त्यसैले आफ्नै कार्यकर्तालाई फकाउन पार्टीले मिहिनेत गरिरहेको छ ।

घरदैलो टोली अघि बढेपछि टोलका सबैले सल्लाह गरेर मत हाल्ने गरेको सुनाइन् । ‘पहिले त सूर्यमै हालेको हो, यसपालि के हो मलाई त थाहा पनि छैन’, लजाउँदै उनी बोलिन् ।

पदमपुरको सभामा उनले मतदाता फकाउन पौराणिक कथन पनि प्रयोग गरे । ‘कुनै बेला रावणले पनि आच्छुआच्छु परेका थिए, तर अन्त्यमा रामकै जीत भयो’, उनले भने, ‘म रामप्रसाद न्यौपाने पनि त्यही राम हुँ ।’

सबैले रावणलाई परास्त गर्ने उनले बताए । उनले आफू एमालेको उम्मेदवार मात्र नभएर युवा र महिलाको पनि उम्मेदवार भएको बताए । नैतिकताको गफ मात्र दिने होइन, आफूले साँच्चिकै नैतिकवाद भएर देखाइदिने उनले बताए ।

एमालेका एक जना नेताका अनुसार आफ्नै कार्यकर्तालाई अड्याउन सकिए जित निस्कने पार्टीको विश्लेषण छ । ‘पहिले पटक–पटक उम्मेदवार दोहोर्याएको भन्ने मतदातामा पर्न गयो, यसपालि यहीँको लोकप्रिय युवा नेतालाई उठाउँदा परिस्थिति फेरिएको छ’, उनी भन्छन्, ‘यसैले आफ्नै कार्यकर्तालाई फकाउन पार्टीले मिहिनेत गरेको छ, जित सुनिश्चित छ ।’

क्षेत्रपुरका एमाले कार्यकर्ता मदनकृष्ण भण्डारी हिजो बाटो बिरायौं भन्दै मन बदल्नेको संख्या बढ्दो रहेको बताउँछन् । भन्छन्, ‘यसपटक पहिले जस्तो परिस्थिति छैन ।’

घरदैलो अभियानमा जाँदा आफूहरुको पक्षमा माहौल बढ्दै गएको देखिए पनि विपक्षीका कमजोरीबारे जनतालाई बुझाउन नसकिएको एमाले नेताहरुको टिप्पणी छ । ‘अहिले एमाले, कांग्रेस वा मतदाताको कारण नभइ रवि लामिछानेले राज्य संयन्त्रलाई ढाँटेका कारण फेरि उपचुनाव हुन लागेको हो’, न्यौपाने भन्छन्, ‘राजनीतिक आन्दोलनसँग अपरिचित व्यक्तिको मनपरि र कानून मिचेका कारण फेरि चुनाव भएको हो ।’

यसपालि मतदाताले सही बाटो समात्ने भन्दै उनले आफ्नो मतसँगै अन्य दलको पनि मत फर्काएर विजयी हुने सुनाए ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?