+
+

५ महिनापछि चितवन २ मा देखिएको बदलाव

मंसिरको मत जोगाउने रविको प्रयास, पुरानो मत फर्काउने प्रयासमा कांग्रेस एमाले

पाँच महिनाअघि ३४ हजार बढी मतान्तरले निर्वाचित रवि लामिछानेलाई चुनौती दिन कांग्रेस–एमालेले स्थानीय रूपमा भिजेका युवा उम्मेदवार अघि सारेका छन् । त्यसैले यसपटक उनीहरूले मत बढाउन सक्छन् तर लामिछानेप्रति मतदाताको मनोविज्ञान फेरिएको छैन ।

गौरव पोखरेल सुवास पण्डित गौरव पोखरेल, सुवास पण्डित
२०८० वैशाख ६ गते २०:४१

६ वैशाख, भरतपुर (चितवन) । अहिले चितवनको तापक्रम ४० डिग्री सेल्सियस छ । जिल्लामा मौसमी गर्मी जति बढ्दो छ, राजनीतिक सरगर्मी त्योभन्दा कम छैन ।

चितवन–२ मा चार दिनपछि हुन लागेको उपचुनावलाई लक्षित गरेर दलहरूले भरतपुरमा शक्ति केन्द्रित गरेका छन् ।

‘पहिले पनि अनेक जालझेल गरेका हुन्, युवा पुस्ता उदाएको नेताहरूलाई मन परेको छैन’, भरतपुर महानगरपालिका–१२, मुनाल चोकका नरेन्द्र रेग्मी भन्छन्, ‘पहिले स्वतन्त्र पार्टी पनि छ भन्ने स्वीकारेकै थिएनन्, नतिजाले घण्टी बजाएपछि नेताहरू बल्ल झुल्किएका छन् ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादबीच १३ माघमा पदमुक्त भएपछि पुनः हुँदै गरेको उपनिर्वाचनलाई मुख्य राजनीतिक दलले प्रतिष्ठाको विषय बनाएका छन् । जस्तो कि कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य उदय राणा लगायत नेता आफ्ना उम्मेदवार जीतनारायण श्रेष्ठलाई जिताउन भरतपुरमा अड्डा जमाएर बसेका छन् ।

नेकपा एमालेले आफ्ना उम्मेदवार रामप्रसाद न्यौपानेलाई साथ दिन पोलिटब्यूरो सदस्य गोकुल बास्कोटालाई खटाएको छ । पार्टी सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टले पनि चितवन आउजाउ बाक्लो पारेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली आफैं भरतपुर आउन इच्छुक भए पनि स्वास्थ्यका कारण तत्काललाई यो सम्भव हुनसकेको छैन ।

४ मंसिरको आम चुनावमा भारी मतान्तरले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि प्रायः चितवन छाडेका छैनन् । रास्वपाका नेता, कार्यकर्ताहरूले ‘काम गर्न खोज्दा–खोज्दै पाँच महिनामै हटाइएको’ भाष्य चितवनमा स्थापित गर्न खोजिरहेका छन् । यसअघि ४९ हजार ३०० मत ल्याएर विजयी भएको पृष्ठभूमिमा फेरि सहज जित निकालेर संसद प्रवेश गर्ने दाउमा छन्, लामिछाने ।

तर, दोस्रो पटकको चुनाव उनी स्वयंले पनि पहिलेझैं सजिलो मानेका छैनन् । पाँच महिनाअघिको आमचुनावमा आफूहरूलाई मुख्य दलहरूले वास्ता नगरेको लामिछानेको विश्लेषण छ । ‘अहिले धेरै किसिमका हत्कण्डा अपनाइएका छन्, सायद अघिल्लो निर्वाचनमा हामीलाई त्यति धेरै ध्यान दिइएको थिएन’, आँपटारीमा आयोजित चुनावी सभामा उनले भने, ‘त्यतिबेला हेपियो होला, तर पार्टी स्थापनाको ६ महिनामा २० सिट ल्याउन सकेकाले पनि होला, पुरानो दलले घेराबन्दी गर्न खोजेको अवस्था देखेको छु ।’

सामाजिक सञ्जालमा शुभेच्छुकबाट भएका तिखा टिप्पणीलाई लिएर पनि निरन्तर गाली खानु परेको लामिछाने बताउँछन् । आफूहरूलाई गरिएको प्रश्न हेर्दा ६ महिनाअघि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले नै देश बिगारेको जस्तो देखाउन खोजेको उनको भनाइ छ ।

सोमबार भरतपुर महानगरपालिका–२, आँपटारीमा आयोजित सभामा उनले यति धेरै आलोचना र घेराबन्दीको कारण केका लागि हो भन्ने बुझ्न नसकेको बताए ।

पुराना राजनीतिक दल पनि मंसिरको परिणामबाट साँच्चिकै झस्किएका छन् । त्यसैले उनीहरूले पनि रविविरुद्ध प्रतिस्पर्धा गर्न युवा उम्मेदवार अघि सारेका छन् । नेपाली कांग्रेसले नेविसंघको राजनीतिबाट आएका जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

‘रवि लामिछाने चुनाव जितेपछि कति पटक चितवन आए ?’ घरदैलो अभियानमा भेटिएका कांग्रेस केन्द्रीय सदस्य उदयशमशेर राणा प्रश्न गर्छन्, ‘त्यसैले यसपालि चितवन–२ का मतदाता झुक्किंदैनन्, स्थानीयस्तरमा भिजेका युवा नेता श्रेष्ठलाई नै चुन्छन् ।’

आमचुनावमा नेपाली कांग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । चितवनसँग व्यावसायिक नाता मात्रै भएका श्रेष्ठलाई सभापति शेरबहादुर देउवासँग निकटताका आधारमा टिकट दिएर स्थानीय आकांक्षीलाई पाखा लगाएको भन्दै चितवन कांग्रेसमा असन्तुष्टि देखिएको थियो ।

कांग्रेस नेतृत्वको गठबन्धनका अरू दलका नेताहरू आफूहरूको मत श्रेष्ठलाई गए पनि कांग्रेसले आफ्नै मत जोगाउन नसकेको विश्लेषण गर्छन् ।

‘यसपालि गाउँठाउँकै उम्मेदवार हुनुहुन्छ, चितवनका मतदाताले आफ्नै दाइभाइलाई रोज्छन्’, कांग्रेस भरतपुर महानगर समितिका कार्यवाहक सभापति बुद्धिकान्त न्यौपाने भन्छन्, ‘त्यसैले यसपटक चितवन २ ले स्थानीय उम्मेदवारलाई जिताएर सरप्राइज दिंदैछ ।’

कालिका नगरपालिका–९, शक्तिखोरमा जन्मिएका श्रेष्ठ आफूलाई चितवनको हरेक गाउँघर, टोल र शहरको स्थानीय समस्यासँग परिचित व्यक्ति भएको भन्दै प्रचार गरिरहेका छन् ।

नेकपा एमालेले पनि युवा नेता रामप्रसाद न्यौपानेलाई अघि सारेको छ । उनलाई चितवन–२ बाट दुई पटक निर्वाचित नेता कृष्णभक्त पोखरेलले ठाउँ खाली गरिदिएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेका बेला न्यौपानेले भरतपुर महानगर कमिटी अध्यक्षको जिम्मेवारी पाएका थिए । पछि पार्टी फेरि छुट्टिएपछि करिब ९ महिना पार्वती रावल एमाले जिल्ला अध्यक्ष भइन्, त्यसयता न्यौपानेले जिल्ला कमिटीको नेतृत्व गरिरहेका छन् ।

प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेले चितवन–२ मा २९ हजार २६४ मत ल्याएको थियो । पार्टीको त्यो मत टिकाउने अधिकतम प्रयासमा एमाले नेताहरू छन् ।

‘विगतमा चुनाव लुज गर्नुको कारण बुझेर डायग्नोसिस् गरिसकेका छौं, यसपटक चितवनमा काफी परिवर्तन आउँछ’, ग्रासरुट अभियानमा चितवन केन्द्रित एमाले नेता गोकुल बास्कोटा भन्छन्, ‘जनतामा परेका र पारिएका भ्रमहरू चिरिएका छन्, यसपटक कोही बहकिंदैनन् ।’

उम्मेदवार न्यौपाने पनि लामिछानेका कमजोरीमाथि प्रश्न गर्दै आफूलाई विश्वास गर्न मतदातासँग अपील गरिरहेका छन् । ‘जनतासँग कसरी सम्बन्ध स्थापित गर्ने भन्ने म जान्दछु । म कसैसँग रिसाउँदिनँ, प्रश्नसँग डराउँदिनँ’, राहदानी र नागरिकताबारे प्रश्न सोध्दा लामिछाने रिसाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको तर्फ संकेत गर्दै उनी भन्छन्, ‘हिजो मिडियामा हुनुहुन्थ्यो, सबै राजनीतिकर्मीलाई गाली गर्नुहुन्थ्यो । अहिले राजनीतिकर्मी हुनुहुन्छ, सबै मिडियालाई गाली गर्नुहुन्छ ।’

जनतालाई भ्रम सिर्जना हुँदा देखिएको लामिछानेको माहोल यसपालि उल्टिनेमा ढुक्क रहेको न्यौपाने बताउँछन् । लामिछानेकै कारण उपनिर्वाचन भएको भन्दै त्यसले विगतको भ्रम अन्त्य गराएको उनले बताए ।

‘पुराना दललाई जुन आरोप लगाउनुभएको थियो, त्योभन्दा कैयौं गुणा समस्या उहाँहरूमा देखिएको छ’ उनी थप्छन्, ‘त्रेतायुगमा रावणले पनि आच्छुआच्छु पारेको थियो, तर अन्तिममा रामकै जित भयो । त्यसैले हरेक प्रवृत्ति र चुनौतीलाई अन्त्य गरेर यो रामप्रसाद न्यौपाने चितवन–२ मा निर्वाचित हुन्छ ।’

फेरिएको छैन मतदाताको मनोविज्ञान

रास्वपा उम्मेदवार लामिछाने सोमबार आँपटारीमा भएको चुनावी सभामा पुग्दा आमचुनावमा जस्तो मतदाताको स्वतस्फूर्त भीड थिएन ।

यसअघि भरतपुरको शिवघाटमा २५ कात्तिकमा भएको उनको चुनावी सभामा महिला र वृद्धवृद्धाहरू घरघरबाट आफैं घण्टी बोकेर चुनावी अभियानमा निस्किएका थिए ।

आइतबार र सोमबार उनको चुनावी अभियान हेर्दा मतदातामा पहिले झैं उत्साह देखिन्न । यद्यपि, चितवन–२ मा उनीप्रतिको सद्भावमा कमी भने देखिन्न । भरतपुर महानगरपालिका–३, प्रेस मार्गका कुलराज श्रेष्ठ लामिछानेलाई अनाहकमा मुख्य दलहरूले दुःख दिएको सुनाउँछन् ।

‘उनको जस्तो समस्या विदेश जाने हजारौं नागरिकको होला, तर जितिसकेपछि टुप्पोमा पुर्याएर तल खसाल्नु नेताहरूको नियत नभए के हो ?’ उनी प्रश्न गर्छन्, ‘युवा जति सबै विदेशिएका छन्, कलकारखाना सबै पुराना पार्टीले बेचिसके । उनीहरूले केही गर्न सकेनन्, अब रवि बाबुलाई नै जिताउने हो ।’

टेलिभिजन कार्यक्रम चलाउँदा विदेशमा अलपत्र परेका नागरिकको उद्धार गरेको बताउँदै उनी थप्छन्, ‘जिताएर पठाएपछि झन् धेरै गर्छन् भन्ने शतप्रतिशत विश्वास छ ।’ निर्वाचित भएयता लामिछाने अनेक विवादमा मुछिएका छन् । समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले लामिछानेको ‘कोर टिम’लाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो पनि सार्वजनिक भएको छ ।

तर, भरतपुर महानगरपालिका–४, धर्मचोककी पार्वती सापकोटा (६०) भन्छिन्, ‘त्यो सबै रवि बाबुलाई काम गर्न नदिने र फसाउने चाल हो ।’ रविले निर्मला हत्या प्रकरणका आरोपीलाई समात्छु भन्दै नेताहरूका पछाडि खटिएका प्रहरी हटाएर राम्रो काम गरेको भन्दै उनले दलहरूलाई त्यो चित्त नबुझेको बताइन् । प्रेस मार्गका कुलराज श्रेष्ठले त उल्टै सोधे– ‘गौतम बुद्धलाई आरोप लागेको थिएन र !’

प्रेस मार्गकै रेनु श्रेष्ठले आफूहरूको ४० जना सदस्य भएको महिला समूह रहेको बताउँदै सबैले घण्टीमा भोट हाल्ने बताइन् । ‘म पुस्तौंदेखि कांग्रेस हो, तर मेरा बालबच्चा छन्, विदेश जान्छन्’ उनले भनिन्, ‘भोलि साह्रोगाह्रो पर्दा कसले सहयोग गर्छ ? त्यसका लागि पनि पार्टीलाई होइन, रवि लामिछाने मान्छेलाई भोट हाल्ने हो ।’

उनले लामिछानेले पहिलेभन्दा धेरै मत ल्याउने विश्लेषण सुनाइन् । ‘मान्छे झन् जागरुक भएका छन्, रविप्रति नेताहरूको रवैया देखेर झन् आक्रोशित भएका छन्’ स्थानीय रामप्यारी श्रेष्ठले थपिन्, ‘त्यसैले फेरि रवि बाबुले नै जित्ने हो ।’

हाकिम चोकका व्यवसायी चन्द्रकान्त चापागाईं पार्टीप्रति वफदारले नै पाँच महिना अघि भोट हालेर लामिछानेलाई जिताएको भन्दै ‘ग्रासरुट’मा कसैको केही नलाग्ने बताउँछन् । ‘अहिले मान्छे बाहिर निस्किन कम भएका होलान्, गर्मीका कारण पनि होला’ उनी भन्छन्, ‘तर, भोट हाल्ने बेलामा कसलाई मत दिने भन्ने सबैलाई राम्रोसँग थाहा छ ।’

अहिले कांग्रेस र एमालेले पनि युवा उम्मेदवार उठाएको उल्लेख गर्दै उनले लामिछानेले पुराना दलहरू पनि सफा गरिदिएको टिप्पणी गरे । ‘कांग्रेस एमालेका नेता आउँछन्, सबै रविकै विरोध गर्छन्, जान्छन्’ चापागाईंले भने, ‘त्यसले मतदातालाई उनीहरूप्रति झन् आक्रोशित बनाएको छ ।’

भरतपुरमा आइतबार, सोमबार र मंगलबार कांग्रेस–एमालेको चुनावी सभा पछ्याउँदा अरू उम्मेदवारहरूले रविको कमजोरीलाई सक्दो प्रचार गरेर आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरिरहेको देखिन्छ ।

रवि भने ठिक विपरीत छन् । उनले कोही उम्मेदवारलाई लक्षित गरेर टिप्पणी गरेका छैनन् । बरु पार्टीभित्र देखा परेका विवादहरूबारे स्पष्टीकरण दिंदै आफूहरू विरुद्ध घेराबन्दी गरिएको बताउने गरेका छन् । ‘मैले विगतमा पनि कोही उम्मेदवारबारे व्यक्तिगत कुरा बोलेको थिइनँ, यसपालि पनि बोल्दिनँ’, लामिछाने भन्छन्, ‘अवस्था परिवर्तन गर्न आएका हौं, मतदाता नै हाम्रो शक्ति हो ।’

उनको पक्षमा मतदाता कसरी अडिएका छन् भन्ने अन्य उम्मेदवारको चुनावी अभियानमा जाँदा पनि देखिन्छ । आइतबार कांग्रेस उम्मेदवार श्रेष्ठ मुनाल चोक छेउ चुनावी अभियानमा एक घरभित्र छिर्न खोज्दा कोही पनि बाहिर निस्किएनन् । केहीबेरमा छतबाट बाहिर निस्किएका उनीहरूले हात हल्लाउँदै घण्टी बजाउने संकेत गरे । श्रेष्ठ चुपचाप आफ्नो बाटो लागे ।

भरतपुर–४, धर्मचोकमा भेटिएकी पार्वती सापकोटाले आफ्नो टोलका अधिकांशले घण्टीमा मत हाल्ने बताइन् । ‘पहिले सबैले घण्टीमै भोट हालेको हो, कम्तीमा पाँच वर्ष त उसलाई हेर्नु पर्यो नि !’ सापकोटाले भनिन्, ‘पुराना नेता जसलाई जिताए पनि केही हुने होइन, घर अगाडि बाटो पिच भएको थिएन । उहाँले ठेकेदारलाई थर्काउने वित्तिकै काम भयो । यस्तो नेता चाहिएको हो ।’

४ मंसिरको चुनावमा लामिछानेले ४९ हजार ३०० मत ल्याएर निर्वाचित हुँदा पाँचदलीय गठबन्धनका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए ।

आमचुनावमा उम्मेदवारी दर्ताको अन्तिम समयमा रविले चितवन–२ रोजेका थिए । पहिले उनको नजर चितवन–३ मा थियो, जहाँबाट यसअघि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए ।

कांग्रेस एमालेका स्थानीय नेताहरूको बुझाइमा, राप्रपा नेता विक्रम पाण्डेले चितवन–३ नआए क्षेत्र नं. २ मा सहयोग गर्ने वचन दिएका थिए । रवि पत्नी निकिता पौडेलका बुबा उद्धव पौडेल राप्रपाका नेता हुन् । त्यसैले विक्रमले पौडेलमार्फत रविसँग संवाद गरेको उनीहरूको बुझाइ छ । तर उनीहरू यसको कुनै ठोस आधार बताउन चाहिं सक्दैनन् ।

‘यसपालि विक्रम पाण्डेलाई केही लिनु छैन । राप्रपा उम्मेदवार जीवलाल पुरीले पनि चुनावी अभियानलाई तीव्र बनाउँदै लगेका छन्’ भरतपुरका एक कांग्रेस नेताको विश्लेषण छ, ‘यसपालि राप्रपाको मत कता जान्छ भन्ने कुराले पनि मतान्तर कति हुन्छ भन्ने निर्धारण गर्छ ।’

प्रदेशसभा निर्वाचनमा राप्रपाले चितवन–२ मा १५ हजार २६४ मत ल्याएको थियो । राप्रपाको यो मत कता जान्छ भन्नेले पनि धेरै फरक पार्ने उनी बताउँछन् । रास्वपाका चितवन सभापति कृष्णप्रसाद भुसाल चाहिं सभापति लामिछाने यसपटक विगतभन्दा फराकिलो अन्तरले विजयी हुने दाबी गर्छन् । उनी भन्छन्, ‘पहिले पनि आफ्नो भोट जोगाउन सबैले खोजेकै हुन्, यसपालि झन् बढी मतान्तरले जित्छौं ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?