+
+

युरोपका विभिन्न देशमा नेपाल चिनाउने कार्यक्रम

वसन्त रानाभाट वसन्त रानाभाट
२०८० वैशाख ६ गते १६:५४

बार्सिलोना । बहुसांस्कृतिक पहिचानसहित स्पेनका नेपालीहरुले आइतबार पर्यटकीय सहर बार्सिलोनामा मिनी नेपालको झल्को दिएका छन् ।  विश्व प्रसिद्ध रोमन क्याथोलिक गिर्जाघर अगाडि विभिन्न भेषभूषामा सजिएका नेपालीहरुको नृत्यले विदेशीहरुको ध्यान तानेको हो ।

१४१ वर्षअघि शिलान्यास भएर पनि अझै बनिरहेको ‘सग्रादा फैमिलिया’ नामको चर्च हेर्न बर्षेनी लाखौं पर्यटकहरुको भीड लाग्ने गर्छ । भूमिगत रेलमार्ग हुँदै चर्च पुगेका पर्यटकहरु आइतबार नेपाली गीत संगीतमा रमाएका थिए ।

बार्सिलोना नगरपालिकाको सामुदायिक विकास योजना (प्ला कमुन्तारी) साग्रदा फैमिलियाको अन्तर साँस्कृतिक कार्यक्रमअन्तर्गत नेपाली जनप्रगतिशिल मञ्च स्पेनको पहलमा कार्यक्रम सम्पन्न भएको हो।

नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष विशाल ढुंगानाले ठूलो संख्यामा विदेशीहरुले कार्यक्रमको अवलोकन गरेको बताए । ‘दिउँसो देखि रातिसम्म करिव दशौं हजारले नेपाल चिनाउने कार्यक्रमको अवलोकन गरेको मेरो अनुमान छ’, उनले थपे, ‘पर्यटन प्रवर्द्धनसम्बन्धी सामग्रीहरु सहित स्टलहरु राख्यौं । त्यहाँ पनि थुप्रै विदेशीहरुले नेपालबारे चासो राखेका थिए ।’

बेल्जियमको लुभेनमा नेपाल फेस्टिबल : 

नेपाली कलासंस्कृति मार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बेल्जियममा नेपाल फेस्टिबल कार्यक्रम शनिवार सम्पन्न भएको छ । एनआरएनए बेल्जियमको आयोजना, नेपाली राजदूतावासको संयोजन तथा बेल्जियममा सक्रिय नेपाली सघंसस्थाको सहकार्यमा कार्यक्रम लुभेन सहरमा सम्पन्न भएको हो ।

बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली नयाँ बर्षको उपलक्ष्यमा शुभकामाना ब्यक्त गरे । उनले नेपाली मेला भब्य रुपमा आयोजनामा गरेकोमा बेल्जियममा रहेका नेपाली संघ सस्थाहरुको प्रशंसा गरे ।

कार्यक्रममा लुभेन नगरपालिकाका प्रमुख, बेल्जियमका लागि विभिन्न देशका कुटनीतिक नियोगका प्रतिनिधिहरु, एनआरएनए आईसीसी पदाधिकारी लगायत बेल्जिक नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो।

मेलामा नेपाल र नेपालीको चिनारी झल्कने स्टलहरु समेत राखिएको थियो। कलाकारहरुले नेपाली कला र संस्कृति झल्कने प्रस्तुतिसंगै गीत संगीत प्रस्तुत गरेका थिए।

माल्टा बन्यो नेपालमय 

युरोप र उत्तर अफ्रिकाको बीचको सानो युरोपेली मुलुक माल्टा आइतबार नेपालमय बन्यो।नेपाल माल्टा च्यारिटी अर्गनाइजेसनको आयोजनामा राजधानी भालेट्टामा सम्पन्न कार्यक्रमले मिनी नेपालको झझल्को दिएको थियो ।

कार्यक्रममा माल्टाका विपक्षी दलका नेता बर्नार्ड ग्रेच उपस्थिति हुँदै नेपालीहरुसँगै नयाँ वर्ष मनाए । उनले माल्टाको अर्थतन्त्रमा नेपालीहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै नेपाली कला र संस्कृतिको प्रंशसा समेत गरे ।

कार्यक्रममा सगरमाथा आरोहण गर्ने पहिलो माल्टिज आरोही मार्को कारवानालाई सम्मान गरिएको थियो। उनी सगरमाथा आरोहण गर्दा लगाएको जुत्ता र शिखरमा फहराएको माल्टिज झण्डा बोकेर कार्यक्रममा उपस्थित भएका थिए ।

सगरमाथा सफाइ अभियानमा भाग लिन हालै नेपालबाट फर्किएका मार्क गलेआले नेपाली कला र सस्कृतिको प्रसंशा गरे।

आयोजक नेपाल माल्टा च्यारिटी अर्गनाइजेसनका संयोजक प्रकाश भण्डारीले कार्यक्रम ऐतिहासिक भएको अनलाइखबरलाई बताए।

‘झण्डै ३ हजारको उपस्थिति सहित माल्टाको इतिहासमा नै यो उत्कृष्ट कार्यक्रम हो’, संयोजक भण्डारीले भने, ‘विभिन्न जातजातिका भेषभूषामा सजिएर हामीले माल्टाको संसद भवन हुँदै १ किलोमिटर मार्चपास पनि गर्‍यौं । नेपालको पर्यटन प्रवर्द्धनका लागि कार्यक्रमार्फत  ठूलो टेवा पुग्ने विश्वास लिएका छौ ।’

लेखकको बारेमा
वसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?