+
+

खुला र प्याकेटको दूधमा कुन शुद्ध ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० वैशाख ७ गते १६:१६

काठमाडौं । शरीरमा आवश्यक पोषक तत्व पूर्ति गर्ने दूधको फाइदाका विषयमा त हामीमध्ये धेरै जानकार नै छौं । तर दूध वितरण प्रणाली र गुणस्तरको विषयमा भने हामीले कमै चासो हुन सक्छ ।

गाईभैसीको दूध बजारसम्म आइपुग्न विभिन्न चरण र विधि हुन्छन् । एउटा त स्थानीय व्यक्तिमार्फत पाइने फार्मको दूध हो । यसलाई बोलीचालीको भाषामा ‘लोकल दूध’ भनेर भनिन्छ । अर्को प्लास्टिककको प्याकेटमा आउने प्रसोधित दूध र तेस्रो डेरी पसलमा पाइने खुल्ला दूध ।

यी दूध स्वास्थ्यका लागि कति फाइदजनक वा हानिकारक छन् । यीमध्ये कुन दूध शुद्ध हुन्छ र शुद्धता कसरी थाहा पाउने ? लगायत विषयमा केन्द्रित रहेर खाद्य अनुसन्धान अधिकृत उज्ज्वल रायमाझीसँग गरिएको कुराकानीको सम्पादित अंश :

बजारमा पाइने प्याकेट दूध, डेरीको दूध र फार्म दूधमध्ये कुन राम्रो हुन्छ ?

प्याकेटमा पाइने दूधमा सम्पूर्ण पोषक तत्त्व हुन्छ, त्यसैले प्याकेट दूध स्वास्थ्यको दृष्टिकोणले उपयोगी नै हुन्छ । गाईवस्तुको दूध छिटो बिग्रिने भएकाले त्यसलाई छिटो बिग्रिन नदिन प्याकेजिङ गरिएको हो । उपभोक्तासम्म सजिलै पुर्‍याउन सकियोस् भनेर पनि त्यसलाई प्याकेजिङ गरिएको हो । यस्ता दूधले स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्ने कुनै तथ्य सार्वजनिक भएको छैन ।

घरनजिकै फार्म छ र त्यहाँ गाईवस्तु पाल्ने तरिकादेखि दूधको शुद्धीकरणको बारेमा राम्ररी थाहा छ भने यो खालको दूध पनि राम्रो नै हुन्छ । दूध बढाउन अतिरिक्त ग्रोथ हर्मन, भिटामिन, यान्टिबायोटिक दिइएको छैन भन्ने थाहा छ भने त्यो फ्रेस दूध पनि उपयोगी हुन्छ ।

डेरीको दूधमा सरकारी मापदण्ड पूरा गरेको छ कि छैन हेर्नुपर्छ । तर हाम्रोमा सरकारी  अनुगमन कम हुने भएकाले त्यसको शुद्धतालाई भने उपभोक्ताले नै जाँच गर्नुपर्छ ।

शुद्ध दूध कसरी चिन्ने ?

नेपाल सरकारले तोकेको न्यूनतम गुणस्तरको मापदण्ड पूरा गरेको छ कि छैन भनेर जाँच  गर्ने राम्रो उपाय भनेको प्रयोगशाला जाँच नै हो । साथै घरमै पनि दूधको शुद्धीकरण जाँच गर्न सकिन्छ ।

दूधमा पानी मिसाएको छ कि छैन भनेर नेपाली कागजमा जाँच गर्न सकिन्छ । नेपाली कागजमा दूध राख्दा छिट्टै भिज्यो भने त्यसमा बढी पानी मिसाएको हुन्छ ।

दूधलाई उमालेर चिसो हुन छोडिदिनुपर्छ । चिसो हुँदा दूधमा लाग्ने तर पातलो छ भने दूधबाट ‘फ्याट’ तर निकालिएको छ वा दूधमा मिसावट भनेर बुझ्न सकिन्छ ।

फार्मबाट ल्याइने दूधमा भने प्लास्टिकको भाँडा भन्दा स्टिनलेस स्टिल र आल्मुनियमको भाँडामा ल्याएको दूध लिनु स्वास्थ्य दृष्टिकोणले राम्रो हुन्छ । प्लास्टिकको भाँडा पेट्रोकेमिकलबाट बनेको हुन्छ । लामो समयसम्म प्लास्टिकको भाँडामा प्याक गरिएको दूध खाँदा हाम्रो शरीरभित्र हुँदै रगतमा पनि त्यो पेट्रोकेमिकल पुग्न सक्छ ।

दूधमा के कस्ता पोषक तत्त्व पाइन्छ ?

हामीले खाने गाईवस्तुको दूधमा शारीरिक विकासका लागि चाहिने भिटामिन, मिनरल्स, क्याल्सियम, आइरन, फ्याट, प्रोटिन र कार्बोहाइड्रेट लगायत पौष्टिक तत्त्व पाइन्छ ।

प्याकेट दूधमा पनि यी सबै पोषक तत्त्व पाइन्छ ?

डीडीसीलगायत दुग्ध उद्योगबाट उत्पादित प्याकेट दूधमा सरकारको खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभागले न्यूनतम गुणस्तरको मापदण्ड तोकेको छ । त्यो मापदण्ड पूरा नगरेको खाद्यपदार्थ बिक्री वितरण गर्न पाइँदैन । त्यसैले प्याकेट दूधमा पनि दूधमा पाइने पोषक तत्त्व पाइन्छ ।

अहिले त गाईवस्तुलाई घाँसभन्दा पनि खोले र भूस ख्वाएर पालिन्छ, यसरी पालेको गाईको दूधमा पनि सबै पोषक तत्त्व हुन्छ ?

आजभोलि चरनका लागि पर्याप्त जमिन नभएकाले गाईवस्तुलाई खोले भूस खुवाएर पालिएको हो । नेपाल मात्र होइन विश्व बजारमा नै गाईवस्तुको दूध बढाउन अतिरिक्त ग्रोथ हर्मन, भिटामिन, एन्टिबायोटिक, दिने गरेको पनि पाइन्छ ।

यसरी गाईवस्तुलाई दिइने विभिन्न प्रकारका औषधिले दूधको गुणस्तरमा केही गिरावट त ल्याउँछ । त्यसैले हरियो घाँस खाएका, चरेका र विभिन्न जडिबुटी खाएर हुर्किएका गाईवस्तु घरनजिकै पालिएको छ भने त्यो दूधमा अन्य दूधको तुलनामा बढी पोषक तत्त्व पाइन्छ । प्याकेटको दूध किन्दा भने दूधको गुणस्तरको बारेमा सचेत हुन उपभोक्ता प्याकेटको पछाडि लेखिएको विवरण पढ्नुपर्छ ।

गाईवस्तुको दूध र पाउडर दूधमा के फरक छ ?

तरल दूधबाट नै पाउडर दूध बन्ने हो । तरल दूधलाई प्रशोधन गरेर पाउडर दूध बनाइन्छ । प्रसोधनको क्रममा दूधमा भएको केही पोषक तत्त्व कम हुन सक्छ ।

पाउडर दूधको इतिहास हेर्ने हो भने दोस्रो विश्वयुद्धको बेलामा तरल दूध छिट्टै बिग्रिने भएकाले सैनिकहरूलाई लडाइँको लागि जाँदा पोषक तत्त्व पुगोस् पाउडर दूध बनाउन सुरु गरियो । लामो यात्रामा जाँदा पाउडर दूध बोकेर जान सजिलो पनि हुन्छ, त्यसैले यसलाई पनि विकल्पको रूपमा प्रयोग गर्न सक्छौँ । तर पोषणको हिसाबले हेर्दा भने ताजा दूध खानु राम्रो हो ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?