+
+

जितगढीमा मनाइयो विजयोत्सव  

रासस रासस
२०८० वैशाख ७ गते १८:२२

७ वैशाख, रुपन्देही । नेपाली सेनाले अङ्ग्रेज फौजलाई पराजित गरी देशको रक्षा गरेको स्मरण गर्दै आज बुटवलको जितगढीमा विजयोत्सव गरिएको छ ।

विसं १८७२ वैशाख ७ गते पाल्पाका तत्कालीन कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाले वीरता र निडरताका साथ लडेर विजयको झण्डा फहराएको थियो । इतिहासविद् निर्मल श्रेष्ठका अनुसार युद्धमार्फत आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग विसं १८७१ देखि ७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरी अङ्ग्रेज फौजलाई फिर्ता पठाएको इतिहास छ ।

सोही इतिहासको सम्झना गर्दै बुटवल उपमहानगरपालिकाले हरेक वर्ष नेपाली वीरताको चिनो बुटवलको जितगढी किल्लामा कार्यक्रम गरी विजयोत्सव मनाउँदै आएको छ । ‘यो वीरगाथाले भरिएको क्षेत्र हो, सबैको सहयोग सहकार्यमा जितगढीको विकास सम्भव भएको हो । यसको अझै विकास गरेर पर्यटनसँग जोड्नुपर्छ’, विजयोत्सव समारोहमा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले भने ।

सन् १८७१ देखि १८७२ सम्म नेपाल/अङ्ग्रेजका बीचमा युद्ध भए । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेको थिएन । तर, वैशाख ७ गते भएको अन्तिम युद्धमा नेपाली सेना विजयी भएको थियो ।

सोही खुसियालीमा आज जितगढी किल्लामै विजय उत्सव मनाइएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए । ‘बुटवलको भूमिबाट युद्ध नजितिएको भए आज हामी स्वाभिमानी हुने थिएनौं तर युद्ध जित्यौं त्यसैले गर्व गर्न पाएका छौँ’, उनले भने ।

बुटवल उपमहानगरपालिकाले गुरुयोजना नै बनाएर जितगढीको संरक्षण र विकासको काम अघि बढाएको थियो । उपमहानगरले सबै सरोकारवालाको सहयोगमा हरेक वर्ष विजयोत्सव गर्ने घोषणा गरेको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । ‘यो गौरवमय इतिहासलाई सबैले जान्न र बुझ्न पाउनुपर्छ यसका लागि हरेक वर्ष विजयोत्सव आयोजना गर्ने घोषणा गरेका छौँ’, उनले भनिन् ।

केही वर्षअघिसम्म सुसुप्त अवस्थामा रहेको यो गढीले गुरुयोजना बनाएर काम थालेपछि अहिले रुप नै फेरिएको उपमहानगरपालिका निवर्तमान प्रमुख शिवराज सुवेदीको भनाइ छ । ‘यो देश बचाउन विर र विरङ्गनाले युद्ध लडेको भूमि हो, यहाँ कैयौँ महिला सैनिकसँगै बच्चा बोकेर पनि लडेको इतिहास छ, त्यसैले यसको जगेर्न गर्न जरुरी छ’, उनले भने ।

बुटवल उपमहानगरपालिकाले गुरुयोजना नै बनाएर यो किल्लाको संरक्षण र सम्वर्द्धनको काम थालेको थियो । सोही गुरुयोजनाअनुसार किल्लाको संरक्षण र विकासमा नेपाली सेना सक्रिय भएर लागेको थियो ।

‘यो नेपाली सेनासँग जोडिएको इतिहास हो, इतिहासको रक्षा गर्नु नेपाली सेनाको कर्तव्य हो, त्यसैले यसको संरक्षण, सम्वद्र्धन र विकासमा अथक प्रयत्न गर्‍यौं’ नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलका पृतनापति यामप्रसाद ढकालले भने ।

जितगढी किल्लामा अङ्ग्रेज फौजसँगको युद्धमा नेतृत्व गर्ने कर्णेल उजिरसिंह थापा र सहादत प्राप्त गर्ने १३ जना वीर नेपाली सैनिकको सालिक निर्माण गरिएको छ । उक्त लडाइँमा वीरगति प्राप्त गरेका तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सुर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानियाँ, दलखम्ब थापा, काजी वीरमञ्जन पाँडे, शमशेर रानामगर र जुठे बस्नेतको सालिक बनाइएको हो ।

सो क्षेत्रमा अहिले नौ फिट उचाइको पूर्णकदको तामाको सालिक निर्माण गरिनुका साथै ५५ फिटको टावरमा राष्ट्रिय झण्डा फहराइएको छ । वीरतापूर्वक अङ्ग्रेज फौजमाथि विजय प्राप्त गरेको सोही स्थानको संरक्षण र प्रवर्द्धनका लागि वीर योद्धाहरूको सालिक, वाटर फाउण्टेन र झिलिमिली बत्तीसहितको फूलबारी र नजिकै युद्ध सङ्ग्रहालयसमेत निर्माण गरिएको छ भने मध्यभागमा नेपालको झण्डा राखिएको गेटको दुवैतर्फ तोप राखिएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?