+
+

एसीसी प्रिमियर कप : नेपालले आज ओमानसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते ७:००

८ वैशाख, काठमाडौं । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज ओमानसँग खेल्दैछ । समूह ‘ए’ मा रहेका दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन् । नेपालले उदघाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने ओमानले कतारलाई ४० रनले हराएको थियो ।

दुवै टोली लगातार दोस्रो खेल जित्दै सेमिफाइनल यात्रालाई सहज बनाउने योजनामा छन् । यस समूहमा अर्को टोली साउदी अरेबिया छ । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

च्याम्पियन टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले पनि सबै टोलीको ध्यान एसिया कपमा रहेको छ । एसिया कप छनोटको आधार समेत रहेकाले घरेलु मैदानमा च्याम्पियन बन्दै भारत र पाकिस्तानसँग एसिया कपमा खेल्ने नेपालको सपना छ ।

नेपाल र ओमान दुवै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त टोली हुन् । यस प्रतियोगितामा नेपाल र ओमानबीचको खेल ओडिआई मान्यता पाउनेछ, जुन नेपालको ५०औं ओडिआई खेल हुनेछ ।

नेपालले अहिलेसम्म क्रिकेट विश्वकप लिग टु मा ३६ खेल खेल्दा नेदरल्याण्ड, युएई र पपुवा न्युगिनीसँग सिरिजमा १२ खेल खेलेको छ । यस्तै एसिया कप छनोटमै यसअघि युएईसँग एक ओडिआई खेलेको छ ।

नेपालका सन्दीप लामिछाने ओडिआईमा सबैभन्दा छिटो एक सय विकेट लिनबाट १ खेल मात्र टाढा छन् । उनले ओमान विरुद्ध १ विकेट लिए सबैभन्दा छिटो एक सय ओडिआई विकेट लिने कीर्तिमान बनाउनेछन् ।

आजै मूलपानी मैदानमा समूह ‘बी’ अन्तर्गत युएई र हङकङबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?