+
+

ओमानमाथि नेपालको कीर्तिमानले भरिएको जित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते २०:३६

८ वैशाख, काठमाडौं । कीर्तिमानै कीर्तिमान बनेको खेलमा नेपालले ओमानमाथि ८४ रनको सानदार जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

शुक्रबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अहिलेसम्मकै उच्च ३१० रनको योगफल खडा गर्यो । कुशल मल्लले सानदार शतक, अनि सोमपाल कामीले अर्धशतक बनाएपछि ओडीआई (एकदिवसीय अन्तर्राष्ट्रिय) मा आफ्नो अहिलेसम्मकै उच्च स्कोर बनायो । यसअघि मार्चमा भएको लिग टूमा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो ।

जवाफमा ओमानले ४६.३ ओभरमा ९ विकेट गुमाएर २६६ रन मात्र बनाउन सक्यो ।

खराब सुरुवात, तर कुशलको रेकर्ड

आफ्नो ५०औं ओडीआईमा नेपालको सुरुवात निकै खराब थियो । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल शून्यमा आउट हुँदा नेपालले खाता नै खोल्न सकेको थिएन । कुशल भुर्तेललाई तेस्रो ओभरमा बिलाल खानले एलबीडब्लु धरापमा पारे भने आसिफलाई कलिमुल्लाहले चौथो ओभरमा बोल्ड गरे ।

पहिलो चार ओभरमा कुनै रन जोड्न नसकेको नेपालले २८औं बलमा बल्ल रनको खाता खोलेको थियो । तर ०–२ को अवस्थाबाट ३१०/८ मा इनिङ सकायो, जुन आफैंमा रेकर्ड हो । यसक्रममा कुशल मल्लले करियरको पहिलो शतक बनाए ।

त्यसअघि भीम सार्की र कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय (५४) साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। १८औं ओभरमा रोहित ३४ बलमा २३ रन बनाएर आउट भए । भीम पनि २०औं ओभरमा आउट भए । ५६ बलको सामना गरेका उनले व्यक्तिगत ३३ रन जोडेका थिए ।

नेपालको स्कोर ७२/४ रहेको बेला क्रिजमा पुगेका कुशलले आरिफ शेखसँग मिलेर इनिङ्स सम्हाले । दुवैले पाँचौं विकेटका लागि ७५ रनको साझेदारी गरे । आरिफ ४३ बलमा २९ रन बनाएर आउट भए । कुशल भने क्रिजमा जमिरहे ।

१९ वर्षीय कुशलले ३९औं ओभरको पाँचौं बलमा छक्का प्रहार गर्दै शतक पूरा गरे । ५९ बलमा ९ चौका र ९ छक्काको बलमा १०० रन पूरा गरेका उनी नेपालका लागि सबभन्दा छिटो ओडीआई शतक प्रहार गर्ने क्रिकेटर बने । साथै ओडीआईमा नेपालका लागि शतक प्रहार गर्ने छैटौं खेलाडी बने । उनीभन्दा पहिले पूर्वकप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेखले शतक बनाएका थिए ।

२०२० मा लिग टु अन्तर्गत कीर्तिपुरमै अमेरिकाविरुद्ध डेब्यु गरेका कुशल मल्ल ओडीआईमा सर्वाधिक रन बनाउने सातौं नेपाली क्रिकेटर पनि हुन् । थप ८ रन जोडेर उनी आउट भए, जतिबेला नेपालको स्कोर २२१ रन थियो ।

त्यसपछि सोमपालले आक्रामक पारी खेले । सोमपाल र करण केसीले नवौं विकेटका लागि अविजित ६१ रनको साझेदारी गरेपछि नेपालले कीर्तिमान स्कोर बनायो । सोमपालले ६३ र करण २९ रन अविजित रहे ।

ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए ।

सन्दीपको विश्व कीर्तिमान

३११ रनको विशाल लक्ष्य पछ्याएको ओमानलाई सस्तैमा आउट गर्ने क्रममा नेपालका लेगस्पिनर सन्दीप लामिछानेले दुर्लभ कीर्तिमान बनाएका छन् । १३औं ओभरको तेस्रो बलमा ओमानका आदिल शफिकलाई एलबीडब्लू धरापमा पार्दै उनले ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् ।

यसअघि अफगानिस्तानका रासिद खानले ४४ खेलमा १०० विकेटको रेकर्ड बनाएका थिए । सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध ओडीआईमा डेब्यु गरेका सन्दीपको बेस्ट बलिङ फिगर ६/११ हो । सन्दीपले ओमान विरुद्ध ३ विकेट लिए ।

ओमानका लागि भेट्रान मोहम्मद नदिमले सर्वाधिक ६५ रन बनाए । उनले ८४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । ९९ रनमा ५ विकेट गुमाएको ओमानका लागि नदिमले सन्दिप गूडसँग ९६ रनको साझेदारी गरेका थिए ।

अर्धशतकबाट ४ रनले चुकेका गौडले ५६ बलमा ३ चौका र २ छक्का मद्दतमा ४६ रन बनाए । आयान खानले २९ र कश्यप प्रजापतिले २५ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ८ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । करण केसीले ८.३ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले ७ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले ९ ओभरमा १ मेडन राख्दै २२ रन मात्र खर्चेर १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?