+
+

लाङटाङ पदयात्रामा मेरा खुट्टा रोकिए

शाश्वत पन्त शाश्वत पन्त
२०८० वैशाख ९ गते १९:३२

क्यान्जिन रीको पहिलो पिक पुगेर अगाडि हेर्दा त्यति नै अग्लो अर्को चुचुरो देखियो । त्यो देखेर मन हल्का आत्तियो किनकी यो चुचुरो पुग्न करिब ९० मिनेट लागेको थियो । अर्को चुचुरो टेक्न झन् कति समय लाग्दो हो !

“यो क्यानजिन री २ हो र त्योभन्दा माथि यो पहाडको शिखर हो,” हाम्रो गाइड सोनमले भन्यो “तपाईंहरु त्यहाँ जाने कि नजाने ?”

क्यन्जिन रीको साँघुरो भीरमा हिँड्ने योजना २०१७ देखि नै थियो । छ वर्ष पहिले म त्यो भिरालो बाटो नियालेर हेरेको थिएँ । म त्यहाँ जान चाहान्थें तर त्यो भिरालो बाटो तिर अगाडि बढ्न खोज्दा मेरा खुट्टा रोकिए ।

अघिका ती दिनहरूमा म उत्साहित थिएँ । मानिसहरूले मलाई र स्वरूपलाई डाँडाको भागको बारेमा भनेर धेरै अत्याउन खोजेका थिए ।

“मानिसहरू तल हेर्छन् र खुट्टा रोकिन्छन्,” एक जनाले भने।

“मैले त्यस भागमा धेरै जना रोएको देखेको छु,” अर्कोले भन्यो।

सायद यी सबै कुराले मेरो दिमागमा बेस्सरी प्रहार गर्यो किनभने जब म त्यो भिर नजिक पुगे मैले आफूलाई  प्रश्न गर्न थालेँ ।

त्यो राम्रो संकेत थिएन । किनभने वर्षौंदेखि मैले पहाडहरूमा आफूलाई शंका गर्ने मानिसहरूलाई के हुन्छ देखेको छु । त्यसैले म फर्किएँ ।

लाङ्टाङ गाउँ फर्किँदा स्वरूपले सोधे, “हामीले सही निर्णय गर्‍यौँ जस्तो लाग्छ ? ”

 

व्यक्तिगत रूपमा  मलाई लाग्छ कि हामीले ठिक गर्यौं। हामी लाङटाङ पदयात्रामा हिमालको नजिक पुगेका थियौं । ४,२०० मिटरभन्दा माथि पुगेका थियौं। जता हेर्‍यौं  पहाड नै पहाड थियो हिमाल नै हिमाल थियो ।

लाङ्टाङ सामुन्ने थियो । दोर्जे लाक्पा, नयाँ काङ्ग्री, लोएन्पो ग्याङ, चाङ्बु, गाङ्चेन्पो, मोरिमोटो र गञ्जला झन् राम्रा थिएँ । त्यहाँ मेरा आँखा केन्द्रित थिए ।

क्यानजिन रीको चुचुरोमा नजाने निर्णयले हामीलाई भविष्यमा पछुतो हुन सक्छ तर मलाई खासै फरक पर्ने छैन किनभने केही सय मिटर बढी जाँदा दृश्यमा मेरा लागि उल्लेखनीय परिवर्तन हुने पनि त थिएन !

लाङटाङ  गाउँ पुगेर हातमा चिसो बियर लिएर सोच्दा मलाई कुनै पछुतो थिएन । किनभने मेरो लागि यो यात्रा कहिल्यै नबिर्सिने जस्तो भयो । क्यानजिन गुम्बा र त्यहाँका दृष्य मेरा आँखामा सधैंका लागि कैद भएका छन् । लाङटाङ पदमार्ग मेरो लागि एउटा यस्तो पदमार्ग हो जहाँ म फेरिफेरि जानेछु । किनभने यो नेपालको सबैभन्दा सजिलो पदयात्रा हो ।

लाङटाङ पदयात्रा रसुवाको स्याफ्रुबेसीबाट सुरु हुन्छ र तपाईंलाई क्यानजिन गुम्बासम्म लैजान्छ । त्यहाँबाट तपाईं क्यानगिन री (४,७०० मिटर) वा सेर्गो री (५, १०० मिटर) जस्ता चुचुराहरूमा पुग्न सक्नुहुन्छ । यति मात्र होइन, तपाईं विभिन्न भू-भाग हुँदै हिँडेर नेपाल मात्र नभएर विश्वकै सबैभन्दा सुन्दर उपत्यकामा रहेको क्याङ्गिन पुग्न सक्नुहुन्छ।

लाङटाङ ट्रेल लाङटाङ खोलाको छेउबाट सुरु हुन्छ र जंगल, झोलुङ्गे पुल र बहुरंगी गुराँसका वनहरू पार गर्दै लाङटाङ राष्ट्रिय निकुञ्जमा पुग्छ। यो ट्रेल सम्भवतः नेपालमा सबैभन्दा सजिलो हो किनभने सम्पूर्ण पदयात्रामा केवल दुईवटा ठाडा उकाला छन् जसले तपाईंलाई जङ्गलबाट पहाडको फेदसम्मै लैजान्छ।

लाङटाङ ट्रेकिङ ट्रेलमा रहेका लजहरू त्यति राम्रोसँग सुसज्जित छैनन् । तिनीहरू सामान्य र आधारभूत छन् । स्याफ्रुबेसी पछि, थाङ्सेप नपुगेसम्म तपाईंले बिजुली पाउनुहुन्न,  त्यसैले तपाईंले पावर बैंक वा सोलार चार्जरहरू प्याक गर्नुहोस् । नेपाली भएकाले कोठाको पैसा लाग्दैन होला भनेर नसोच्नुहोस् र करिब २ सयदेखि ५ सय रूपैयाँसम्म तिर्न तयार हुनुहोस् ।

लाङटाङ राष्ट्रिय निकुञ्ज देशकै पहिलो हिमाली राष्ट्रिय निकुञ्ज हो । लाङटाङ पदयात्राको क्रममा राष्ट्रिय निकुञ्जमा रहेका वनस्पति र जीवजन्तुहरूले तपाईंलाई अचम्ममा पार्ने निश्चित छ । एक रुखबाट अर्को रुखमा उड्ने लङ्गुरहरूदेखि पहाड छाड्ने घोरल र यताउता गर्ने  डाँफेहरू देख्न पाइन्छ  यहाँ । यदि भाग्यशाली छ भने, तपाईंले लोपोन्मुख हिउँ चितुवा र रातो पाण्डाहरू पनि देख्न सक्नुहुन्छ।

मानिसहरू र खाना

हिमाली भेगका अधिकांश भागहरू जस्तै, लाङ्टाङ पदयात्राको क्रममा तपाईंले भेट्ने मानिसहरू अविश्वसनीय रूपमा न्यानो र अतिथि सत्कार गर्ने छन् । सुरूमा तपाईंले गाउँको जीवन देख्नुहुन्न किनकि त्यहाँ धेरैजसो गाउँहरू पदयात्राको अन्त्यमा मात्र, तर तपाईंले ट्रेलमा भेट्नु हुने मानिसहरूले तपाईंलाई ट्रेकको बारेमा सबै बताउँछन् । यस क्षेत्रका मानिसहरू धेरैजसो तामाङहरू हुन् जो शताब्दियौं अघि तिब्बतबाट बसाइँ सरेका थिए, तर यस क्षेत्रमा थोरै शेर्पाहरू पनि छन् ।

लाङटाङ पदयात्रामा पाइने खाना एकदमै मिठो छ । तपाईंले दाल भातदेखि टुना पिज्जासम्म विभिन्न परिकारहरू पाउनु हुन्छ । तथापि, सबैभन्दा राम्रो कुरा याकको चीज हो । भुटेको आलु, पास्ता वा स्पेगेटीसँग याक चीज खानुहोस् मजा लिनुहोस् । यो ठाउँको लोकप्रिय खान्की सिबकथर्न जुस पनि हो।

उकालो चढ्दै जाँदा लाङटाङ पदयात्राको बाटो र भूगोल परिवर्तन हुँदै जान्छ । जति माथि गयो, नेपाल स्विट्जरल्यान्ड भन्दा पनि सुन्दर लाग्छ । तीन हजार मिटरभन्दा माथि जान थालेपछि रुखहरू हराउँछन् र हिमालहरू देखिन थाल्छन् । यो साँच्चै एक यस्तो ट्रेक हो जसले तपाईंलाई जीवनभरका लागि सम्झनाहरू दिन्छ । तीन दिनमै हिमालको यति नजिक कुनै अरू पदमार्ग लग्दैन ।

मेरो लागि लाङटाङ पदयात्राको मुख्य आकर्षण क्यानजिन गुम्बा हो। एक उपत्यकामा स्थापित ठाउँ, क्यानजिन गुम्बा र क्यानजिन री मैले कहिल्यै बिर्सिने छैन । क्यानजिन री चढ्न सजिलो छैन। यो ठाडो छ र समय लाग्छ ।

चढ्दै जाँदा पहाड र हिमालका उत्कृष्ट दृश्यहरू देखिन्छ । क्यानजिन रीको पहिलो चुचुरोले वरपरका लाङटाङ लिरुङ, दोर्जे लाक्पा र लाङ्शिशा री लगायतका हिमालहरूको मनमोहक दृश्य देखाएको थियो। शिखरबाट मनोरम दृश्यहरू साँच्चै शानदार छन् ।

तर त्यहाँको हावा छुट्टै छ । ४ हजार मिटर माथि गएपछि हावा पातलो हुन्छ । क्यानजिन री चढ्दै जाँदा तपाईंले त्यो महसुस गर्नु हुन्छ । धेरै जना यही पहिलो चुचुरोबाटै फर्किन्छन् । हामी पनि फर्कियौं तर कोही अझै माथि जान्छन् । तर दृष्यमा भने खासै फरक पर्दैन ।

लाङटाङ गाउँ

हाम्रो लागि लाङटाङ पदयात्रा लाङटाङ गाउँमा समाप्त भयो। २०७२ को भूकम्प पछि यो गाउँ धेरै फेरिएको छ । म गाउँ तिर लाग्दा हाम्रो गाइड सोनमले हामी भग्नावशेषलाई औंल्याउँदै त्यहाँ धेरै घर गाडिसकेको बताए । यो गाउँ परम्परागत घर, जीवन्त संस्कृति र आश्चर्यजनक प्राकृतिक सौन्दर्यको लागि परिचित थियो,  तर अहिले धेरै कुराहरू फरक छन्। तर गाउँमा अझै पुरानो भाव बाँकी नै छ ।

लाङटाङ पदयात्रा सजिलो छ । मैले विगत केही वर्षदेखि यसको बारेमा धेरै सुनेको थिएँ, यहाँ गएपछि मात्र यो किन चर्चित छ भन्ने कुरा थाहा पाएँ । अन्नपूर्ण सर्किटका केही भागहरू उत्कृष्ट थिए,  तर लाङटाङ एउटा पदयात्रा हो जुन मैले वर्षौंसम्म सम्झिरहनेछु किनभने म फेरि त्सेर्गो री चढ्न र सायद क्यान्जिन रीको चुचुरो चढ्न पनि जानेछु ।

लेखकको बारेमा
शाश्वत पन्त

अनलाइनखबर अंग्रेजीमा कार्यरत पन्त वन, वातावरण, फिल्म, संस्कृति लगायतका विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?