+
+

नेवारी पहिरन हाकुपटासीको के छ विशेषता ?

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० वैशाख १० गते १२:२६

काठमाडौं । ‘जहाँ नेवार समुदायको बस्ती त्यहाँ हाकुपटासी’ भनिन्छ । शरीरको माथिल्लो भागमा कालो र तल्लो भागमा रातो कपडामा गरगहना मिसाएर लगाइने परम्परागत नेवारी पहिरन हो हाकुपटासी ।

यो पहिरन शैली मात्रै होइन, परम्परा, जीवनशैली र पहिचान पनि हो । हेर्दा हाकुपटासी उस्तै लाग्छ, तर यसको पनि स्थानअनुसार प्रकार फरक-फरक हुन्छ । नेवार समुदाय बाहुल्य भएको काठमाडौं उपत्यकामा समेत हाकुपटासीको डिजाइनमा एकरुपता पाइँदैन । भक्तपुरमा लगाइने हाकुपटासी र काठमाडौंमा लगाइनेमा फरक हुन्छ ।

भक्तपुरका महिलाले लगाउने हाकुपटासीको तलको रातो बोर्डर मझौला खालको हुन्छ र सेतो कपडामा रातो बोर्डर भएको पछ्यौरा हुन्छ । त्यस्तै चोलो धेरैजसो श्रीपछेलु कपडाको लगाइन्छ । यस्तो हाकुपटासी लगाएकी महिला भक्तपुरे रहिछन् भनेर चिनिन्छ ।

त्यस्तै भक्तपुरको थिमिका महिलाले लागाउने हाकुपटासीमा कालो कपडामा रातो बोर्डर ‘कर्ली’ भएको हुन्छ । कालो खास्टोमा हरियो बोर्डर हुन्छ । यस्तो हाकुपटासी लगाउनेलाई थिमिबासी नेवार महिला रहिछन् भनेर चिन्न सकिन्छ ।

काठमाडौं र ललितपुरमा भने कालो कपडामा ठूलो रातो बोर्डर हुन्छ । कालो पछ्यौरामा हरियो ऊनको बोर्डर हुन्छ । हाकुपटासीलाई अहिले आधुनिक डिजाइनमा तयार पार्ने गरिन्छ । कुर्था सेट, भान्ताङ (कुर्थाजस्तै नेवारी पहिरन), वानपिस, लेहेंगा, फ्रक, सारीमा फ्युजन गरेर हाकुपटासी डिजाइन गर्ने गरिएको पाइन्छ । अहिले बालिकादेखि वृद्धासम्मले हाकुपटासी लगाएको पाइन्छ । अहिले विदेश जानेले पनि हाकुपटासी सेट साथमा लगेर जाने गर्छन् ।

हाकुपटासीसँगै गहना

हाकुपटासीसँगै लाछा डोरी, पोते, चाँदीको सिक्री, तायो (घाँटीमा लगाउने एक किसिमको गहना), माकासीः (झुम्का), प्याखां अंगु (चाँदीको औंठी), कल्ली (खुट्टामा लगाउने), ङापुसिंख (कपालमा लगाउने), चुरा, मखमलको जुत्ता लगाउने प्रचलन छ । यीबाहेक पनि धेरै गरगहना लगाएको लगाउन सकिन्छ ।

कुन-कुन बेला लगाइन्छ हाकुपटासी ?

जात्रा, भोजभतेर, पूजामा नेवार महिलाहरुले हाकुपटासी लगाउने चलन छ । मृत्युशोक, मलामी जाँदा पनि हाकुपटासी लगाउने गरिन्छ ।

हाकुपटासीको विशेषता

हाकुपटासी कृषिसँग सम्बन्धित पहिरन भएको संस्कृतिविद् ओम धौभडेल बताउँछन् । खेती किसानी गर्दा निस्किने पसिना सोस्ने र जाडोयाममा यो न्यानो हुने भएकाले नेवारी महिलामाझ यो लोकप्रिय भएको हो ।

धौभडेलका अनुसार हाकुपटासी नेवारी महिलाको सुहागको चिह्न पनि हो । ‘पहिले हाकुपटासीमा कालो र रातो दुवै भाग छ भने त्यो लगाउने महिलाका पति छन् भन्ने बुझिन्थ्यो । कालो भाग मात्र छ, रातो छैन भने उसको पतिको मृत्यु भइसकेको छ भन्ने बुझाउँथ्यो,’ धौभडेल बताउँछन् । हाकुपटासीको प्रचलन लिच्छविकालमा सुरु भएको हुन सक्ने उनी बताउँछन् ।

पहिलापहिला तानमा कपडा बुन्न जान्ने युवती सबैभन्दा गुण भएकी मान्ने चलन थियो । त्यसैले युवतीले सकेसम्म तान चलाउन, हाकुपटासी बुन्न सिक्ने चलन थियो । केटी माग्न आउने बेला पनि केटापट्टिको लमीले तान बुन्न आउँछ कि आउँदैन भनी सोध्ने चलन रहेको धौभडेल बताउँछन् ।

पहिला घरपरिवार सबैले तानबाट बुनिने पहिरन नै लगाउँथे । त्यसैले भक्तपुरका अधिकांश युवतीलाई हाकुपटासी बुन्न आउने स्थानीय लक्ष्मीदेवी बखद्यो बताउँछिन् ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?