+
+

‘प्रसाद २’ बारे कलाकार र निर्देशक भन्छन्- फिल्म नारायणीको विद्रोहको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १३:१३

काठमाडौं । ‘प्रसाद २’ आगामी शुक्रबार प्रदर्शनको तयारीमा छ । प्रदर्शनबारे जानकारी दिन आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरियो । छायांकनपछिको यो पहिलो पत्रकार सम्मेलन थियो, जहाँ निर्देशक र कलाकारले फिल्मले पछिल्लो समय खेपिरहेको उतारचढाव, कलाकार हेरफेर र चरित्र चित्रणजस्ता प्रश्नको सामना गरे ।

रोमान्टिक फिल्म निर्देशकको रुपमा कहलिएका सुदर्शन थापाले ‘धन्दा’पछि यो अर्को सामाजिक कथावस्तुमा कथा भन्ने प्रयत्न गरेका छन् । उनले फिल्मको दोस्रो श्रृंखलाको कथावस्तुबारे चर्चा गरे । १२ वर्षअघि अन्तरजातीय विवाह गर्दा गाउँ नै छाडेर हिंडेका नारायण र बाबुरामको जीवनको नयाँ अध्यायलाई दर्शकले दोस्रो श्रृंखलामा हेर्न पाउने उनको भनाइ छ ।

‘नारायणी, बाबुराम र प्रसादले जीवन अघि बढाउन गर्ने संघर्ष नै हो । जसरी १२ वर्षअघि प्रेम गर्दा गाउँ छाडेर भाग्नुपर्‍यो । १२ वर्षपछि देशमा नयाँ संविधान आयो । नियम कानुन बने । परिवारिक, सामाजिक र राजनीतिक लेयरमा आधारित संघर्ष यसमा छ,’ फिल्मबारे उनले भने ।

दोस्रो सिक्वेलमा शीर्ष पात्रको सन्तानको रुपमा प्रसाद चरित्र जन्मिएको छ । ‘प्रसादका लागि बाबुराम र नारायणीले गर्ने जीवन संघर्ष यसमा चित्रित छ । हजारौं प्रसाद गाउँ–गाउँमा छन् । भोलि ती प्रसादले पनि भागेर हिंड्नुपर्ने हो ?’ उनले प्रश्न गरे ।

अघिल्ला फिल्ममा सहरी कथावस्तु र प्रेमको कथा भन्ने सुदर्शनले यसमा ग्रामिण कथावस्तु भनेका छन् । ‘मैले गरेका १४–१५ फिल्म नै बराबर हुन् । कुनै धेरै र कुनै थोरै चले होलान् । तर, के हुन्छ भने कहिलेकाहिँ कुनै फिल्म, कथावस्तु र चरित्रसँग माया बस्छ । कुनै कथा यस्तो लाग्छ कि मैले नै भन्नुपर्छ भन्ने भाइब्स आउँछ । त्यो भाइब्समा बनेको फिल्म हो यो । मैले सहरीकरण र लभस्टोरी फिल्म धेरै गरें होला तर कुनै कुनै भनिएको कथा सिधा दर्शकसँग छिटो कनेक्सन भइहाल्छ,’ उनले भने ।

‘प्रसाद २’ को कथावस्तु आफ्नै आँखाअघि देखेको र आफू हुर्केको ठाउँको कथा भएको उनको भनाइ छ । ‘प्रसाद २ मार्फत मैले आफूले भोगेको समाजलाई मनदेखि देखाएको छु,’ उनी भन्छन् । कहिले सुटिङको बेलाको झमेला, कहिले रिलिजको तनावजस्ता उतारचढावबारे पनि निर्देशक थापाले धारणा राखे ।

‘ती भनेका निजी पीडा हुन् । यो फिल्मले जस्तो बाधा, अवरोध खेप्यो, त्यसका लागि भन्ने शब्द डिक्सनरीमा सायद छैनन् । तर पनि यी सबै भइरहने चीज हुन् । जसरी फिल्मको कथामा ती चीज आएनन् भनेर कसरी रोचक हुन्छ । यो फिल्मले जे सिकायो । यसलाई पाठको रुपमा लिनुपर्छ,’ उनले भने ।

 दर्शकलाई फिल्मबाहिरको घटनाक्रमले फरक नपार्ने उनको दाबी छ । ‘दर्शकलाई फिल्म बाहिरका कुरासँग सरोकार हुन्छ जस्तो लाग्दैन । यदि यो फिल्म दर्शकसम्म पुगेन भने निःस्वार्थ रुपमा टिकट काटेर हेर्ने दर्शकलाई असर गर्छ र उनीहरुले राम्रो कथामा बनेको फिल्म गुमाउँछन्,’ सुदर्शनले भने, ‘यो कुनै दुर्घटना होइन, यो मान्छेको गल्तीबाटै भएको समस्या हो ।’

अभिनेत्री केकी अधिकारीले नारायणी सहनशील र कम बोल्ने पात्र भएको बताइन् । अघिल्लो फिल्ममा दर्शकले नम्रता श्रेष्ठलाई नारायणीको भूमिकामा देखेका थिए तर यसमा केकी चरित्रमा छिन् । फरक के त ? उनी भन्छिन्, ‘नारायणीको भित्री स्वभाव उस्तै छ । अनुहार मात्र फरक भएको हो । मेरा लागि नारायणीको पात्रलाई कसरी दर्शाउनेभन्दा पनि अन्य चुनौती थिए । उनले सुदर्शन थापा, विपिन कार्की, अर्पण थापासँग पहिलोपटक काम गर्नु चुनौतीपूर्ण रहेको बताइन् ।

‘यसबाहेक दर्शकले फिल्ममा नारायणीको विद्रोहको आवाज गुञ्जिएको पाउनुहुन्छ,’ फिल्मको बटमलाइबारे उनले भनिन् ।

प्रेसमिटमा वितरक गोपाल कायस्थले उक्त मितिमा फिल्मलाई नजुधाउन प्रयास गरेको भए पनि त्यो सफल नभएको बताए । ‘चलचित्र संघको बैठकमा पनि मैले भनेकै हो । तर साथीहरुले फिल्म जुधाउन ल्याए । अब जसको कन्टेन्ट राम्रो छ, त्यही चल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?