+
+

पासाङ ल्हामुको फिल्म लुक्लामा प्रदर्शन, देशभरका स्कुलमा पनि देखाइने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १४:२०

काठमाडौं । पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको आज (वैशाख १०) ठीक ३० वर्ष पुगेको छ । यस अवसरमा उनको जीवनबारे बनेको डकुमेन्ट्री फिल्म ‘पासाङ : इन द स्याडो अफ एभरेस्ट’लाई उनको जन्मथलो सोलुखुम्बुको लुक्लामा शनिबार बेलुका प्रदर्शन गरिएको छ ।

स्थानीयले फिल्म हेरेर पासाङ ल्हामुले चौथो पटकको प्रयासमा कसरी सगरमाथा चढिन् र उनको देहान्त कसरी भयो भन्नेबारे बुझे । नेपाली भाषामै स्वरांकन गरिएको फिल्मलाई लुक्लामा देखाइएको हो । यसै साता भएको काठमाडौं प्रिमियरमा चाहिं अंग्र्रेजी भाषामा देखाइएको थियो । लुक्ला प्रदर्शनमा चाहिं पासाङ ल्हामु फाउन्डेसनकी अध्यक्ष दावाफुटी शेर्पा, निर्देशक न्यान्सी स्वेन्डेसन र निर्माताद्वय शेरोन वुड र आङदोर्जे शेर्पा पनि सहभागी रहे ।

प्रोजेक्टरमार्फत फिल्म देखाइए पनि दर्शकले चाखपूर्वक फिल्म हेरेको जनाइएको छ । आरोही लुक्ला नजिकैको सुर्की गाउँमा जन्मिएकी हुन् । उनकै नामबाट अहिले खुम्बु पासाङल्हामु गाउँपालिका राखिएको छ । २०५० वैशाख १० गते सगरमाथा आरोहण गरेर ओर्लिने क्रममा पासाङ ल्हामुको मौसमी प्रतिकूलताको कारण निधन भएको थियो ।

७२ मिनेट लामो उक्त फिल्म आगामी शुक्रबारदेखि क्यूएफएक्सका हलहरुमा प्रदर्शन हुँदैछ । डकुमेन्ट्रीमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पासाङ ल्हामुसहितको टिमलाई गरेको सहयोग, आरोहण दलभित्र हुने राजनीतिक र कूटनीतिक रस्साकस्सीलाई पनि चित्रण गरिएको छ । यो डकुमेन्ट्रीलाई नेपाली भाषामा स्वरांकन गरेर देशभरका विद्यालयमा देखाउने फाउण्डेसनको तयारी छ ।

फिल्मको प्रदर्शनबाट संकलित रकम शैक्षिक क्षेत्रमा खर्च गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?