+
+

तनहुँका युवा मतदाता भन्छन् – मन र मत दुबै फेर्‍यौं

सविन लामिछाने सविन लामिछाने
२०८० वैशाख १० गते २०:३२

१० वैशाख, दमौली । व्यास नगरपालिका–२ का यमु राई मतदान गरेर निस्कदै गर्दा निकै उत्साहित थिए । सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका उनले निस्कदै गर्दा आफूले परिवर्तनका लागि मतदान गरेको बताए ।

‘परिर्वतनको लागि मैले आज मन र मत दुबै फेरेँ, नयाँ मान्छेले केही न केही नयाँ गर्ला नि’ राईले भने । उनले पुराना पार्टीहरु अपडेट नभएकाले अहिलेको समयमा धेरैले नयाँ दल खोजेको बताए । व्यास नगरपालिका–१ का सैलेश हड्खले पनि उपनिर्वाचनमा मत र मन दुबै फेरेको बताए । उनले भने, ‘अहिलेसम्म बाउबाजेको पार्टीलाई नै भोट हालेका थियौं, तर यो पालि निरन्तरता दिन सकेनौं, हामीले अहिले मत नफेरे कहिले फेर्न सकिदैन ।’

व्यास–२ का अनुपकुमार बतास पनि यसपटक उम्मेदवारका रुपमा नयाँ अनुहार देखिएकाले मतदान गर्न उत्साहित भएको बताए । रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य खाली भएको थियो । त्यसै कारण भएको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेसहित ९ जना उम्मेदवार बनेका छन् ।

गोविन्द र स्वर्णिमले प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक प्रतिस्पर्धा गरेका हुन् भने सर्वेन्द्रले ४ मंसिरको चुनावमा काठमाडौं ६ मा उम्मेदवार बने पनि तनहुँमा नयाँ हुन् ।

बतासले भने, ‘पहिलाको निर्वाचनमा सबै बुढापाका थिए, अहिले सबै युवाहरु छन् । पुरानाले त केही गरेनन्, नयाँले केही गर्ला भन्ने विश्वास हामीमा छ ।’ व्यास–३ स्थित शान्तिनगरकी पूजा घिमिरेले पनि यसपालि मत बदलेको प्रतिक्रिया दिइनन् । उनले भनिन्, ‘६ महिनामै चुनाव भयो, राम्रो लागेको छ । पहिला जसलाई हालेनि केही हुन्थेन, अहिले सबै राम्रा राम्रा छन् ।’

व्यास नगरपालिका–७ की अनु श्रेष्ठले यो पटक मत नफेरेको प्रतिक्रिया दिइनन् । उनले भनिन्, ‘जुन जोगी आए पनि कानै चिरेको, अहिलेसम्म न त व्यवस्था फेरिएको छ, नत हाम्रो अवस्था नै सुध्रिएको छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेले यसपालि तनहुँ– १ का मतदाताको मन र मत दुवै विगतको जस्तो नभएको बताएका छन् । उपनिर्वाचनको मतदानस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा उनले मतदाताको परपम्परागत मन र मत दुवै फेरिएको पाएको बताएका हुन् ।

‘परम्परागत मतहरुलाई र विचारहरुलाई परिवर्तन गराएको मैले पाएको छु र सूचना प्रविधिको पहुँचले ५०–६० नाघेकाहरुको पनि मन र मत दुवै फेरिनेवाला छ यसपालि’, वाग्लेले भने ।

काँगे्रसका उम्मेदवार गोविन्द भट्टराईल् मतदाताबाट राम्रो प्रतिक्रिया पाएको बताए । उनले अधिकांश मतदान केन्द्रको अनुगमन गर्दा राम्रो प्रतिक्रिया पाएको बताए । उनले भने, ‘कतिपय उम्मेदवारको यहाँ मतदाता नामवली नै छैन । म त यही जन्मेर हुकेको मान्छे ।’

तनहुँ– १ को उपनिर्वाचनमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेका छन् । यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ ।

उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन् । निर्वाचन आयोगले यो क्षेत्रमा करिब ५३ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?