+
+
जेभियर इन्टरनेसनल कलेजका प्रिन्सिपल दीपेन दाहालसँग अन्तर्वार्ता :

‘ए लेभलमा विद्यार्थीले रोजेर विश्वस्तरीय पाठ्यक्रम पढ्न पाउँछन्’

मनिषा थापा मनिषा थापा
२०८० वैशाख ११ गते १६:४८

काठमाडौं । नेपालमा भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) सकिएको छ । परीक्षा सकेर बसेका विद्यार्थीहरु अब नतिजा आएपछि के पढ्ने भन्नेमा अलमलमा हुन सक्छन् ।

अब कुन विषय पढ्ने, कहाँ पढ्ने, त्यसको भविष्य के छ ? भन्ने प्रश्नको उनीहरुले चित्तबुझ्दो उत्तर नपाएका हुन सक्छन् । अभिभावकलाई पनि आफ्ना सन्तानको आगामी शैक्षिक यात्राको चिन्ता उत्तिकै हुन्छ, उनीहरुलाई पनि सही निर्णयमा पुग्न सकस भइरहेको हुन सक्छ ।

के पढ्ने भन्ने कुरा आफ्नो रुचि, क्षमता र परिवारको आर्थिक अवस्थामा पनि भर पर्छ । एसईईपछि कक्षा ११ मा आफूले रोजेका विषय लिएर अध्ययन गर्न सकिन्छ । यस्तोमा अहिले अर्को पनि विकल्प छ, विश्वव्यापी मान्यता प्राप्त ‘ए लेभल’ ।

ए लेभलको पाठ्यक्रम नेपालमा धेरै वर्षअघिदेखि सञ्चालनमा रहेको भए पनि धेरै यसबोर जानकार छैनन् । किनकि यो सबैको पहुँचमा छैन पनि ।

बाहिर चर्चा भए जस्तो ए लेभल महंगो कोर्स हो ? कस्तो खालको पढाइ हो यो ? कक्षा ११ पढ्नु र ए लेभल पढ्नुमा के फरक छ ? यिनै विषयमा केन्द्रित रहेर जेभियर इन्टरनेसनल कलेजका प्रिन्सिपल दीपेन दाहालसँग गरिएको कुराकानीको सम्पादित अंश :

ए लेभल कस्तो पढाइ हो ?

ए लेभल सन् १९५१ मा बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले सुरु गरेको जनरल सर्टिफिकेट अफ एजुकेसन (जीसीई) शैक्षिक कार्यक्रम हो । आधुनिक सिकाइ विधिबाट पढाइने अन्तर्राष्ट्रिय पाठ्यक्रममा आधारित ए लेभेलको पढाइ एसीईई पास गरेकाहरुको लागि राम्रो विकल्पको रुपमा लिइएको छ । ए लेभेलको पढाइ विश्वको १६० भन्दा बढी कलेजमा पढाइ हुन्छ भने नेपालका केही सीमित कलेजमा पनि यसको कोर्स राखिएको छ ।

भर्ना हुन के छ मापदण्ड ? कति वर्षको कोर्स हो ?

ए लेभल पढ्न चाहने विद्यार्थीले एसईई पास गरेको हुनुपर्छ । त्यस्तै क्याम्ब्रिज विश्वविद्यालयको ओ लेभल पास गरेको अथवा सीबीएसी बोर्ड पास गरेका विद्यार्थीले पढ्न सक्छन् । कोर्सको कुरा गर्नुपर्दा यो नेपालको कक्षा ११ र १२ को दुईवर्षे कोर्स जस्तै ए लेभेलको पढाइ पनि दुई वर्षको हुन्छ ।  पहिलो वर्ष ए एस र दोस्रो वर्षमा ए टु हुन्छ ।

कस्तो हुन्छ पाठ्यक्रम ?

क्याम्ब्रिज विश्वविद्यालयको मातहतमा रहेर कोर्स डिजाइन, संरचना, परीक्षा प्रणाली बनाएको हुन्छ । ए लेभलका विद्यार्थीले पढाइ सकेपछि क्याम्ब्रिज विश्वविद्यालयकै प्रमाणपत्र पाउँछन्, जुन विश्वव्यापी रुपमा मान्यता प्राप्त छ । ए लेभलमा कक्षा क्रियाकलाप सेमिनार, छलफल, प्रयोगशाला, समस्या समाधान गर्न सक्ने टेक्निक, सामूहिक क्रियाकलाप, प्रोजेक्ट कार्य, अनुसन्धान, प्रस्तुतीकरण जस्ता अभ्यास विद्यार्थीलाई गराउनु यसको विशेषता हो ।

त्यस्तै, नेपालको पाठ्यक्रममा जस्तो अनिवार्य सीमित विषय पढ्नुपर्ने झमेला यसमा हुँदैन । ए लेभलमा जम्माजम्मी ७० वटा विषय छन् । तीमध्येको विषय रोजेर एउटा संकायको विद्यार्थीले अर्को रुचिको संकाय पढ्न छुट हुन्छ । नेपालमा जनरल पेपर अन्तर्गत अंग्रेजीलाई अनिवार्य विषय बनाइएको छ । त्यसबाहेक समाजशात्र, मानविकी, विज्ञान, गणित, भूगोल, व्यवस्थापन लगायतका छुट्टाछुट्टै विषय रोजेर विद्यार्थीले पढ्न सक्छन् ।

चाख लाग्दो कुरा के छ भने विश्वभर एकै प्रणालीबाट यसको पठनपाठन हुन्छ ।

केही कक्षा ११ र १२ जस्तै दुईवर्षे कोर्स हुने ए लेभल नै किन पढ्ने ?

नेपालको पठनपाठन शैली प्रयोगात्मक भन्दा पनि सैद्धान्तिकमा केन्द्रित छ । अनि विषयहरु पनि सीमित छन्, जसले विद्यार्थीसँग विकल्प कम हुन्छ । तर ए लेभल आधुनिक सिकाइ र पढाइको कोर्स हो । यसमा व्यावहारिक एवं प्रयोगात्मक पक्षलाई ध्यान दिइन्छ ।

यसमा कुनै किसिमको घोकेर पास गर्ने भन्ने हुँदैन । यसका लागि विद्यार्थीले कोर्समा भएका विषयवस्तु बुझ्न सक्ने खुबीलाई नै महत्व दिइन्छ । जसले गर्दा उनीहरु अरुमा भर पर्दैनन् । पाठ्यक्रममा प्रवेश गरेपछि स्वयं पढ्न सक्ने, बुझ्न सक्ने खुबी, विद्यार्थीको विश्लेषण गर्ने क्षमता विकास, खोजमूलक अध्ययन, समस्या समाधान गर्न सक्ने खुबीको विकास, व्याख्या गर्न सक्ने क्षमता विद्यार्थीमा विकास हुन्छ । जसले उनीहरुमा आत्मविश्वास बढ्नुका साथै प्रतिस्पर्धा गर्न सक्ने क्षमता बढ्न सक्ने हुनु ए लेभेलको विशेषता हो । एसईईमा मध्यमस्तरका देखिएका विद्यार्थी पनि ए लेभेलको पढाइपछि उत्कृष्ट नतिजा ल्याएका छन् ।

ए लेभलको परीक्षा प्रणाली पनि नेपालको परीक्षा प्रणाली जस्तै छ कि भिन्न छ ?

ए लेभलको परीक्षा नेपालको परीक्षा प्रणाली भन्दा भिन्न छ । वर्षमा दुईपटक विश्वभर एकसाथ परीक्षा सञ्चालन हुन्छ । मे–जुनमा एउटा र अक्टोबर–नोभेम्बरमा अर्को परीक्षा हुन्छ । परीक्षाको नतिजा पहिलोको अगस्टमा र दोस्रोको जनवरीमा सार्वजनिक हुन्छ । ए लेभलमा ग्रेडप्रति सन्तुष्ट नभएसम्म विद्यार्थीले परीक्षा दिन सक्छन् ।

त्यस्तै, परीक्षा प्रणाली विद्यार्थीमैत्री छ । अर्थात् सबै विषयको परीक्षा एकैपटक नदिन पनि सक्छन् । एकपटकको परीक्षामा दुईवटा विषयको परीक्षा दिनु र अर्को चरणको परीक्षामा बाँकी रहेको विषयमा परीक्षा दिन्छु भन्दा पनि पाइन्छ । ग्रेड प्रणालीमा नतिजा आउँछ । सबैभन्दा उत्कृष्ट ए र न्यून ग्रेड ईलाई मानिन्छ ।

ए लेभलको पढाइ जति प्रयोगात्मक र व्यावहारिक छ, उत्ति नै यसको परीक्षा प्रणाली पनि पारदर्शी र सन्तुलित छ । परीक्षार्थीको कपी शिक्षकले जाँच गरिसकेपछि पुनः प्रिन्सिपलले जाँच गर्छन् । कपी जाँचमा त्रुटि हुने कुनै सम्भावना नै हुँदैन । यी पक्षले पनि ए लेभलप्रति विद्यार्थीको आकर्षण बढेको देख्न सकिन्छ ।

अध्ययनपछि के कस्ता अवसर विद्यार्थीले पाउँछन् ? विद्यार्थीको भविष्य सुरक्षित हुन्छ ?

ए लेभलको प्रमाणपत्रलाई संसारभरका विश्वविद्यालयले विश्वास गर्ने भएकाले अन्तर्राष्ट्रिय शिक्षा लिन चाहने विद्यार्थीका लागि यो एक उपयुक्त रोजाइ हुन सक्छ । प्रत्येक विषय अनि प्रत्येक सेसनमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई क्याम्ब्रिजले सम्मान गर्दै प्रमाणपत्र दिने गर्छ । यसमा राम्रो ग्रेड ल्याउने विद्यार्थीले विश्वका कतिपय विश्वविद्यालयबाट छात्रवृत्तिको अवसर समेत पाउन सक्छन् । त्यसो त ए लेभल अध्ययनपछि क्याम्ब्रिज, हार्वर्ड जस्ता विश्वविख्यात विश्वविद्यालयमा पढ्ने अनुकूलता पनि मिल्न सक्छ ।

ए लेभल अध्ययनपछि विद्यार्थी कुन क्षेत्रमा अध्ययन गर्ने हो, सोही अनुरुप बाटो समात्न सक्छन् । त्यसपछि विद्यार्थीले स्वदेश वा विदेशको आफूले चाहेको विश्वविद्यालयमा पढ्न पाउँछन् । विश्वका उत्कृष्ट विश्वविद्यालयले ए लेभेलका विद्यार्थीलाई प्राथमिकतामा राखेका हुन्छन् । ए लेभेलका विद्यार्थीले सीमित ठाउँलाई मात्र नभएर विश्वव्यापी रुपमा प्रतिस्पर्धात्मक रुपमा सक्षम बन्न सफल भएका थुप्रै उदाहरण छन् ।

ए लेभल पढ्न कति खर्च लाग्छ ? नेपालमा कहाँ कहाँ पढाइ हुन्छ ?

दक्ष अनुभवी शिक्षक, स्रोतसाधनको उच्च प्रयोग हुने र त्यही अनुसारको प्रविधि तथा उपकरण प्रयोग हुने, क्याम्ब्रिजको परीक्षा शुल्क पनि महंगो हुने भएकाले सबै खर्च जोड्दा यसको शुल्क केही महंगो हुन्छ । दुई वर्षमा ७ देखि ८ लाख रुपैयाँ जति खर्च लाग्छ । यद्यपि जेभियर इन्टरनेसनल स्कुलले भने विद्यार्थीको क्षमता, परिवारको आर्थिक अवस्था र विद्यार्थीको इच्छाशक्तिलाई मध्यनजर गरेर ५० देखि शतप्रतिशतसम्म छात्रवृति पनि प्रदान गर्ने गरेको छ ।

नेपालमा यसप्रतिको आकर्षण कस्तो छ, कस्ता विद्यार्थी ए लेभल पढ्न आउँछन् ?

ए लेभलको बारेमा अझै पनि धेरै अभिभावक र विद्यार्थीहरु जानकार छैनन् । धेरैजसो विद्यार्थीहरु आफ्नो परिवारमा पहिला नै ए लेभल पढेकाहरुको भाइबहिनी नै पढ्न आइरहेका छन् । यसको पहुँचको लागि हामी विभिन्न क्षेत्रमा गएर सेमिनार गरिरहेका छौं । यसबाहेक सामाजिक सञ्जालबाट पनि ए लेभल शिक्षाको बारेमा सचेतना फैलिरहेका कारण ए लेभलप्रतिको आकर्षण पहिला भन्दा अहिले केही हदसम्म बढेको देखिन्छ ।

नेपालमा ए लेभल पढाइका चुनौती पनि छन् कि ?

सबैभन्दा ठूलो चुनौती जनशक्ति तयार गर्न कठिन हुनु नै हो । जबसम्म जनशक्ति तयार गर्न सकिंदैन, तबसम्म कलेजहरुले पढाउन सक्दैनन् । जसकारण नेपालमा ४० कलेजले पढ्न र पढाउने सम्बन्धन लिए पनि सबैभन्दा बढी काठमाडौंमा मात्र यसको पढाइ राम्रोसञ्ग सञ्चालन भएको देखिन्छ । काठमाडौं बाहिर बुटवल र पोखरामा ए लेभलको कक्षा सञ्चालन हुँदै आएको छ ।

यसको लागि ब्रिटिश काउन्सिलले बेलाबखतमा शिक्षकहरुलाई तालिम समेत प्रदान गर्दै आएको छ । त्यस्तै सर्वसाधारणमा यसको पहुँच नहुनु अर्को चुनौती बनेको छ । आर्थिक अवस्था कमजोर भएकै कारण पढ्न चाहनेहरु पनि पढ्न पाइरहेका छैनन् ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?