+
+
टिप्पणी :

सामाजिक आक्रोशको लाभांश घण्टीलाई

आठ दशक लामो इतिहास र राजनीतिक वैधता भएका पुराना दलहरूका अगाडि पुगनपुग एक वर्ष मात्रै इतिहास भएको राष्ट्रिय स्वतन्त्र पार्टीको यो चमत्कार उल्लेखनीय छ । तर, राजनीतिमा वर्चस्व सधैं दिगो हुँदैन भन्ने उदाहरण त राजा ज्ञानेन्द्र र माओवादी नै पर्याप्त छन् । आफ्ना अगाडिका यी निकट विगतबाट सिक्ने कि नसिक्ने इच्छा रविको ।

शिव गाउँले शिव गाउँले
२०८० वैशाख १२ गते १७:४५
चुनावी सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ।

समाजमा एकतमासको आक्रोश छ अहिले । किन हो मान्छेहरू रिसाएका छन् । चिया पसलदेखि मोबाइलको भित्तोसम्म । अझ राजनीतिको संस्थापनसँग त झन् धेरै रिसाएका छन् मान्छे । यो मेसोमा भएको उपचुनावमा रवि लामिछाने र उनको दलले बाजी नै मार्‍यो । पुराना भनिने दलहरूमाथि व्यक्त एकप्रकारको आक्षेपको मनोविज्ञानबीच कसरी हो उपेन्द्र यादवले चाहिँ मंगलबार साँझसम्म फराकिलो अग्रता कायम राखेका छन् ।

यो उपचुनाव कसैलाई प्रतिष्ठाको बिषय थियो भने त्यो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेका लागि थियो । आफू जित्नु थियो अनि तनहुँ जिताउनु थियो । बारामा उपस्थिति जनाउनु थियो । उनले त्यो काम फत्ते गरे । केही महिना अघि उदाएको यो पार्टीले आगामी २०८४ सालको आम चुनावमा कस्तो गर्छ अहिल्यै भन्न सकिन्न । तर, यो उपचुनावको परिणामले आगामी निर्वाचनमा ऊ पनि सत्ताको नेतृत्व गर्ने हदसम्मको हैसियत राख्छ भन्ने मनोविज्ञान चाहिँ प्रवाह गर्न सफल भएको छ । एउटा उदीयमान राजनीतिक दलका लागि यो चानचुने उपलब्धि होइन ।

उपनिर्वाचनमा रविले भव्य रूपमा आफू मात्रै जितेनन्, स्वर्णिम वाग्लेलाई पनि उस्तै जित निकाल्न सघाए । आफूले पहिलेभन्दा धेरै मत ल्याए । परम्परागत रूपमा नेपाली कांग्रेसको बलियो क्षेत्र मानिने ठाउँबाट स्वर्णिमलाई जिताए । एउटा विज्ञ ‘प्रोफेसनल’ पार्टीमा भित्र्याएको उपलब्धि तत्कालै देखियो । त्योभन्दा पनि ठूलो कुरा उनले जिल्ला जिल्लामा मौका नपाएर खुम्चिएका कांग्रेस कार्यकर्ता पंक्तिलाई ‘धेरै दबिएर बस्नु पर्दैन’ भन्ने मनोवैज्ञानिक सन्देश पनि दिए । हुन पनि मुलुकमा कुनै यस्तो जिल्ला नहोला, जहाँ आफूलाई उपेक्षित ठान्ने कांग्रेसजन नभेटियोस् ।

सुन्दै चर्को लाग्ने कुरा राष्ट्रपतिको आँगनमा कांग्रेस हार्‍यो । तुलनात्मक रूपमा योग्य र इतिहास भएको उम्मेदवार हुँदाहुँदै पनि गोविन्द भट्टराईले गएको चुनावमा कांग्रेसले पाएको भोट पनि जोगाउन सकेनन् । रामचन्द्र पौडेललाई जिताएर मुलुकको एक नम्बर नागरिकको पुरस्कार पाउने यो जिल्लाले यसपटक रुख होइन घण्टी रोज्यो । यसको दीर्घकालीन प्रभाव हुनेछ । राजनीति अब कसैको बिर्ता र पुरस्कारका भरमा मात्रै चल्दैन । अब दाजु भाउजुको पुरस्कार र बिर्ता लामो समय कांग्रेस राजनीतिको अंग हुनसक्दैन । तर, अगावै उथलपुथल नभए त्यसका लागि कम्तिमा २०८४ सालसम्म पर्खिनु पर्छ ।

यो उपचुनावको परिणामले नेपाली राजनीतिमा दीर्घकालीन प्रभाव पनि छाड्ने छ । तीन–तीन पूर्वप्रधानमन्त्रीहरूले एउटै मञ्च प्रयोग गरेर जनतासँग बाचा गरेको, त्यसमाथि थपिएर वर्तमान प्रधानमन्त्रीले त जिताएर पठाए मन्त्री बनाउँछु भनेका उम्मेदवारलाई मतदाताले अस्वीकार गरेका छन् ।

बारा–२ को चुनावमा बाहेक यसपटक एमाले उम्मेदवारहरू आफ्नै बलमा चुनाव लडिरहेका थिए । दल एकप्रकारले रमिते जस्तै थियो । सामाजिक पुँजी कमजोर भएका केही व्यक्तिको सार्वजनिक खपतका लागि भएको उपस्थिति बाहेक एमालेका कुनै नेताले यो चुनावको बलियो स्वामित्व नै लिएका थिएनन् । परिणाम पनि त्यही स्तरमा देखिइसकेको छ । चितवन र तनहुँमा गएको चुनावमा भन्दा एमालेको भोट उल्लेख्य मात्रामा घटेको छ । अझ तीनै क्षेत्रमा ऊ कतै पनि जित्नु त परै जाओस्, निकटतम प्रतिस्पर्धीसम्म समेत भएन ।

यो उपचुनावमा कसैले केही गरे त रवि लामिछानेले गरे । आफू जिते, स्वर्णिम जिताए, रमेश खरेल मार्फत मधेशमा उपस्थिति जनाए । अझ महत्वपूर्ण पक्ष गठबन्धन र विपक्षी एमालेलाई एकैपटक हराए । चुनावको मुखमा बन्नै लागेको रविविरुद्ध कांग्रेस–एमाले गठबन्धन बिथोलिए पनि भावनात्मक रूपमा यो चुनाव रविविरुद्ध बाँकी दल जस्तै थियो । औपचारिक रूपमै गठबन्धन बनेको भए पनि अहिलेको परिणाममा तात्विक अन्तर हुने थिएन भन्ने परिणामले देखाएको छ ।

यो निर्वाचनको अर्को रोचक पक्ष माओवादी पार्टी र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुन् । कुनै समय मुलुक हल्लाउने र हाल सत्ता गठबन्धनका तर्फबाट सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा माओवादीका लागि यो चुनावको खासै अर्थ थिएन । संगठन, संरचना र जनपरिचालनका हिसाबले पनि उसलाई चुनावै लागेन । तीन तीन क्षेत्रको चुनावमा सत्ताको नेतृत्व गरिरहेको दलको यतिविध्न कमजोर संलग्नता उसको कुनै रणनीतिक चलाखी नभएर सान्दर्भिकता सकिँदै गएको दृष्टान्त थियो ।

उपेन्द्र यादव, राजेन्द्र महतो जस्ता नेताले कुनैबेला पटकपटक प्रयोग गर्ने ‘मधेशवाद’ मधेशकै राजनीतिमा अहिले धेरै धमिलो भएको छ । यसै कारण होला मधेशवादी दलहरूले पनि आफ्नो आकर्षण गुमाउँदै गएका छन् । कुनै बेला मधेश मुद्दाको नेतृत्व गर्ने उपेन्द्र यादव आज सत्ता गठबन्धनको आडमा सिके राउतको उम्मेदवार हराउन प्रयासरत छन् । नतिजा यादवका पक्षमा गयो भने पनि प्रायः नरम भाषामा बोल्ने राउत मधेश राजनीतिको केन्द्रमा पुग्दैछन् भन्ने यो चुनावले पनि पुष्टि गर्दैछ ।

चुनाव परिणाम र त्यसका वरिपरिका तत्कालिक पक्षहरू यी हुन् । तर, यो उपचुनावको परिणामले नेपाली राजनीतिमा दीर्घकालीन प्रभाव पनि छाड्ने छ । तीन–तीन पूर्वप्रधानमन्त्रीहरूले एउटै मञ्च प्रयोग गरेर जनतासँग बाचा गरेको, त्यसमाथि थपिएर वर्तमान प्रधानमन्त्रीले त जिताएर पठाए मन्त्री बनाउँछु भनेका उम्मेदवारलाई मतदाताले अस्वीकार गरेका छन् । यसको सोझो अर्थ के हो भने चितवन र तनहुँका जनताले घण्टीलाई जिताएका मात्रै होइनन्, शक्तिसहित ओलिएको वर्तमान सत्ता गठबन्धनलाई अस्वीकार गरेका पनि हुन् ।

त्यसैगरी सत्ता गठबन्धनसँग असन्तुष्ट मत विपक्षीले लैजाने सामान्य ससंदीय मान्यताविपरीत प्रमुख विपक्षी दलका उम्मेदवारलाई पनि मतदाताले उत्तिकै हदसम्म अस्वीकार गरेका छन् । यदि यसलाई एउटा घटना नमानेर प्रवृत्ति मान्ने र आउँदा केही वर्षसम्म यो कायमै हुने हो भने यसलाई आगामी निर्वाचनको सांकेतिक परिणाम पनि मान्न मिल्छ ।

समाजमा आक्रोश किन बढ्दो छ ? खेतको उत्पादन र बारीको सागले जीवन चलाइरहेका ठूलो संख्याका सर्वसाधारणलाई ‘नेपाल श्रीलंका बन्दैछ/छैन’ चिया पसलमा सुन्ने र फेसबुकको भित्तामा हेर्ने बिषय मात्रै हो । तर, चितुवाले खोरमै आएर बाख्रा खाएको, बाँदरले अन्न लगेर भकारी रित्तिएको, लघुवित्तको ऋण तिर्ने सूचना दैलोमाथि टाँसिएको, छोरा विदेश पठाउँदाको सापटीमा मिटर ब्याज चढेको पीडा देशका प्रमुख पार्टी र तिनका स्थानीय संरचनाको प्राथमिकतामा पर्दै परेनन् । उल्टो यिनै दलका कतिपय नेताहरू यो कुकर्ममा संलग्न छन् । ‘केही नभए श्रीमतीको तिलहरी धरौटी राखेर पनि यो काम फत्ते गर्छु’ भन्न सक्ने लोग्नेहरू अब गाउँमा भेटिंदैनन् । किनकि लघुवित्तले त्यो तिलहरी कहिले लग्यो कहिले । लघुवित्त र मिटरब्याजीका कारण आमाहरूका नाक, कान खाली हुँदै गएका छन् ।

नेपाली समाजमा लाखौंले भोग्ने यी व्यथाहरूको पृष्ठभूमिमा रवि लामिछानेले यो उपचुनाव जितेका हुन् । हो, संरचना परिवर्तन र प्रणाली स्थापना गर्ने काम नगरी कुनै जादुमयी नेतृत्वले यी समस्या समाधान गर्न सक्दैन । त्यसैले अहिलेका कपितय लोकप्रिय चुनावी वाचा आगामी दिनमा रवि र उनको दलका लागि समस्या हुनेवाला छ । आठ दशक लामो इतिहास र राजनीतिक वैधता भएका पुराना दलहरूका अगाडि पुगनपुग एक वर्ष मात्रै इतिहास भएको राष्ट्रिय स्वतन्त्र पार्टीको यो चमत्कार उल्लेखनीय छ । तर, राजनीतिमा वर्चस्व सधैं दिगो हुँदैन भन्ने उदाहरण त राजा ज्ञानेन्द्र र माओवादी नै पर्याप्त छन् । आफ्ना अगाडिका यी निकट विगतबाट सिक्ने कि नसिक्ने इच्छा रविको ।

यसपटक कांग्रेस, एमाले र माओवादीप्रतिको रोष मत मार्फत जनताले घण्टीमा खन्याएका हुन् । बहुदलीय व्यवस्था स्थापनाको तीन दशकमा देश भ्रष्टाचारमा उकालो लाग्ने तर अपवाद बाहेक प्रमुख राजनीतिक दलका कुनै पनि नेतामाथि छानबिनसम्म पनि नहुने अवस्था बन्यो । अझ घुस लिनु नेताको स्वाभाविक काम मानिने सामाजिक मान्यता स्थापित हुने परिस्थिति बन्दै गएपछि आजित पुराना मतदाताले चुनाव चिह्न फेरेका हुन् । तिनको निकटविगत देखेसुनेका नयाँ मतदाताको समर्थन रवितिर देखिएको हो । त्यस अर्थमा यो उपनिर्वाचनसम्म आइपुग्दा रविले पाएको समर्थन मूलतः समयको आक्रोशको लाभांश हो ।

लेखकको बारेमा
शिव गाउँले

शिव गाउँले अनलाइनखबर डटकमका प्रधान सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?