+
+

गभर्नरले मौद्रिक नीति खुकुलो पार्छु भन्नुभएको छ, पर्खिंंदै छु : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १५:४२

१४ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा आएको शिथिलता नै देशका लागि मूल समस्या भएको बताएका छन् । अर्थतन्त्रका समस्या समाधानका लागि राष्ट्र बैंकले मौद्रिक नीतिलाई खुकुलो पार्दै लैजानुपर्ने मन्त्री महतको भनाइ छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट एवम् राजस्व नीति तर्जुमाबारे कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो शिथिलता आउनुको कारणबारे निजी क्षेत्र जानकार रहेको बताए । अर्थतन्त्रको दुईवटा महत्वपूर्ण नीतिगत पाटोमध्ये एक मौद्रिक नीतिलाई एउटा परिवेशमा राष्ट्र बैंकले कसिकसाउ राखेको स्मरण गर्दै उनले वित्तीय नीतिले पनि केही समस्या ल्याएको बताए ।

‘मौद्रिक कति कसिकसाउ गर्नुपर्ने पर्थ्यो, कति गर्नु हुँदैन थियो त्यो अर्को विषय हो,’ मन्त्री डा. महतले भने, ‘मलाई लाग्छ, त्यसलाई अहिले खुकुलो गर्ने जरुरी छ । यो कुरा मैले राष्ट्र बैंकको नेतृत्व (गभर्नर)लाई भनेको छु । उहाँले यसलाई गम्भीरताका साथ लिएको र चाँडै एउटा निर्णयमा पुग्ने विश्वास दिलाउनु भएको छ, म पर्खेर बसेको छु ।’

महँगो ब्याजदरले पनि समस्या सिर्जना गरेको बताए । ब्याजदरले बजारमा पूँजी प्रवाह गर्न नदिएको र मौद्रिक नीतिमार्फत् बजारमा पूँजी प्रवाह गर्न जरुरी रहेको बताए । यसमार्फत् उद्योग व्यवसायलाई मद्दत गर्न सकिने मन्त्री डा. महतको भनाइ छ ।

‘वित्तीय नीतिको नेतृत्व मैले गरिरहेको छु, पूँजीगत खर्चको प्रतिशत न्यून ३० प्रतिशत मात्रै भएको छ । यसको प्रभावकारितालाई बढाउन जरुरी छ,’ उनले भने, ‘हाम्रो ठेक्का प्रकृयामा समस्या छ, साइट क्लियरेन्सका कुरा छ, समस्या समाधानका लागि निर्णय नहुँदा उत्पन्न हुने समस्या छ ।’

साइट क्यिलयरेन्स नभइ ठेक्का लागेको भन्दै भन्दै उनले कतिपय वैदेशिक सहयोगका कतिपय आयोजनामा समेत यस्तो समस्या देखिएको बताए ।

वर्षको अन्तिम त्रैमासिकमा मात्रै ठेक्का लगाउन जुरमुराउने परम्पराले नहुने भन्दै उनले सुरुबाटै काम थाल्न सबै मन्त्रालयलाई भनिएको बताए ।

‘बजेटको निक्कै नजिक म अर्थमन्त्री भएर आएँ, संविधानतः बजेट प्रस्तुत गर्न एक महिना मात्र बाँकी छ । समस्याका धेरै पाटा र चाङ छ । समस्या सबै समाधान गरेर धेरै कुरा पूरा गर्न सक्छु भनेर म दाबी गर्दिन,’ उनले भने, ‘समस्या समाधानमा मेरो इमान्दार कोसिस हुनेछ, समर्पित भएर म काम गर्दैछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?